‘झरीपछिको इन्द्रेणी’को टिकट बुकिङ खुल्ला

२०८२ पौष ३
‘झरीपछिको इन्द्रेणी’को टिकट बुकिङ खुल्ला

यही शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र ‘झरीपछिको इन्द्रेणी’ सेन्सर पास भएको छ । चलचित्र जाँच समिति (सेन्सर बोर्ड)बाट यो चलचित्रले युनिभर्सल सर्टिफिकेट पाएको हो । युनिभर्सल सर्टिफिकेट पाएसँगै अब यो चलचित्र हरेक उमेर समुहका दर्शकले सजिलै हेर्न पाउने भएका छन् ।

सेन्सर पास भएसँगै यो चलचित्रको अग्रीम टिकट बुकिङ पनि खुल्ला गरिएको छ । यो समाचार तयार पार्दासम्म देशको ठुलो मल्टीप्लेक्स चेन क्युएफएक्स, बिग मुभिज, एफक्युब चलचित्रज लगायतक हलले अग्रीम टिकट बुकिङ खुल्ला गरेका हुन् । सुरुवाती चरणमा यो चलचित्रलाई क्युएफएक्स चलचित्रजले काठमाडौं उपत्यकामा ११ शो र मोफसलमा ११ शोसहित २२ शो दिएको छ । यता, देशको दोस्रो ठुलो मल्टीप्लेक्स चेन आईएनआईले ६ शो, बिग मुभिजले २ शो, एफक्युब चलचित्रले २ शोसहित देशभर करिब ५९ शोमा अग्रीम टिकट बुकिङ खुल्ला गरेका छन् । अन्य हलमा भने बुकिङ खुल्ने चरणमा भएकाले बिहीबार साँझसम्म फाइनल शो आउनेछ ।

अर्जुन घिमिरे ९पाँडे०को निर्देशन रहेको चलचित्रबाट अभिनेता गणेश उप्रेती लामो समयपछि कमव्याक गर्दैछन् । यो चलचित्र छायांकनका लागि उप्रेती अमेरिकाबाट नेपालम फर्किएका थिए । चलचित्रमा गणेशसहित रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे (पाँडे), प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राईको अभिनय छ ।

यो चलचित्रबाट कलाकार विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यू गर्दैछन् । बाल कलाकारमा दिप्सन चिलवालले पनि अभिनय गरेको निर्माण कम्पनीले जनाएको छ । चलचित्रको एक गीतमा मोडल अञ्जली अधिकारी र कोरियोग्राफर प्रदीप लामा पनि विशेष भूमिकामा देखिनेछन् ।

निर्देशक घिमिरे स्वयंको कथा रहेको चलचित्रको पटकथा र संवादमा गणेश कार्की, विशाल घिमिरेले मिलेर लेखेका हुन् । चलचित्रका छायांकार बुद्ध थापा हुन् । नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको चलचित्रमा अनिशा सेन्दाङ लिम्बु निर्मात्री, अनु थापा, पंकज खड्का, सिर्जना खड्का, सुवास शर्मा र राम कार्कीको सह-निर्माता तथा लाइन प्रोड्युसरमा योगेश खतिवडा र विनोद कँडेल रहेको छन् ।