पोष्टर सार्वजनिक गर्दै ‘बिगुल’ को प्रदर्शन मिति तय

२०८२ मंसिर १४
पोष्टर सार्वजनिक गर्दै ‘बिगुल’ को प्रदर्शन मिति तय

चलचित्र ‘बिगुल’को फस्र्टलुक पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ । रमेश कोइरालाको निर्देशन रहेको चलचित्र माघ ९ गतेबाट देशब्यापी प्रदर्शनमा आउने छ ।

सार्वजनिक तीन डिजाइनका पोस्टर मध्ये एउटामा अभिनेत्री बेनिशा हमाल गम्भीर भावमा छिन् । सोही पोस्टरमा राँको लिएका एक हुल प्रदर्शनकारी देखिन्छन । दोश्रो पोस्टरमा बेनीशा, अभिनेता नरेन खड्का र रमेश बुढाथोकी आक्रोशीत मुद्रामा छन भने अर्को पोस्टरमा ‘बिगुल’का सबै प्रमुख कलाकार समेटिएको छ ।

पोष्टर सार्वजनिक सँगै कथाकार तथा निर्माता दिनेश कोइरालाले भने – ‘‘चलचित्रमा हामीले उठाएको मुल मुद्धा र पछि जेन्जी पुस्ताले उठाएका माग, देश बिकास र परिवर्तनप्रति आम नेपालीको चाहनाको बिषय ठ्याक्कै मिल्न गएको छ । त्यसकारण यो चलचित्र हामीले जेन्जी आन्दोलनप्रति समर्पित गरेका छौं ।’ 

निर्देशक कोइरालाले पारिवारिक सामाजीक न्याय र राजनीतिक सचेतनाबाट जन्मिएको नयाँ मार्ग, जहाँ भुइँमान्छेहरुको सपना, संघर्ष र बलिदानीको इतिहास ‘बिगुल’ मार्फत पर्दामा लेखिएको बताउँछन् । चलचित्रले स्वस्थ मनोरञ्जनका साथमा सामाज परिवर्तनका लागि आवाज बुलन्द गरेको दावी उनको छ । समाजमा महिलाले गर्नुपरेको संघर्ष र बलिदानीको पारिवारिक कथा पनि समेटिएको उनी बताउँछन् ।

म्याग्नोलिया ग्रुपको ब्यानरमा निर्माण भएको चलचित्रमा बेनिशाका साथमा नरेन खड्का, रमेश बुढाथोकी,नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी, शिसिर वाङ्देल, बिनोद न्यौपाने, जेएन घिमीरे, गीता अधिकारी, मीरा पण्डित, मानश्री शर्मालगायतका कलाकारले अभिनय गरेका छन् ।

कल्पना पौडेलको प्रस्तुति रहेको चलचित्रमा प्रदिप भारद्वाज र मौनता श्रेष्ठको पटकथा, सम्वाद, शिब ढकालको छायाङकन, कमल राई र कविराज गहतराजको नृत्य निर्देशन, एनवी महर्जनको द्वन्द्व निर्देशन, बिश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत रतारा थापा किम्भेको सम्पादन रहेको छ । चलचित्रको सहनिर्मातामा सूर्य कान्त कोइराला र महेश कोइराला छन् ।