Kumari Bank

प्राप्ती सन्तुष्टी हैन, तर सन्तुष्टि सवै भन्दा ठुलो प्राप्ती हो 

नीर शाह, बरिष्ठ अभिनेता २०७७ श्रावन २१
प्राप्ती सन्तुष्टी हैन, तर सन्तुष्टि सवै भन्दा ठुलो प्राप्ती हो 

नेपालको चलचित्रकर्ममा मैले दुईवटा काम मनै देखि गरेको छु ।

चलचित्रमा अभिनय

चलचित्रको निर्देशन

चलचित्रमा अभिनय गर्नु सहज काम हैन । झन निर्देशन त त्यो भन्दा गरुङ्गो र चुनौतीपूर्ण । अभिनय गर्दा अभिनेता वा अभिनेत्रीले आफ्नै भुमिकामा मात्र सिमित रहेर काम गर्छन, निर्देशन गर्दा निर्देशकले चलचित्रमा सवै सानो ठुलो भुमिकामा अभिनय गर्छ र ती भुमिकाहरुको अन्तर सम्वन्धको समन्वयन – यो एउटा क्रिल्ष्ट काम हो । तर नेपाली चलचित्रकर्ममा धेरैजनाले यी कामहरुलाई सजिलो ठानेर गरे अथवा सजिलो ठाने । गल्ती त्यही भएको हो भन्ने मलाई लाग्छ । सवैभन्दा गाह्रो काम सवै भन्दा सजिलो सीत गर्न खोज्नु ।

मेरो सन्दर्भमा मैले धेरै अभिनय गरेको छु । तर थोरै सिकेको छु । थोरै निर्देशन गरेको छु तर अलि धेरै सिक्ने अवसर पाएको छु । यो मेरो आत्म विश्लेषण हो ।

अब म बाँकी लेखनलाई अभिनयमा केन्द्रित राखेर टुङ्गाउन चाहन्छु । किनकी त्यसो नगर्नु म आफ्नो मुख्य पहिचान माथी अन्यााय गरे सरह अनुभुत गर्न बाध्य हुनेछु । मेरो चलचित्र अभिनयको यात्रा २०२६ सालमा शुरु भएको हो । त्यो भन्दा अगाडी म नाटकमा अभिनय गर्थे । यो यात्रा अहिले सम्म पनि निरन्तर चलिरहेछ । २०२६ सालमा म जुन दिन परिवर्तन चलचित्रको सुटिङ्गका लागि निस्के त्यही दिन मैले एउटा कुरा मन मनै निर्णय गरेको थिए । त्यो हो म चलचित्रको अभिनयलाई भिन्न दृष्टिकोणबाट अध्ययन गर्ने कोसिस गर्नेछु । त्यो अध्ययन आजको दिन सम्म पनि जारी छ र त्यो कोशिस पनि आजको दिन सम्म जारी छ ।

मैले सवैभन्दा पहिला जान्न खाजेको कुरा भनेको मैले अभिनय गर्न लागेको पात्रलाई म भित्र मिसाउने की त्यो पात्र भित्र मलाई मिसाउने । के भिन्नता हुन्छ त ? यी दुई पृथक प्रस्तुतिकरण विच मैले सोचेको कुरा मैले सोचेभन्दा धेरै गाह्रो विषय रहेछ । पात्र र वैयत्तिक यथार्थको मिश्रणबाट जन्मने चरित्रमा कुन पाटो बढी हावि भएको छ ? त्यो अध्ययनले मात्रै मेरो उत्सुकता मेटाउन सक्दो रहेछ तर त्यो मात्रात्मक सन्तुलन वा असन्तुलनको अध्ययन, पहिलो अध्ययन बराबरकै गहिरो विषय भित्र पर्दो रहेछ । यति मात्र बुझ्न पनि मलाई एक दशक भन्दा बढी लाग्यो । यो मनौवैज्ञानिक पनि र अमुर्त मनोवेगको भित्री धारबाट सृजना हुने यथार्थ रहेछ, कल्पनाको धरातलमा उभिएको । मैले मलाई मैले निर्वाह गर्ने चरित्रबाट कहिल्यै पनि अलग वा टाढा राख्नै सकिन । आफैलाई अलग वा वेग्लै दृष्टिकोणबाट सञ्चालन गर्न सजिलो होला, पात्रको यर्थाथबाट आफुलाई अलग राख्न कमसेकम एकै जुनि भित्र गर्न सकिने कर्म हैन रहेछ ।

पात्रको सोचाईको क्रममा अनफुलाई विस्तारै ढाल्दै लग्न सकिदो रहेछ । त्यस्तै बोल्ने, त्यसरी नै हिड्ने, त्यसरी नै हेर्ने, त्यसरी नै अङ्ग, अङ्गलाई परिचान गर्ने त्यसो गर्न सकिदो रहेछ । तर त्यो पात्र भित्र बास गर्ने मन र मुटु चाहिँ त्यो पात्रको अभिनय गर्ने अभिनेता, अभिनेत्री कै हँदोरहेछ । यति अभिन्न हुादो रहेछ की छुट्टाउनै नसकिने । तर विश्व भरीका परिस्कृत सुचिमा परिसकेका कलाकारहरु पनि जीवनभर त्यसलाई पात्र र आफुलाई छुट्टाउने प्रयत्नमा लागेका हुँदो रहेछन् र यसमा थोर बहुँत सफल पनि हँदा रहेछन् । जति यो मामलामा सफल हुँदो रहेछ त्यति मात्रामा उनीहरुको अभिनय पनि सवल र प्रभावकारी हुँदै जादो रहेछ ।

मैले मेरो अभिनय यात्रालाई यही अध्ययनको पहिलो पाठशालाको रुपमा ग्रहण गरेको छु । यहि पाठशालाको रसायन कक्षमा म प्राक्टीकल गर्दै रहेछु । प्राप्ती सन्तुष्टी हैन, तर सन्तुष्टि सवै भन्दा ठुलो प्राप्ती हो । यो क्षेत्रमा नलागेर अर्को क्षेत्रमा लाग्नु पर्ने रहेछ भनेर सोच्ने मान्छेहरु मैले हरेक क्षेत्रमा भेटेको छु । मैले पनि यदा कदा त्यसरी नै सोचेको छु । तर आज आएर म यो कुरामा विश्वस्त छु की मैले जे रोजे सही राजे । अरु बिधामा के थाहा के हुन्थ्यो ? यो अनुमानको विषय भयो अब म यो क्षेत्रमा जे छु आजको यथार्थ हो । जुन यर्थाथबाट मैले प्रयाप्त सन्तुष्टी प्राप्त गरेको छु । यसर्थ म मेरो पेशाको पुजा गर्छु, श्रद्धा गर्छु र गर्व पनि । आम जनताबाट प्राप्त माया, स्नेह र सदभाव नेपालमा विरलै मात्र प्राप्त हुन सक्ने कुराहरु हुन् । जुन हामीले, मैले लगायत सवै कलाकार साथिहरुले प्राप्त गरेका छौं । यो प्राप्तीले हामीलाई सन्तुष्टि दिएको छ । मैले अगाडी नै भनि सके सन्तुष्टि सवैभन्दा दुर्लभ प्राप्ती हो । मैले मेरो अभिनय यात्राको दौरान प्राप्त गरेको सवैभन्दा ठुलो एैश्वर्यका रुपमा आमजनताको माया, स्नेह र सद्भावलाई लिएको छु । यो पेशाले मलाई एउटा पहिचान दिएको छ र त्यो पहिचानले सन्तुष्टी.............. त्यसैले म यसै यात्रामा लागि रहने छु, अघि भने झै अध्ययनको क्रमलाई निरन्तरता दिदै ।

(लेखक कुशल अभिनेताका साथै चलचित्र निर्देशक र गीतकार पनि हुनुहुन्छ)

साभार : एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार २०६९ को स्मारिका, सम्पादक : बिष्णु सुबेदी