Mansara

प्रदिपका कारण अनमोललाई पछुतो !

२०७९ बैशाख ९
प्रदिपका कारण अनमोललाई पछुतो !

नेपाली चलचित्रमा अहिलेको जेनेरेशनका स्टार हुन् अनमोल केसी र प्रदिप खड्का । उनीहरु दुबैको चर्चा पनि उत्तिकै छ भने बक्स अफिसमा दबदबा पनि उत्तिकै छ ।

सन् २०१३ को चवलचित्र होस्टेलबाट अनमोलले डेब्यु गरेका हुन् भने सन् २०१५ को स्केपबाट प्रदिपले । पहिलो चलचित्रबाट नै अनमोल नायकका रुपमा स्थापित भए । उनले त्यसपछि फर्केर हेर्नु परेन । स्टार किड्स भएकोले पनि अनमोललाई केही सहज भयो नै । तर, प्रदिपको संघर्षको कथा अलिक भिन्न छ । उनले शुरुमा टेलिभिजनमा काम गरे । सन् २०१४ मा ठुलो मान्छे नामको चलचित्र निर्माण पनि गरे । त्यसपछि बल्ल हो उनले अभिनय गरेको । सन् २०१५ मा प्रदिपले चलचित्र स्केपबाट अभिनयमा डेब्यु गरे । पहिलो चलचित्रबाट प्रदिपले सफलता पाउन सकेनन् । उनको फिल्मी करियर धर्मरायो । उनी बिदेश जाने सोचमा पुगे । अष्ट्रेलियाको भिषा आएको थियो, हातमा पार्सपोर्ट थियो । त्यसै समय अफर आयो चलचित्र ‘प्रेमगीत’को ।

त्यसो त ‘प्रेमगीत’का लागि पहिलो रोजाई प्रदिप थिएनन् । त्यो बेला सम्म अनमोलका दुई चलचित्र होस्टेल र जेरी प्रदर्शन भइसकेका थिए । लभस्टोरी चलचित्रमा अनमोलले जवरजस्त उपस्थिति जनाइसकेका थिए । यसअर्थ ‘प्रेमगीत’ टिमको पहिलो रोजाईमा परे अनमोल केसी ।

अनमोलसँग चलचित्रको अफर पुग्यो । उनलाई स्कृप्ट पनि मन पर्‍यो । तर, नायिका पुजा शर्मासँग आफ्नो जोडी नसुहाउने भन्दै अनमोलले अफर लत्याएको चर्चा नयाँ रहेन । जब अनमोलले ‘प्रेमगीत’मा काम नगर्ने भए तब निर्माण टिमले अर्को नायकको खोजी गर्‍यो । त्यही क्रममा अफर पुग्यो प्रदिप समक्ष । प्रदिपले अष्ट्रेलिया जाने सोच त्यागेर चलचित्रमा काम गरे । यही चलचित्रले नायिकाका रुपमा पुजा शर्मा र नायकका रुपमा प्रदिप खड्कालाई स्थापित गरिदियो । जब चलचित्रको फष्ट लुक सार्वजनिक भयो प्रदिपको चर्चा निकै चुलियो । चलचित्र रिलिज सम्म उनले धेरै फ्यान कमाइसकेका थिए । चलचित्रबाट उनले दर्शकको मन जिते । ‘प्रेमगीत’ पछि उनलाई पनि फर्केर हेर्नु परेन ।

आज अनमोल र प्रदिप दुबै स्थापित छन् । चलचित्रमा लगानी हुने करोडौंको भार काँधमा बोकेर हिड्न तयार मात्र होइन सक्षम देखिएका छन् । नम्वर वानको होडमा पनि यिनै दुई स्टार रहेको देखिन्छ । अनमोल कम्फर्ट जोन अर्थात लभस्टोरी चलचित्रमै रमाइरहेका छन् भने प्रदिप भने कम्फर्ट जोनबाट माथी उठेर काम गरेका छन् । उनले फरक शैलीको चलचित्र ‘प्रकाश’मा काम गरे । जुन रिलिजको तयारीमा छ । यो चलचित्रको फष्ट लुक पोष्टर रिलिजसँगै उनको चर्चा फेरी चुलिएको छ । हलहरुमा सार्वजनिक टिजरले उनलाई प्रसंसा मिलिरहेको छ । यता अनमोल अभिनित चलचित्र ‘ए मेरो हजुर ४’ यतिबेला प्रदर्शनरत् छ । बक्सअफिसमा सफल यो चलचित्रबाट अनमोलको अभिनय पनि सुधारिएको भन्ने फिडब्याक आइरहेको छ ।

तर, यतिबेला भने अनमोल भने ‘प्रेमगीत’मा काम नगरेको पछुताई रहेका छन् । हालै उनै अभिनेत्री पुजा शर्मासँगै मिडियामा प्रस्तुत भएका अनमोलले छिट्टै पुजा र आफ्नो चलचित्र आउने मात्र बताएनन् उनीसँग ‘प्रेमगीत’मा काम नगरेको पछुतो भएको पनि बताए । जब पुजाले ‘प्रेमगीत’को पहिलो अफर पुजालाई गएको बताइन तब सञ्चारकर्मीहरुले अनमोललाई सोधे – पुजा सँग ‘प्रेमगीत’मा काम नगर्दा पछुतो छ ? शुरुमा त अनमोलले हाँसेरै टार्ने कोसिस गरे । तर, पत्रकारले अफर त आएको थियो नी भन्ने टुक्रे प्रश्न जोडेपछि उनले छ भन्ने जवाफ दिए ।

हिजो अस्वीकार गरेको चलचित्रलाई लिएर आज अनमोल किन पछुताइ रहेका होलान ? पुजाका चलचित्र पनि बक्स अफिसमा सफल भएर हो वा ‘प्रेमगीत’बाट आफ्नो प्रतिष्पर्धी नायक जन्मिएको भएर हो, त्यो उनै जानुन् । एउटा सत्य के हो भने ‘प्रेमगीत’मा अनमोलले काम गरेका भए सायद प्रदिप खड्का यतिबेला नेपाली चलचित्रमा हुने थिएनन् । उनी अष्ट्रेलिया तिर हुन्थे होला । तर, के गर्नु त्यही चलचित्रले प्रदिपलाई स्थापित नै गरिदियो । त्यो पनि स्टारका रुपमा । आज प्रदिपले पनि जबरजस्त उपस्थित जनाइरहेका चलचित्रमा । यसअर्थ कतै आफ्नै कारण ‘प्रेमगीत’बाट आफ्नै प्रतिष्पर्धी आयो भनेर त अनमोललाई पछुतो भएको होइन ! कि उनलाई पुजासँग काम नगर्नु गल्ति महशुस भयो !