Mansara

हरर जनराका नेपाली चलचित्र – कमजोर कथा, फितलो मेकिङ

२०७८ पौष १३
हरर जनराका नेपाली चलचित्र – कमजोर कथा, फितलो मेकिङ

नेपाली चलचित्रको साढे पाँच दशक लामो इतिहासमा हरर चलचित्रको सूचि त्यति लामो छैन । नेपालको पहिलो फुल डिजिटल चलचित्र कागबेनीलाई सुपर नेचुरल चलचित्रको कोटीमा राख्ने हो भने (धेरैले कागबेनीलाई पनि हरर चलचित्र भन्ने गर्छन ।) अहिले सम्म जम्मा ११ वटा हरर जनरामा चलचित्रहरु बनेका छन् । त्यसो त हरर जनरा भित्र पनि बिबिध आयामहरु नभएका होइनन् । ति आयामहरु बारे भने अर्को कुनै आलेखमा चर्चा गरौला ।

हरर जनरामा पनि केही मतभेद अवश्य भेटिन्छ । कसैले मिस्ट्री थ्रिल वा साइकोलोजिकज चलचित्रलाई पनि हरर भनेका छन् भने कसैले पूर्ण रुपमा हरर चलचित्रलाई मात्र हरर चलचित्रको सूचिमा राख्नुपर्ने तर्क गरेका छन् । यस अर्थ हामीले हरर भनेर चर्चामा आएका चलचित्रलाई मात्र समावेश गरेर चर्चा गर्दैछौं । यसमा केही साइकोलोजिकल डिसअर्डर चलचित्रहरु पनि समावेश छन् ।

फिचर चलचित्रको कुरा गर्दा सन् २०१० डिसेम्बर ३१ मा प्रदर्शन भएको चलचित्र एक दिन एक रातलाई नेपालको पहिलो हरर चलचित्र मान्ने गरिएको छ । यद्यपी यो नै प्रमाणित डेटा भने होइन । तर, त्यो अघिका चलचित्रहरु हरर जनरामा बनेको भने पाइएको छैन । एक दिन एक रात देखि प्रदर्शनको तयारीमा रहेको कठपुतली सम्म आइपुग्दा ११ चलचित्रहरु हरर जनरामा निर्माण भएको पाइन्छ । यद्यपी यि ११ चलचित्र मध्ये केही चलचित्र पूर्ण रुपमा हरर नभए पनि हरर जनरा टच गरेको मानिएको छ ।

यो आंकडालाई हेर्दा पछिल्लो ११ वर्ष मात्र भयो नेपालमा हरर चलचित्र निर्माण हुन थालेको । तर, एक दशक लामो इतिहासमा प्रसंसा गर्न लायक हरर जनराका चलचित्र भने बन्न सकेनन् । शुक्रबारबाट प्रदर्शन हुने कठपुतलीको बारे अन्त्यमा चर्चा गरौला बाँकी आगामी दिनमा रिलिज हुने चलचित्र कस्तो होला त्यो त्यसपछि नै चर्चा गरौला । अहिलेलाई भने प्रदर्शन भइसकेका चलचित्रको कुरा गरौं ।

हरर जनरामा बनेका चलचित्रहरुमा माला र घर बाहेक अरुले समिक्षात्मक रुपमा सन्तोषजनक रिभ्यु पाउन सकेनन् । मालाले भने केही अवार्डहरुमा उत्कृष्ट चलचित्रको अवार्ड पनि पाएको थियो । त्यो बाहेक सुनकेशरी, घर र रामकहानी (लभस्टोरी, कमेडी, हरर) व्यवसायिक रुपमा अन्य हरर चलचित्र भन्दा केही अब्बल साबित भए । तर, माला, झिग्राना (साइकोलोजिकल डिसअडर), आवरण, चपली हाइट २ (थ्रिल, साइकोलोजिकल डिसअडर), त्रास, रुद्राक्ष र एक दिन एक रात व्यवबसायिक रुपमा पनि असफल भएका हरर चलचित्र हुन ।

ससर्ती हेर्दा एकाध बाहेक हरर जनरामा निर्माण भएका चलचित्रहरु असफल छन् । त्यसो हुनुको कारण ठ्याक्कै यही भन्न नसकिए पनि मुख्य रुपमा दुई कारण औल्याउन सकिन्छ । एक त हरर जनरामा बनेका चलचित्र हेर्ने दर्शक न्यून हुनु अर्को हरर चलचित्रको कथा र मेकिङ्ग नै फिलतो हुनु । चलचित्र लेखकहरु प्रदिप भारद्धाज, सामिप्यराज तिमिल्सिना र शान बस्न्यात नेपाली हरर चलचित्रका लागि उत्कृष्ट कथाको छनौट नहनु र फितलो मेकिङ नै प्रमुख कारण मान्छन् ।

लेखक भारद्धाज दर्शकहरुले हरर चलचित्रलाई पनि अप्रिसियट गरेको तर, मेकरहरु नै उत्कृष्ट चलचित्र बनाउन चुकेको तर्क गर्छन । सुनकेशरीको उदाहरण दिदै उनले यो चलचित्रको ट्रेलर अनि लुक्सलाई मन पराएर दर्शक हलसम्म पुगेको बताए । ओपनिङ ब्यापारमा यो चलचित्र राजधानीका केही हलमा ओभर फ्लो भएको तर, माउथ पब्लिसिटी निकै कमजोर रहदा डाउनफल शुरु भएको उनको बुझाई छ । उनले सुनकेशरी हेरेर तर्सन हलमा गएको मान्छे हासेर फर्केको दृष्टान्त सुनाउँदै मेकरको कमजोरीका कारण हरर चलचित्र राम्रो बन्न नसकेको बताए । भर्खर भर्खर हरर चलचित्रको प्राक्टीस भइरहेको भन्दै उनले प्राबिधिक रुपमा पनि कमजोरी रहेको जनाए । हरर चलचित्रमा क्यामरा वर्क र साउण्डको अत्यन्त महत्वपूर्ण भुमिका हुने भन्दै भारजद्धाजले प्राबिधिक पाटोमा पनि काम गर्न अझै बाँकी रहेको बताए ।

नायिका ऋचा शार्माले हरर जनराको सुनकेशरी बनाएकी थिइन । उनलाई सार्वजनिक मञ्चहरुमा धेरैले कमेडी चलचित्र बनाएको भनेरै व्यङ्गय गरे । लेखक बस्न्यात पनि कतिपय अवस्थामा हरर नेपाली चलचित्र हेर्दा दर्शकहरु हासेको स्मरण गर्छन । शान हरर जनराकै चलचित्रको कुरा गर्दा माला आफुलाई असाध्यै मन परेको बताउँछन् । मालाले उठाएको शैलीकै कथा उठाउने हो भने हरर चलचित्र नेपालमा सफल हुन सक्ने तर्क गर्छन । कथा मात्रले हरर चलचित्र राम्रो नबन्ने भन्दै उनी यस्तो जनरामा टेक्निकल्ल पार्ट पनि उत्तिकै अब्बल हुनुपर्ने बताउँछन् । शान नेपालको परिपेक्षमा हरर चलचित्रमा ड्याङ्ग ड्याङ्ग तर्साउछु भन्नु भन्दा पनि फिल गराउन सक्यो त्यो सफल हुन सक्ने जनाउँछन् । देखिएको भन्दा नदेखिएको कुराले बढी तर्साउछ भन्दै उनले आफुलाई माला हेर्दा त्यही लागेको बताए । जसका कारण धेरैलाई माला हेरेपछि पनि त्यसको छाप गहिरो सँग बसेको थियो । ड्याङ्ग ड्याङ्ग तर्साउने खालका चलचित्रको लागि अझै पनि टेक्निकल्ली रुपमा आफुहरु कमजोर रहेको उनको भनाई छ । उनी कथाकै कुरा गर्दा आफुहरुले सुनेका, फिल गरेका धेरै यस्ता कथाहरु भएपनि त्यसलाई चलचित्रमा भन्न नसकिएको जिकिर गर्छन ।

चलचित्र समिक्षक तथा लेखक तिमिल्सिना पनि हामीकहाँ हरर जनरामा उपयुक्त लाग्ने थुप्रै लोक कथाहरु समेत रहेको बताउँछन् । उनी पनि कथामा मेहनत अझै नपुगेको जनाउँछन् । कथा मात्र होइन हरर चलचित्रको मकिङ नै कमजोर रहेको उनको भनाई छ । कागबेनी लगायतका १९ चलचित्र लेखेका सामिप्य हरर चलचित्रमा क्यामरा एंगल र साउण्डको ठुलो महत्व रहने जिकिर गर्छन । उनी नेपालमा साउण्डलाई कसरी प्रयोग गर्ने कुरामा निर्देशकहरु निपूर्ण नभएको बताउँछन् । कन्टेनको भरमा मात्र हरर चलचित्र अब्बल नहुने उनको भनाई छ । त्यसो त उनी हरर जनराको चलचित्र मन पराउने दर्शकहरु पनि कम देख्छन् । हरर चलचित्र असफल हुनुमा सामिप्यले अघि सारेको दोस्रो कारण समग्रमा नेपाली चलचित्रकै दर्शक कम भएको र त्यसमा पनि हरर जनराका चलचित्र हेर्न दर्शक अझ कम हुनु हो । अझ राम्रा बनेका चलचित्रलाई पनि दर्शकहरुले नपत्याएको उनको भनाई छ । दर्शकले सिधै हलिउड र बलिउड चलचित्रसँग तुलना गर्ने भएकोले पनि नेपाली हरर चलचित्रहरु सफल हुन नसकेका हुन् ।

तिन जना लेखकको कुरा सुन्दा हरर चलचित्रमा क्यामरा वर्क र साउण्डको भुमिका अब्बल रहन्छ भन्ने कुरामा दुई मत रहेन । यसैले हामीले छायाँकार र साउण्ड डिजानरका कुर पनि बुझ्ने कोशिस गरेका छौं । आ–आफ्नो बिधामा राष्ट्रिय अवार्ड समेत जितिसकेका छायाँकार पुरुषोत्तम प्रधान र साउण्ड डिजाइनर उत्तम न्यौपाने दुबै क्यामरा वर्क र साउण्ड वर्क अब्बल हुनुपर्नेमा सहमत छन् ।

छायाँकार पुरुषोत्तम प्रधान नेपालमा हरर चलचित्र बनाएको जस्तो मात्र गरेको तर, वास्तवमै हरर चलचित्र बनाउन नसकेको बताउँछन् । उनी हरर चलचित्रमा मेकअप देखि सेट र लाइटिङसम्म त्यही अनुरुप आवश्यक पर्ने भन्दै त्यस्तो सुबिधा नेपाली चलचित्रमा नदेखिएको बताउँछन् । हरर चलचित्र बनाउन खर्च पनि बढी लाग्ने भन्दै उनले अहिले फ्ल्याटमा क्यामरा हल्लाउने अनि साउण्ड ठुलो पारेर तर्साउन खोज्ने मात्र काम भएको बताए । तर, क्यामराको फ्रेम हेर्दा नै हरर लाग्ने गरि त्यही अनुरुप सेट, मेकअप र लाइटमा आफुहरु खेल्न नपाएको उनको भनाई छ । उनी हरर चलचित्रको क्यानभाष नै भिन्न तरिकाले क्रियट गर्नुपर्नेमा जवरजस्ती क्यामरा मात्र हल्लाउने गरिएको बताउँछन् । नेपालमा वास्तवमै हरर चलचित्र नबनाएर हरर जस्तो मात्र बनाएको उनको भनाई छ । उनको कुरा सुन्दा यस्तो लाग्छ हररको नाममा चलचित्रकर्मीहरु दर्शक झुक्काउन उद्धत छन् ।

यता साउण्ड डिजाइनर उत्तम न्यौपाने (कास) हरेक चलचित्रमा साउण्डको भुमिका उत्तिकै रहने बताउँछन् । त्यसमा हरर चलचित्रमा अझ बढी हुने नै भयो । उनी चलचित्रमा आफुले न्यारेटिभ अनुसार साउण्ड खेल्ने जनाउँछन् । यसअर्थ साउण्ड भन्दा पहिले कथालाई कसरी न्यारेट गरेको छ भन्ने कुराले भुमिका खेल्ने भयो । हरर जनराका नेपाली चलचित्रको साउण्ड बारे कुरा गर्दा उनले आफुले अहिले सम्म पूर्ण रुपमा हरर जनरामा बनेका चलचित्रमा काम नगरेको र हरर भनिएका सबै चलचित्र नहेरेका कारण ठ्याक्कै यही हो भनेर भन्न नसक्ने जनाए । यद्यपी प्रदर्शनको तयारीमा रहेको कठपुतलीमा काम गरेका उत्तम यो चलचित्रमा आफुले गरेको कामबाट भने सन्तुष्ट नै छन् । अझ राम्रो काम गर्न सकिन्थ्यो भन्ने त भइरहन्छ । तर, त्यसमा धेरै कुराले प्रभाव पार्छनै । नेपाली चलचित्रको साउण्ड बिदेशी चलचित्रको जस्तो भएन भनेर त पटक पटक सुन्ने गरेकै हो । अन्तराष्ट्रिय अडियो सोसाइटिका सदस्य समेत रहेका न्यौपाने प्रयाप्त समय र अब्बल टिम पाएमा आफुले बिदेशी चलचित्रकै लेभवलमा काम गर्नसक्ने जनाउँछन् । उत्तमकै कुराबाट पनि के बुझ्न सकिन्छ भने अहिले सम्म बिदेशी चलचित्रकै लेभलमा नेपाली चलचित्रको साउण्ड डिजाइन भएको छैन । यसमा दोषी स्वयम् चलचित्रकर्मी नै देखिए ।

यि ५ चलचित्रकर्मीका कुरा सुनिसक्दा अनि अपबादलाई छोडेर हेर्दा अब स्पष्ट हुन्छ कि हरर जनरामा अब्बल चलचित्र बनेकै छैन् । चलचित्रको कथा र मेकिङ निकै फितलो छ । क्यामरा र साउण्डको महत्वपूर्ण भूमिका रहने भएपनि त्यसैमा ठोकठाक शैलीमा काम भइरहेको छ । हरर जनराका चलचित्रबाट स्वयम् चलचित्रकर्मीहरु नै सन्तुष्ट छैनन् । दर्शकको त के कुरा गर्नु । यसअर्थ दर्शकले पनि सोच्नु पर्छ कतै आफ्नो समय र पैसाको त बबार्दी भइरहेको छैन । यो कुरा कठपुतलीमा लागु होला नहोला त्यो हेर्न बाँकी छ ।

जे होस् अपवादलाई छोडेर हेर्दा हरर वा हरर भनिएका चलचित्रको सुखद इतिहास भने छैन । यसैबिच शुक्रबारबाट अर्को हरर जनराको चलचित्र कठपुतली प्रदर्शन हुँदैछ । लेखक भारद्धाज यसको ट्रेलरका आधारमा यो चलचित्रको क्यामरा वर्क र सम्पादनबाट आफुले आशा गरेको बताउँछन् । साउण्ड डिजाइनर न्यौपाने आफुले गरेको काम बाट सन्तुष्ट रहेको बताउँछन् । यसअघि बिभिन्न छोटा चलचित्रबाट प्रसंसा पाएका भिमसेन लामाको निर्देशन रहेका कारण उनको विगतको कामका आधारमा कठपुतली बाट आशा धेरै गर्न सकिन्छ । तर, भारद्धाजकै भनाईलाई मान्ने हो भने सुनकेशरीको ट्रेलर र लुक्सले पनि आशा जगाएको थियो । तर, चलचित्र राम्रो थिएन । कठपुतलीको हकमा त्यस्तो नहोस् । ट्रेलरले जगाएको आशा निराशामा नबद्लियोस् । हरर चलचित्रको विगत जस्तो भएपनि यो चलचित्रले दर्शकलाई निराश नबनाओस् ।

Mahajatra