यस्तो छ ‘पशुपति प्रसाद’ र ‘पशुपति प्रसाद २ः भष्मे डन’ बिचको कनेक्सन
दिपेन्द्रलाई ‘पशुपति प्रसाद’को साख जोगाउने चुनौती
शुक्रबारबाट प्रदर्शन हुन लागेको चलचित्र ‘पशुपति प्रसाद २ः भष्मे डन’ यतिबेलाको प्रतिक्षित चलचित्र हो । २०७२ सालमा रिलिज भएको चलचित्र ‘पशुपति प्रसाद’को सिक्वेल भएकोले पनि यो चलचित्रको प्रतिक्षा बढीरहेको छ ।
केहीलाई छोडेर हेर्ने हो भने नेपालमा खासै सिक्वेल चलचित्र बनेकै छैनन् । धेरै चलचित्रको हकमा नामको पछि २, ३, ... झुण्डाएर पहिलो श्रृखलाको ब्राण्ड भ्यालु क्यास गर्नकै लागि यस्ता सिरिजहरु बनिरहेका हुन् भन्दा फरक पर्दैन । चलचित्र ‘पशुपति प्रसाद २ः भष्मे डन’ भने ‘पशुपति प्रसाद’कै सिक्वेलका रुपमा आउदै छ । पहिलो चलचित्रको कथा जहाँ टुङ्गीएको थियो त्यहीबाट चलचित्र शुरु हुने निर्देशक दिपेन्द्र के. खनालले जनाएका छन् ।
जति नै फरक आँखाबाट हेरौं भने पनि ‘पशुपति प्रसाद २ः भष्मे डन’लाई ‘पशुपति प्रसाद’को लिगेसीबाट अलग गर्न सकिदैन । अझ यसको ट्रेलरले नै ‘पुशुपति प्रसाद’सँगका केही बलिया कनेक्सनहरु स्पष्ट रुपमा देखाएको छ । ट्रेलरले देखाएका समानता र चुनौतिका बारेमा चर्चा गर्नु अघि निर्देशक दिपेन्द्र के. खनालको चर्चा गरौं ।
दिपेन्द्र यस्ता निर्देशक हुन् जसले बिभिन्न बिधाका चलचित्र निर्देशन गरेका छन् । नेपाली चलचित्रको आफ्नै दृष्यभाषा निर्माण हुन नसकिरहेको अवस्थामा नेपाली चलचित्रको मौलिक पहिचान स्थापित गर्न उनले निर्देशन गरेका केही चलचित्रले पक्कै भूमिका खेलेका छन्, खेल्दै जालान । यसो भनिरहदा दिपेन्द्रले चलन चल्तिमा भन्ने गरिएको बम्बैया मसला युक्त चलचित्र निर्देशन नगरेका पनि होइनन् । तर, उनको परिचय र सफलता मौलिक कथाका चलचित्रबाट स्थापित भएको छ ।
चौध वटा चलचित्र निर्देशन गरिसकेका दिपेन्द्रले सेक्स साइकोलोजीमा ‘चपली हाइट’, नेपालमै पहिलो पटक थ्रिडी चलचित्र ‘भिजिलान्ते थ्रिडी’, डार्क कमेडी शैली स्थापित गर्ने चलचित्र ‘झोले’, समाजिक विषयका जीवन्त चलचित्रहरु ‘पशुपति प्रसाद’, ‘धनपति’, ‘आमा’ र ‘चिसो मान्छे’ जस्ता प्रसंसनिय चलचित्रको निर्देशन गरेका छन् । यिनै चलचित्रले उनको पहिचान स्थापित गरेको छ । यद्यपी आफुलाई विभिन्न जनरामा स्थापित गर्न उनले अन्य मसालेदार चलचित्र पनि निर्देशन गरेका छन् । त्यसो त दिपेन्द्रले यसअघि ‘चपली हाइट’को ब्राण्ड क्यास गर्न ‘चपलि हाइट २’ निर्देशन गरेका थिए । यो चलचित्र न त सिक्वेल थियो, न त व्यवसायिक र समिक्षात्मक रुपमा सफल भयो ।
कुरा ‘पशुपति प्रसाद २ः भष्मे डन’कै गरौं । यो चलचित्र प्रदर्शनको मिति नजिकिदै गर्दा दिपेन्द्रका अघि चुनौति निकै बढीरहेको देखिन्छ । चलचित्रलाई निर्देशकको अभिब्यक्तिको माध्यमका रुपमा लिइने हुँदा दिपेन्द्रले यसमा उठान गरेको विषय र त्यसको प्रस्तुतिले उनको सृजनशिल क्षमता र चलचित्र प्रतिको इमान्दारिताको पुनः एकपटक परिक्षण हुनेछ । आफ्नो चलचित्रमा कुनै पनि कथा उठाउनु अघि एउटा निर्देशकले मुख्य रुपमा ३ वटा विषयमा ध्यान दिन जरुरी हुन्छ । पहिलो ‘यो कथा किन’, दोस्रो ‘यो कथा अहिले नै किन’ र तेस्रो ‘यो कथा मैले नै किन’ । दिपेन्द्रले यि विषयमा पक्कै ध्यान दिएका होलान । नत्र एउटा सिक्वेल बनाउन आठ वर्ष किन पर्खनु पथ्र्यो र ! यद्यपी यि सबै प्रश्नको जवाफ दिपेन्द्रले बोलेर हैन चलचित्र मार्फत नै दिनु पर्नेछ । यो पक्तिकारलाई लागेको के भने ‘पशुपति प्रसाद’कै सिक्वेल भएकैले त्यसको अधुरो कथा भन्न आवश्यक थियो । दोस्रो प्रश्नको उत्तर खोज्नु अघि तेस्रो प्रश्नमा लागौं – ‘पशुपति प्रसाद’मा भनेकै कथाको निरन्तरता भएकोले यो कथा दिपेन्द्रले नै भन्न जरुरी थियो । दोस्रो प्रश्नको उत्तर भने चलचित्र नहेरी अनुमान गर्न अलिक कठिन छ । यि प्रश्नहरुको उत्तर खोजिरहदा दिपेन्द्रले ‘पशुपति प्रसाद’को ब्राण्ड क्यास गर्न मात्र खोजेका होइनन् भने उनको सृजनामा व्यवसायिक दवाव नपर्नु पर्ने हो । तर, नेपाली चलचित्रको बजारलाई हेर्दा यो कुरा आदर्शमा मात्र सिमित रहेकोमा दुई मत छैन । एउटा निर्देशकले बजारलाई समेत बिश्लेषण गरेको चलचित्र बनाउनु पर्ने देखिन्छ । यसकारण दिपेन्द्र पुर्णरुपमा बजारबाट निर्देशित छन् वा आफुलाई भन्नै पर्छ भन्ने लागेको कथा भन्न इमान्दार छन्, के दिपेन्द्रले यो चलचित्र ‘पशुपति प्रसाद’को ब्राण्ड क्यास गर्न मात्र बनाएका हुन्, वा उनी वास्तवमै मौलिक कथाका चलचित्र प्रति इमान्दार छन् त्यो चलचित्र हेरेपछि विश्लेषण गरौला । त्यही बिश्लेषणमा दोस्रो प्रश्नको जवाफ खोजौला ।
‘पशुपति प्रसाद’ प्रदर्शन पछि यसले दर्शकबाट मात्र होइन समिक्षकहरुबाट पनि सकारात्मक प्रतिक्रिया प्राप्त गरेको थियो । चलचित्र क्षेत्रका सम्मानित केही अग्रज चलचित्रकर्मीहरुले त यसलाई माइलस्टोन चलचित्र मात्र भनेनन् सयौं वर्षमा मात्र यस्ता चलचित्र एकपटक बन्छन् सम्म भन्न भ्याए । के दिपेन्द्रले यो भनाईलाई चिर्ने सामर्थ राख्लान । एउटा सृजनशिल स्रजक आफ्ना सृजना प्रति इमान्दार हुने हो भने पटक पटक माइलस्टोन चलचित्र बन्छन् भनेर प्रमाणित गर्न सक्लान ! दिपेन्द्रको अघि अहिलेको सबैभन्दा ठुलो चुनौती ‘पशुपति प्रसाद’को साखलाई गिर्न नदिनु नै हो ।
उक्त समय पर्दामा ‘पशुपति प्रसाद’को कथा नितान्त नयाँ थियो । चलचित्रमा प्रस्तुत बिभिन्न इमोशनहरुले दर्शकको मन छोएको थियो । हरेक पात्रको आ–आफ्नै कथा थियो । आफुलाई स्थापित गर्न गरिने संघर्षमा अरु पात्र पिल्सिदै गएका थिए । यसको सफलतामा सरल सम्बाद र पात्रहरुको जीवन्त अभिनय पनि महत्वपूर्ण थिए । तर, ‘पशुपति प्रसाद २ः भष्मे डन’मा आइपुग्दा यसको कथा र प्रस्तुतिलाई दर्शकहरुले आ–आफ्नै कल्पनाको संसारमा एउटा चित्र बनाइसकेका छन् । त्यसलाई सम्बोधन गर्नुपर्ने अर्को चुनौति छ । अझ ‘पशुपति प्रसाद’सँग सिधै तुलना गरेर यसको मापन गरिन्छ भन्ने कुरामा दुईमत छैन ।
व्यवसायिक पाटोबाट हेर्ने हो भने चलचित्र सफल भइसकेको छ । विदेशमा चलचित्रको शोहरु सोल्डआउट भइसकेका छन् । नेपालमा एक–डेढ हप्ता अघि नै केही हलहरुले अग्रिम टिकट बुकिङ खुल्ला गरेका छन् । अधिकांश शोहरुमा रातो रङ्ग पोतिएको छ । तर, ब्यवसायिक रुपमा सफल हुनुले मात्र ‘पशुपति प्रसाद’को साख जोगिदैन ।
‘पशुपति प्रसाद २ः भष्मे डन’ले ‘पशुपति प्रसाद’सँगका केही कनेक्सनहरु बलियोसँग देखाएको छ । ‘पशुपति प्रसाद’ र ‘पशुपति प्रसाद २ः भष्मे डन’को दृष्य भाषामा धेरै समानता देख्न सक्न्छि । नेपाली समाजमा एउटा भनाई छ – ‘चोरेको वा भेटेको सुन फाप्दैन ।’ ‘पशुपति प्रसाद’मा पशुपति प्रसादले सुनको औठी भेटाएपछि कसरी अकल्पनिय मृत्यु वरण गर्नु पर्छ भन्ने देखाइएको छ । सिक्वेलको ट्रेलरमा मित बाले बोलेको सम्बाद ‘सुनले सुखै ल्याउछ भन्ने हुँदैन’ले पनि दुवै चलचित्रका बिच सुनको कनेक्सनलाई स्थापित गर्छ । भष्मेले बोलेको सम्बाद ‘कोरोनाको बेलामा त्यत्रो रिक्स लिएर मान्छे जलायो, त्यही भएर त सुनको दात पलायो’ले उसले पशुपति आर्यघाट बाटै सुन जम्मा गरेको बुझिन्छ । आर्यघाट क्षेत्रमा राज गर्न संघर्षरत् भष्मेलाई सुनले फाप्छ वा फाप्दैन ट्रेलरले स्पष्ट नभने पनि केही संकेत भने गरेको छ । एउटा निर्देशकले क्यामरा एंगल र रङ्गको संयोजन गरि दृष्यबाट धेरै कुराहरु बताइदिन्छ । ट्रेलर हेर्दा दिपेन्द्रले पनि केही दृष्यहरुमा यस्तै गरेको देखिन्छ । ‘पशुपति प्रसाद’मा पशुपति प्रसादले आकाशतिर फर्केर आफ्ना स्वर्गिय बुबा आमालाई आफुले ऋण तिर्दै गरेकोले स्वर्गको ढोका फोड्न तयार भएर बस्न आग्रह गरेका थिए । ‘पशुपति प्रसाद २ः भष्मे डन’को ट्रेलरको अन्त्यमा भष्मेले तिनै पशुपति प्रसादलाई त्यही शैलीमा पुकारेको छ । भष्मेको यो पुकारले पशुपति प्रसादको दुःखद अवसान पछि भष्मे परिवर्तन भएको संकेत गर्छ । यि दुवै दृष्यलाई एउटै एंगलबाट प्रस्तुत गरेर दिपेन्द्रले त्यतिबेलाको पशुपति प्रसादको अवस्था र अहिलेको भष्मेको अवस्था उस्तै छ भन्ने बलियो संकेत दिएका छन् । त्यसो भए के भेटेको सुनले भष्मेलाई पनि फाप्दैन ? यसको उत्तर चलचित्र हेरेपछि नै थाहा होला । तर, दुवै दृष्यको कनेक्सन हेर्दा फाप्दैन भन्ने अनुमान गर्न सकिन्छ । ट्रेलरमा भष्मे बसिरहेको कुर्सि केही समयपछि खालि देखाइएको छ । यसले भष्मेको अवसानको संकेत गरेको छ । अर्को एंगलबाट हेर्दा खाली कुर्सी देखाएर निर्देशकले भष्मे र सौगातको पात्र बिचको टकराव आर्यघाट वरिपरि राज गर्न कुर्सी प्राप्तीको युद्ध हो कि भन्ने संकेत समेत दिएका छन् ।
अझ सौगातलाई मधेसी पात्रका रुपमा चित्रण गरिएको छ । यो पात्र चित्रणलाई पछिल्लो नेपाली समाजको बदलिदो परिस्थितिको बिम्बका रुपमा पनि लिन सकिन्छ । देशको सिमा रक्षकका रुपमा सम्मानित मधेसी समुदायले राज्यसत्तामा आफ्नो दरिलो उपस्थिति खोजिरहेका बेला आर्यघाट क्षेत्रमा मधेशी पात्रको प्रवेश गराएर त्यसको छनक चलचित्रले दिन खोजेको बुझिन्छ ।
‘पशुपति प्रसाद’मा आमा (मिश्री थापाको पात्र)ले पशुपतिप्रसादलाई गरेको माया र सिक्वेलमा मित बा र भष्मे बिचको मायाको कनेक्सन देखाउन खोजिएको बुझिन्छ । यता हिजो आफुलाई स्थापित गर्न भस्मे डनले गरेको संघर्षलाई आज सौगात मल्लको पात्रमार्फत कनेक्सन गर्न खोजिएको छ । हनुमान पात्रको कनेक्सन दुर्गा माताको पात्रसँग गर्न खोजिएको देखिन्छ । यो कनेक्सन स्थापित गर्न सफल लेखक खगेन्द्र लामिछानेलाई पनि क्रेडिट दिनै पर्छ ।
समय बद्लियो, मान्छे अनुसार सोच, संस्कार र जीवन बद्लियो । तर, नेपालीको परिस्थिति बद्लिएको छैन, समस्या जहाँको त्यही छ । सायद यो चलचित्रले यही भन्न खोजेको हुनुपर्छ । हिजोको भष्मेको सोच र संंस्कार आज परिवर्तन भएको छ तर, परिस्थितिले उसलाई हिजोको पशुपति प्रसादको अवस्थामा पुर्याएको छ । सौगातको पात्र हिजोको भष्मेको जस्तै संघर्षमा छ ।
प्रदर्शन मितिः २०८० कार्तिक ४ गते (फूलपातीको दिन)
निर्देशकः दिपेन्द्र के. खनाल
लेखकः खगेन्द्र लामिछाने
प्रमुख कलाकारहरुः विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, माओत्से गुरुङ
Latest Updates
New Releases (Ashad 7)
-
Daanvi
Director : Rupesh Tamang
Casts : Puja Sharma, Kunsang Bomjan, Monalisa Khatiwada, Rajaram Poudyal, Kalu Rana