चलचित्र ‘नाकछोङ’को ट्रेलर सार्वजनिक

२०८२ पौष २
चलचित्र ‘नाकछोङ’को ट्रेलर सार्वजनिक

पिताको निधनपछि उनको इच्छा अनुसार ‘आत्मा’ बाटो  लगाउन राई समुदायमा गरिने परम्परागत कुलको बिजुवा अर्थात् नाक्छोङको कथामा निर्माण भएको चलचित्र ‘नाकछोङ’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा बिजुवाका लागि एक छोराले परिवार, समाज र समयसँग गर्नुपर्ने गहिरो आन्तरिक तथा सामाजिक संघष समेटिएको छ । 

किरण राईको लेखन तथा निर्देशन रहेको चलचित्रका निर्माता ज्योतीराज राई रहेका छन् । निर्माता राईले चलचित्रले राई समुदायको परापूर्वकालदेखि पुस्तौँपुस्ता चलिआएको गहिरो सांस्कृतिक चेतना, आत्मिक अनुशासन र कुल परम्परालाई सिनेम्याट्रिक भाषामा पुनर्जीवित गर्ने बताए । ‘नाकछोङ कुनै काल्पनिक पात्र नभई पुस्तौँदेखिका विश्वास, विधि, संस्कार र सामूहिक चेतनाको सजीव प्रतिनिधि हो, जसलाई चलचित्रले गहिरो संवेदनशीलतासाथ प्रस्तुत गरेको छ’, राईले भने ‘यसलाई आफ्नै समुदायले समेत बिर्सन थालेका कारण इतिहास ओझेलमा पर्ने खतरा छ ।’

चलचित्रमा भुवन सिंह राई, यासेली योङहाङ, सागर केरुङ, शुष्मा सुब्बा गुरुङ, पूर्ण लिम्बू, सारा राई, ताया हाङ राई, दिनेश कोइराला, उदय सुब्बा कुरुङ्वाङ, अनुशा राई, सरोज राई, जेशन राई, तुलशा लिम्बुलगायत कलाकारको अभिनय छ । चलचित्रमा छायाङ्कन बाबु श्रेष्ठ, दिनेश काजी वान्तवा र अनिल कोई राईको संगीत छ । 

सार्वजनिक प्रदर्शन मिति हालसम्म तय नभएको चलचित्र युकेका विभिन्न शहरहरूमा प्रिमियर भइसकेको छ ।