‘पिताम्बर’को ५१ औं दिन सेलिब्रेसन गर्दै ‘पिताम्बर २’को घोषणा 

२०८२ जेष्ठ २३
‘पिताम्बर’को ५१ औं दिन सेलिब्रेसन गर्दै ‘पिताम्बर २’को घोषणा 

चलचित्र ‘पिताम्बर २’को निर्माणको घोषणा गरिएको छ । चलचित्र ‘पिताम्बर’ प्रदर्शनको ५१ औं दिन सेलिब्रेसन गर्दै  ‘पिताम्बर २’ निर्माणको घोषणा गरिएको हो । चैत २९ गतेबाट प्रदर्शनमा आएको चलचित्रले बिहिबार ५१ दिनको खुशी साटेको हो ।

रञ्जना सिनेप्लेक्स, विश्वज्योती, बिएसआर र बीग मुभिजमा चलचित्र निरन्तर प्रदर्शन भइरहेको छ । बिहिबार निर्माण पक्षले रञ्जना सिनेमा हलमा एक कार्यक्रमबीच कलाकार र प्राविधिकलाई सम्मान गरेको छ ।

कार्यक्रममा निर्देशक कृषा चौलागाईं, निर्माता विशाल चौलागाईं, छायांकार तथा सह–निर्माता पुरुषोत्तम प्रधान, कलाकार सौगात मल्ल, अनुपविक्रम शाही,प्रमोद अग्रहरिका साथमा सञ्चारकर्मीको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै निर्देशक चौलागाईंले सबैको साथ र सहयोगले ५१ औँ दिन पार गर्न सम्भव भएको बताउँदै सबैलाई धन्यवाद दिइन । 

चलचित्रमा प्रदीप खड्का सौगात मल्ल,आर्यन सिग्देल, अनुपविक्रम शाही, दयाहाङ राई, सुरक्षा पन्त, गौरी मल्ल, रवीन्द्र झा, प्रमोद अग्रहरी, आर्यन सिग्देल, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी लगायतका कलाकारको अभिनय छ ।