Mansara

चलचित्रकर्मीले गुट उपगुट छौडौं, विचार भन्दा बिषयको बहस गरौं

२०७७ भाद्र २
चलचित्रकर्मीले गुट उपगुट छौडौं, विचार भन्दा बिषयको बहस गरौं

चलचित्र उद्योगमा नयाँ नयाँ प्रविधि भित्रियो, कलाकार तथा प्राविधिकहरुको नयाँ नयाँ भित्रिए, कोही पढेर आए, कोही यहि क्षेत्रमा बर्षौंको मेहनतबाट खारिएर आए, हलमा चलचित्रको स्वरुपमा केही परिवर्तन देखिन थाल्यो, किनभने २० औं बर्ष नेपाली चलचित्र उद्योगले दुनियाँमा रिजेक्टेड प्रविधिको साहारामा आफ्नो साख जेन तेन जोगाइ रहेको थियो । तर, पछिल्लो कलाखण्डमा नेपाली चलचित्र उद्योग झण्डै झण्डै कोल्याप्स हुने स्थीतिमा पुग्नै लागेको बेला बल्ल तल्ल केही नयाँ प्रविधी र त्यसलाई समय सापेक्ष बनाउँने व्यक्तीहरू थपिए ।

अझ भनौं चलचित्र उद्योगले केही रक्तसंचारको अनुभूती गर्याे दिनानु दिन यो संख्या वृद्धी हुँदैगयो, अझ नयाँ प्रविधि भित्रिन थाल्यो । विभिन्न तप्काका व्यक्तीहरु नेपाली चलचित्र उद्योग प्रति आकर्षित हुन थाले । नेपाली चलचित्र उद्योगको लागि यो हितकर एंव उपयोगी हो भन्ने सोचेर आफ्नो आधा जीन्दगी चलचित्र क्षेत्रलाई समर्पण गरेका चलचित्रकर्मीमा एक प्रकारको खुसी र हौसला प्रकट भयो । तर, चलचित्र क्षेत्रमा नयाँ प्रविधी सँग सँगै अनुसाशन हिनता र गुट उपगुट पनि प्रवेश गरेको कुरा थाहा भएन । त्यो विस्तारै सतहमा छता छुल्ल हुन थाले तव भने विस्तारै नयाँ प्रविधी र नयाँ जनशक्तीको आगमनमा खुसी भएको उद्योगमा पुनः अविश्वास आंशका र अनुसासन हिनताको कालो बादल मडारिन थालेको देखिन्छ । पक्कै पनि यो सुखद होईन । किनभने कुनै पनि क्षेत्रमा सबै भन्दा पहिला काम गर्नेहरुको अनुसाशन र इमान्दारीता नै प्रमूख हुने गर्छ । जव त्यो नैतीक धरातल र सिमाना बिर्सेर मानिस अगाडी बढ्न थाल्छ तव त्यसले पार गर्ने क्षेत्रको सम्पूर्ण प्रकृतीलाई नै आफु जस्तै अनुसासनहिनता, गुट उपगुट र बैमानीको संसारतीर डोराउँदै लान्छ । हो, आज नेपाली चलचित्र क्षेत्रमा पनि यही अनुसाशन हिनता, गुट उपगुटको श्रृंखाला चलेको प्रष्टै देख्न सकिन्छ । यदि यस्लाई रोकिएन र यही सेरोफेरोमा हामी रमाउँदै गयौं र यस्लाई विकाश गर्दै गयौं भने एउटा प्रचलित कहावत सत्य सावित हुनेछ र हामी मुर्ख होईन यहाँ मुखको कोटीमा इतिहासमा दर्ज हुनेछौं ।

कहावत के भने एउटा चतुर व्यापारी एकदिन व्यापारको शिलशिलामा बजार आएको थियो । उ सधै जस्तो बजार आउथ्यो, बजारमा जून सामान र वस्तुहरु महङ्गो मूल्यमा बिक्री हुन्छ, गाउबाट उ त्यही सामान र वस्तुहरु खरिद गरेर ल्याउथ्यो, उ व्यापारी थियो, कमाउनु थियो, यानेकी जे गरेर जे बेचेर भएपनि पैसा प्राप्ती होस भन्ने उसको चाहना थियो । व्यापारिक हिसावले यो कुरा ठिकै होला तर, के चिज बेज्न हुने वा नहुने भन्ने उसलाई केही मतलव थिएन । बस उसलाई पैसा सँग मात्र मतलव थियो, सधा झै बजारमा त्यो दिन पनि उस्ले विभिन्न सामान ल्यायो बेच्यो नाफा कमायो तर, उसको सामान भन्दा धेरै पैसा कमाउँन सकिने अर्को सामान महङ्गोमा बिक्री भइरहेको देख्यो । त्यो थियो खरानी । त्यहाँ खरानी एकदम महङ्गोमा बिक्री भइरहेको देखेर उ लोभियो, केही सोच्यो अनि आफ्नो मुकामतीर फर्कियो, उ सिधै घरमा आयो, स्वास्नी छोराछोरीलाई घरबाट निकाल्यो अनि घरमा आगो लगायो । घर बलेर छिनमै खरानी भयो । त्यहाँ खरानीको डंगुर थुप्रियो उ धमाधम खरानी बोरामा लादन थाल्यो र साविक बमोजिम बजारतीर हानियो । तर, त्यो दिन खरानीको भाउ जिरोमा झरी सकेको थियो । उ पश्चाताप र ग्लानीले छट्पटायो आफनो हुँदा खादाको घर जलाएकोमा निशब्द भयो दुनियाको अगाडि आफ्नो मुर्खता लुकाउँन उस्लाई धौ – धौ भयो । आफन्तहरु रिसाए, टाढिए, उ एक्लो भयो ।

हो, खरानीको भाउ बढेको देखेर आफ्नै घर जलाएर खरानी बेच्न हिइने व्यापारी जस्तै हामी पनि त्यही बाटोतीर उन्मुख भइरहेका त छैनौं ? नैतीकता र इमान्दारीता सवै कुरालाई बिर्सिएर जसरी पनि पैसा थुपार्ने उदेश्यले कतै हामी खरानी बेच्ने व्यापारीको बाटो त हिडिरहेका छैनौ ? मलाई लाग्छ हामी लगभग त्यही खरानी बेच्ने व्यापारीको बाटोतीरै अघि बढी रहेका छौं । त्यसको लागि हामीले नयाँ सोच र नयाँ धार भनेर चलचित्रलाई विभाजन गरेका छौं । आफु भन्दा अग्रजलाई हामीले पुरातनवादी सोच भनेर तीरस्कार गरिरहेका छौं, कुनैपनि सोच पूरातनवादी हुँदैन, त्यो समय सापेक्ष हुन्छ भनेर हामीले सोच्न सकेका छैनौ । हामीमा अहंकार पलाएको, फूलेको छ । हामी हाम्रा अग्रजहरुको भूमिका र समर्पणलाई नजर अन्दाज गरी रहेका छौं । उनीहरुको अवमुल्यन गरीरहेका छौं । हामी उनीहरुलाई इज्जत दिन सकि रहेका छैनौं, अझ उनीहरुमाथी औलो ठडाइरहेका छौ । के यो अनुसासन हिनता होइन र ? यसले आउने पिढीलाई के सन्देश दिन्छ ? आज हामी आफुलाई नयाँ सोचको विकास गर्ने मसिहा ठनिरेहका छौ । र, अरुलाई पुरातनवादी र कपिपेष्टको विल्ला भिराई रहेका छौं । यदि हामीले यो अनुसासन हिनतालाई नरोक्ने हो भने भोलि आउने पुस्ताले हामी अहिलेको पुस्तालाई त्यस्तै कुनै नवशब्द प्रयोग गरेर बेइजत गर्यो भने त्यसवेला कस्तो महशुष हुन्छ । हो यो कुरा समय मै महशुष गरेर अनुसासनमा बस्ने र राख्ने प्रचलन बसाल्न सकियो भने कुनै पनि समयमा, कुनै पनि युगमा, कुनै पनि चलचित्रकर्मीले अपमानित हुनु पर्दैन ।

समयक्रमले एक अर्का प्रति इज्जत गर्ने संस्कृतिको विकास गर्छ, टिम भित्र उद्योग भित्र एक प्रकारको अनुसाशनको आवश्यकता छैन र ? पक्कै पनि छ, प्रिय मित्रहरु चलचित्र उद्योगमा गुट उपगुट जात जातीहरू बनाउँन छाडेर भाइचारको प्रकृति विकास गरौं । किनभने आज तपाई अरुको भूमिकालाई र समर्पणलाई अवमुल्यन गर्दा जसरी खुसी हुन खोज्नु हुन्छ भोलि त्यसैगरी तपाईको भुमिका र समर्पणलाई अर्काले पनि अवमुल्यन गर्न सक्छ, त्यसैले त्यो अवस्था आउँन दिनु भन्दा पहिले नै चलचित्र क्षेत्रमा अनुसाशन, सम्मान र इज्जत दिने र लिने संस्कारको विकास हुन जरुरी देखिन्छ । किनभने कुनै क्षेत्रलाई त्यतिबेला मात्र अब्बल भन्न सकिन्छ जतिबेला त्यहाँ अनुसाशन कायम हुन्छ । आज चलचित्र उद्योगमा गुट उपगुट जातजाती आदि इत्यादी कुराहरु मौलाइ रहेको देखिन्छ । एउटाले अर्काको उपस्थितीलाई स्वीकार्न नसक्ने रोगले हामी ग्रसित हुँदै गइरहेका छौं । पुरानो र नयाँ भनेर एउटा सिमाना बनाउँन खोजी रहेका छौं । यो पाटी, उ पाटी, यो विचार, त्यो विचार भनेर आफु आफुमा विभाजनका धर्साहरु कोरी रहेका छौं । चलचित्र निर्माणमा यो गुटको र त्यो गुटको भन्ने परिपाटी शुरु भएको छ । चलचित्र क्षेत्रमा क्रियाशिल संघ संस्थाहरुमा नचाहीने बैचारिक विभाजन भएको देखिन्छ । कुनै पनि चलचित्र सँग सम्बन्धीत संघ संस्थामा प्रवेश गर्दा कुनै पार्टीको केन्द्रिय कार्यालयमा पसेको प्रतित हुन थालेको छ, एउटा जातीले अर्को जातीलाई होच्याउँने र आफनै जात र विरादरीको गुट बनाउँने प्रचलन शुरु भएको छ । चलचित्रकर्मीहरुले विचार भन्दा बिषयको बारेमा छलफल गर्नु पर्नेमा आज विचारको विवाद भइरहेको छ । यो कित्ताको र त्यो कित्ताको भनेर कित्ताकाट गरिन थालिएको छ । यो पुरानो धारको र यो नयाँ धारको भनेर बीचमा पर्खाल ठडाउन खोजिएको छ । के यो राम्रो करा हो र ? यस्ता बिचार र विभेदले हामीलाई कुन बाटो तर्फ उन्मुख गराउँदै छ ? के यति सानो चलचित्र उद्योगमा हामीहरूले यति धेरै विभेदका विष वृक्षहरू रोप्यौं भने हामीले नै त्यसबाट अमृत प्राप्त गर्ने आशा गर्न सक्छौं ? यस्ता धेरै अनुत्तरीत प्रश्नहरू छन् ।

कृपया मेरा आदरणीय तथा नव आदरणीय मित्र यी सवै प्रश्नको उत्तर खोजौं त्यसको लागि व्यक्तीगत अनुसाशनको विकास गने पद्धती बसालौं । उत्तर खोज्दा गुट उपगुट जात जाती भाषाभाषी अनि भिन्न बिचार भन्दा माथी उठेर एउटा विशुद्ध अनुसाशित नेपाली चलचित्रकर्मी भएर उत्तर खाजौं । मेरो बिचारमा त्यसबाट प्राप्त हुने उत्तरले हामीलाई सही मार्गमा हिडाउने छ । नेपाली चलचित्रलाई अझै परिस्कृत बनाउँने छ । एकले अर्काको अस्तीत्वलाई स्वीकार्न अनि एकले अर्कालाई इज्जत गर्ने परिपाटीको विकास हुनेछ । किनभने हामी आफुले इज्जत पाउँनको लागि अरुलाई पनि इज्जत गनु पर्छ भन्ने कुरा नबिसौं । पुरानो र नयाँ भनेर चलचित्रकर्मीमा विभाजन ल्याउने होइन पुरानाहरूको अनुभव र समर्पणलाई पनि सँगै लिएर अगाडी बढ्यो भने हामी आफुले पनि टेक्ने बलियो आधार पाउँने छौं । भोलि अर्को पुस्ताले पनि हामीलाई त्यस्तै सम्मान प्रकट गर्नेछ । आज हामीमा विभाजन होइन एकता जरुरी छ । विभिन्न बिचार भन्दा विभिन्न बिषयको जरुरी छ । त्यसैले हामी एकले अर्कालाई विभेद गर्ने तीर होइन एकले अर्कालाई जोगाउनतीर लागौं । एउटा सानो सफलतामा सबै कुरा बिर्सिएर अंहकार नपालौ । सफलता भन्ने कुरा क्षणिक हो तर, निरन्तरता भन्ने कुरा अनिवार्य हो र यसले नै लामो यात्रा गराउन सक्छ । किनभने नेपाली चलचित्र उद्योगमा पनि विभिन्न कालखण्डमा विभिन्न व्यक्तीहरुले सफलताको शिखरमा यात्रा गरेका छन् ।

जस्ले शिखरको यात्रा गर्दा फर्किने धरातल र बाटोको निर्माण गरेर यात्रा गरे ती सहज रूपमा पुनः अवतरण भएका छन । ज जस्ले अनुसासन र इमान्दारितालाई त्याग्दै अंहकारी शैलीमा शिखरमा पुगे र शिखरमा नाच्दा, अर्काे व्यक्तीले पुर्नस्थापित गर्न खोज्दा, ओर्लने बाटो र धरातल नबनाई अंकार प्रदर्शन गर्नाले टेक्ने ठाँउ र ओर्लने बाटो नपाएर फर्सी फुटे झैं फुटेका उदाहरण पनि हामी सगैं छन । हामीले शिखरको यात्रा गर्दा पछि पछि अर्को व्यक्ती पनि त्यही यात्रामा छ भन्ने कुरा नबिसौं । अनि त्यो व्यक्तीले त्यहाँ शिखरमा स्पेस बनाउँने वित्तिकै आफु तल फर्कनु पर्छ भन्ने करा पनि नबिसौ । त्यसैले मित्रहरु सेल्फ ल्याण्डिङको लागि आफुले शिखर चढदा फर्किदा टेक्ने धरातल र बाटो पनि बनाएर चढ्नु पर्छ भन्ने कुरा पनि नबिसौ । सफलता आज एउटाको हातमा छ भोलि अर्काकोमा अनि पर्सी अर्कामा जान्छ ।
त्यसैले सबै भन्दा पहिला चलचित्र उद्योगमा अनुसाशनको परम्परा र पद्धतीको विकास गरौं । कसैको आत्म सम्मानमा चोट पुर्याउने भन्दा पनि एकले अर्कालाई सम्मान गर्ने परिपाटीको विकास गरौं । तव मात्र नयाँ प्रबिधी र नयाँ पुस्ताको आगमन सार्थक हुनेछ । आजको दिनलाई भोलि फर्केर हेर्दा हिजो र पुरानो हुन्छ भन्ने कुरा नबिसौ । त्यसैले हिजोलाई सम्मान, आजलाई प्रोत्साहसन र भोलिलाई उत्थान गर्ने परिपाटी विकास गरौं ।

२०७४ साल असार ३ गते सम्पन्न एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार २०७३ को स्मारिका बाट साभार