Mansara

नपत्याउनेले पनि पत्याउन थाले, अनि थपियो दिपकराज गिरीलाई चुनौति

२०७५ असोज २३
नपत्याउनेले पनि पत्याउन थाले, अनि थपियो दिपकराज गिरीलाई चुनौति

झण्डै ५ वर्ष अघि दिपकराज गिरीको छट्पटि निक्कै थियो । मनमा डर थियो, नर्भस पनि उत्तिकै थिए, चुनौति थियो अनि कौतुहलता पनि । नहोस् पनि किन यसअघि लिड रोलमा खेलेका एकाध चलचित्र थिए । ति पनि व्यवसायिक रुपमा असफल भएका थिए । त्यति मात्र होइन कमेडी जनराका चलचित्रहरु पनि उत्साहजनक व्यापार गर्न असफल थिए । बरु लभस्टोरी चलचित्र नै फाट्ट फुट्ट चलिरहेका थिए ।

तर, दिपकराज गिरी असफल थिएनन् । सानो पर्दा अनि स्टेजमा जमेका थिए । देश विदेशमा हुने कार्यक्रममा भ्याइ नभ्याई नै थियो । त्यही समयमा चलचित्र छ एकान छ बनाए ।

स्टार भनिएका कलाकारका चलचित्र नै नचलेको अवस्थामा दिपकले आफ्नो चलचित्र के होला, कस्तो होला भनेर डर मान्नु स्वभाविक नै थियो । त्यसमाथी त्यो समय उनी केही नर्भस थिए, केही उत्साहित थिए, अनि धेरै आशाबादी थिए ।

२०७० साल पुष २६ गते छ एकान छ प्रदर्शनमा आएको थियो । सोहि दिन वितेका पल, पराई र योद्धा गरि अन्य तिन चलचित्र पनि प्रदर्शन भएका थिए । जसका कारण दिपकमाथी थप दबाब देखिन्थ्यो । उनको चलचित्रलाई त्यो बेला धेरैले कम आकँलन गरेका थिए । तर शुक्रबार बिहानको शो मै चलचित्र लागेका जति हलमा हाउस फुल भयो । हलहरु थपिन थाले । शनिबार त सबैतिर बम्पर व्यापार गर्यो । 

पहिलो चलचित्रबाट चौथो चलचित्र यानिकि छक्का पञ्जा २ सम्म आइपुग्दा उनीहरुले फर्केर हेर्नु परेन । फर्केर सोच्नु पर्यो भने केवल आफुले दिएको विषय र त्यसको प्रस्तुति कत्तिको शशक्त थियो भनेर सोचे होलान । एकपछि अर्को चलचित्रमा दर्शकको साथ पाउँदै आएको आमा सरस्वति गितादेवी फिल्मस्को टिमले व्यवसायिक रुपमा पनि रेकर्ड राख्न सफल भयो । सबैभन्दा बढीको व्यापार गर्ने चलचित्र पनि छक्का पञ्जा बन्यो । दिपाश्री निरौलाले यही टिमको छक्का पञ्जाबाट निर्देशनमा डेव्यु गरिन । छक्का पञ्जाका ३ वटै सिरिजलाई उनैले निर्देशन गरेकी छिन ।

समय परिवर्तनशिल छ । पहिलो चलचित्रको सफलता सँगै उनीहरु प्रति दर्शकको विश्वास बढ्यो । छ एकान छ मा नपत्याएकाहरुले पनि दास्रो चलचित्रबाट उनीहरु प्रति सहजै विश्वास गर्न थाले । उदाहरणका रुपमा मल्टिप्लेक्सले दिएको शोलाई पनि हेर्न सकिन्छ । पाँचौं चलचित्र सम्म आइपुग्दा उनीहरुले मल्टिप्लेक्समा सर्वाधिक शो पाएका छन् । नेपाली चलचित्रमा छक्का पञ्जा ३ ले मल्टिप्लेक्समा पाएको शो अहिले सम्मकै सबैभन्दा बढी हो । बलिउड र हलिउडका स्टार अभिनित चलचित्रलाई उपलव्ध गराउँदै आएको शो नै छक्का पञ्जा ३ ले पाएको देखिन्छ । छक्का पञ्जाको तेस्रो सिरिजले मल्टिप्लेक्सले दिने शोमा अर्को रेकर्ड कायम गरेको छ ।

त्यसो त दिपकको टिमले यसअघिका चलचित्रमा विषवस्तु लुकाउने गरेको थियो । कमेडी जनराको चलचित्र बनाउने अनि कमेडी शैलीको ट्रेलर मेकिङ्ग गर्ने तर विषयवस्तु लुकाउने उनीहरुको विशेषता जस्तै थियो । तर, यसपटक भने चलचित्रको विषय खुलाइएको छ । उनीहरुले शिक्षा क्षेत्रमा देखिएको विकृति र शैक्षिक प्रणालि माथी व्यङ्गय गरेका छन् । दिपक अब आफुहरु पनि परिवर्तन हुनु पर्छ भनेर यसपटक विषय वस्तु खुलाइएको बताउँछन् । उनका अनुसार अघिल्ला चलचित्रहरुमा ८० प्रतिशत कमेडी र २० प्रतिशत विषयवस्तुको प्रस्तुति हुन्थ्यो रे । तर यसपटक ठिक उल्टो छ । चलचित्रमा सिच्युयशनल कमेडी मात्र छ । दर्शकलाई हसाउँनकै लागि मात्र कमेडी गरिएको छैन । त्यसैले यसलाई कमेडी मात्र नभएर सोसल जनराको कमेडी चलचित्र भन्छन् उनी ।

चलचित्रले शिक्षा क्षेत्रको बिकृति माथी व्यङ्गय गरेको छ । जसका लागि उनीहरुले शैक्षिक प्रणालि माथी अध्ययन समेत गरेर स्कृप्ट तयार पारेको बताउँछन । त्यसो त स्कुल र कलेजका सम्वन्धमा विभिन्न घट्नाहरु सुन्दै आएकाहरुले चलचित्रमा त्यस्ता घट्नालाई दर्शकले वास्तविक पनि ठान्ने उनको विश्वास छ । शैक्षिक क्षेत्रका सन्दर्भमा समाजमा घटिरहेका घट्नाहरु, देखिएका विषयहरु नै चलचित्रमा भएकोले त्यस्ता दृष्यहरु सत्य जस्तै लाग्ने उनको कथन छ ।

त्यसो त दिपकको टिमले निर्माण गरेका चलचित्र भन्दासाथ रमाइलो चलचित्र भन्ने छाप दर्शकहरुमा परिसकेको छ । दर्शकहरु हलमा चलचित्र हेरेर मनोरञ्जन लिनका लागि आउने गर्छन । तर, यसपटक कमेडी कम, विषवस्तुको प्रस्तुति बढी हुँदा कतै दर्शकहरु निराश हुने त होइनन् । दिपक दर्शक निराश नहुन भन्नका लागि सिच्युयशनल कमेडी भने समावेश भएको बताउँछन् । यद्यपी त्यो डरलाई उनले रिलिज पूर्व नै स्वीकार गरिसकेका छन् । उनले आफुहरु पनि परिवर्तन भएको आभाष दिलाउन छक्का पञ्जा ३ बनाएको बताउँछन् ।

त्यसो त कुरा काट्नेहरु सधै काट्नका लागि तयार हुन्छन् नै । घोडा र मालिको उदाहरण दिदै भन्छन – ‘कसैले घोडा डोहोर्याएर हिड्यो भने माल पाएर चाल नपाएको भन्ने अनि घोडा चड्यो भने पशुलाई दुःख दियो भन्ने समज हो हाम्रो । त्यसैले हामीलाई पनि कसैले कमेडी बाहेक केही गरेनन् पनि भने, अब हसाँउदै हसाएनन् पनि भन्न सक्छन् । हामी सबै खालका वास्तविक कमेण्ट सुन्न तयार छौं ।’

त्यसो त नेपालमा कमेडी चलचित्र बन्दै नबनेका भने होइनन् । तर, उनीहरुको चलचित्र छ एकान छ पछि भने कमेडी चलचित्रको लहर नै आयो । यद्यपी अन्य मेकरले बनाएका कमेडी चलचित्र त्यति सफल हुन सकेनन् । उनीहरुका चलचित्रले असफलता बेहोर्नु परेन । दिपक कमेडी जनरा कमेडीयनहरुको मात्र भएको जिकिर गर्छन । उनी भन्छन् – ‘कमेडी भनेको टाइमिङको खेल हो । अरु जनरामा टाइमिङ चाइदैन । तर, कमेडीमा प्रफेक्ट टाइमिङ चाहिन्छ । हामीले वर्षौ देखि यही गरौैं, त्यसकारण हामीले यसलाई समात्न सफल भयौं । ग्रैर कमेडीयनलाई यो जनरा समात्नै गाह्रो हुन्छ ।’ त्यसो त कमेडी चलचित्र बिग्रेमा हरर हुने र हरर चलचित्रलाई कमेडीका रुपमा दर्शकले स्वीकार गर्न नसक्ने उनको भनाई छ ।

त्यसो त दिपकलाई अहिले पनि डर छ, कौतुहता छ । अनि आफ्नो चलचित्रलाई दर्शकहरुले रुचाउछन् भन्ने आत्मविश्वास पनि छ । डर छ त पहिलेका भन्दा राम्रो चलचित्र बनाउन सकियो कि सकिएन भन्ने, डर छ त दर्शकको विश्वास गुमाउनु हुँदैन भन्ने । हरेक सफलता चुनौति लिएर आउछ । अनि हरेक सफलता पछि अर्को काम अझ चुनौतिपूर्ण हुन्छ । दिपकको टिमका लागि पनि यस्तै छ अहिले ।

चलचित्र छक्का पञ्जा ३ को बारेमा विस्तृत जानकारी लिन चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोला ।

Mahajatra