चलचित्र ‘पीआर’ले प्रिमियर, चलचित्रकर्मीले दिए सकरामत्मक प्रतिक्रिया

२०८२ मंसिर २५
चलचित्र ‘पीआर’ले प्रिमियर, चलचित्रकर्मीले दिए सकरामत्मक प्रतिक्रिया

शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र ‘पीआर’को प्रिमियर गरिएको छ । बुधबार बेलुका राजधानकिो सामाखुसीस्थित सिटी स्क्वायर हलमा चलचित्रको प्रिमियर गरिएको हो ।

प्रिमियरमा पत्रकारदेखि बिभिन्न कलाकार तथा चलचित्रकर्मीहरु उपस्थित थिए । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, कलाकार तथा निर्देशक दीपाश्री निरौला, दीपक आचार्य काकु, निर्मल शर्मा, रेखा थापा सहित कलाकारहरु गौरी मल्ल, रेजिना उप्रेती, जयकिशन बस्नेत, सविन श्रेष्ठ, सलिनमान बनियाँ, प्रभात पाल, गायिका देविका बन्दना लगायत सेलिब्रटीको उपस्थिति रहेको थियो ।

नेपाली विद्यार्थीले अस्ट्रेलियाको स्थायी आवासीय पत्र प्राप्त गर्नको लागि गर्ने संघर्षको कथामा चलचित्र आधारित छ । अस्ट्रेलिया र नेपालमा छायांकन गरिएको चलचित्रले वैदेशिक अध्ययनको सामाजिक पाटोलाई केलाउने बताइएको छ । २ घण्टा  ८ मिनेट लामो चलचित्र हेरेपछि उपस्थित चलचित्रकर्मीहरुले यसले उठान गरेको विषयवस्तु तथा नवकलाकारहरुको तारिफ गरेका छन् । 

चलचित्र विकास बोर्डका अध्यक्ष डिसीले निर्देशक शोभित बस्नेतको काम र कलाकारको अभिनयले चलचित्र राम्रो बनेको प्रतिक्रिया दिए ।  यस्तै अभिनेत्री रेखा थापाले चलचित्र राम्रो बनेको र नव कलाकारहरुको काम मन परेको प्रतिक्रिया दिइन् । 

यस्तै अभिनेता सलिनमान बनियाँले चलचित्रका मुख्य कलाकारहरुले एकदमै राम्रो अभिनय गरेको प्रतिक्रिया दिए । उनले नयाँ कलाकार भएता पनि पुरानो जस्तै लागेको बताए । ‘डेब्यु मुभिका लागि उहाँहरूले एकदमै राम्रो गर्नुभएको छ’, मिडियासँगको कुराकानीमा उनले भने, ‘एकदमै राम्रो लाग्यो । मैले डेब्यु गर्दाको चलचित्र भन्दा उहाँहरूको अझ राम्रो लाग्यो ।’

यता नायिका रेजिना उप्रेतीले आफूलाई केही दृश्यहरुले भावुक बनेको प्रतिक्रिया दिइन् । नेपालीहरू विदेशमा पुगेपछि कस्तो अवस्थामा पुगिँदो रहेछ भन्ने कुराले आफूलाई छोएको उनले बताइन ।  

चलचित्रकर्मीबाट सकारात्मक प्रतिक्रिया पाएपछि निर्देशक शोभित बस्नेतले आफ्नो चलचित्रका कलाकारहरूको तारिफ हुँदा आफू निकै खुशी भएको बताए ।

सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा आरए सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा र नवीन घायल प्रमुख भूमिकामा छन् । विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का,उत्तम केसी र दिक्पाल कार्कीलाई पनि देख्न सकिन्छ। 

यस चलचित्रको प्रस्तुति रञ्जित साह र सन्तोष तिवारीको छ भने लक्ष्मण सापकोटा र प्रदीप दाहालले लगानी गरेका छन् ।  बन्दे प्रसादको सम्पादन रहेको छ भने गणेश बुढाथोकीको लेखन रहेको छ । सौरभ सायमी र सौरभ लामाले चलचित्रको छायांकन गरेका छन् ।