Mansara

‘यात्रा’ सम्राटका लागि अवसर पनि, चुनौती पनि

२०७५ चैत्र २८
‘यात्रा’ सम्राटका लागि अवसर पनि, चुनौती पनि

करिब २३ वर्षको फिल्मी करियरमा सम्राट शाक्यले ७०–८० चलचित्रमा सहायक, मुख्य सहायक र एसोसियट निर्देशक रुपमा काम गरिसकेका छन् । त्यही चलचित्रमा काम गर्दाको सिकाईको प्रतिफल उनले ‘यात्रा’ निर्देशन गरे । सम्राट निर्देशित ‘यात्रा’ शुक्रबारबाट प्रदर्शन हुँदैछ ।

सम्राटले शुरुको १२ वर्ष जति नेगेटिभ र त्यसपछि डिजिटल प्रबिधिमा काम गरे । नेगेटिभमा काम गर्न केही गाह्रो र चुनौतिपूर्ण भएको मान्ने सम्राट डिजिटल प्रबिधिले सहज भएको बताउँछन् । पहिलो पटक निर्देशकको जिम्मेबारी उठाएका सम्राटले पहिले देखि नै निर्देशनलाई आफ्नो लक्ष्य मानेका थिए । जसका कारण उनले अधिकांश चलचित्रमा पोष्टप्रोडक्सनको काम समेत सम्हालेका थिए । अक्सर सहायक, मुख्य सहायक वा एसोसियट निर्देशकहरुले छायाँकन पछि उक्त प्रोजेक्टमा काम गर्ने गरेको पाइदैन । सम्राटले भने सबै कुरा सिक्न जरुरी ठाने । त्यही सिकाइले अहिले निर्देशकका रुपमा क्याप्टेनसिप बहन गर्न निकै सहज बनायो ।

त्यसो त उनले विभिन्न निर्देशक सँग काम गरे । फरक फरक शैलीका स्कृप्टमा काम गरे । फरक फरक कलाकार र प्राबिधिक सँग काम गरे । नयाँ पुराना निर्देशकको सोच बुझ्न पाए । दर्शकको रुचि पनि नजिकबाट नियाल्न पाए । जसका कारण चलचित्रका विभिन्न पाटालाई सुक्ष्म रुपमा बुझ्न सक्षम भए ।

धेरै निर्देशकसँग काम गरिसकेका कारण उनको चलचित्रमा पनि कहि कतै पहिलेकै चलचित्रको रंङ आउने हो कि भन्ने धेरैलाई लाग्न सक्छ । तर, सम्राट ‘यात्रा’मा धेरै कुरा फ्रेस भएको बताउँछन् । राम्रा नराम्रा धेरै कुरा भोगेको बताउँने सम्राट नराम्रा अनुभव बिर्सेर राम्रा कुराबाट मात्र प्रेरित रहेको बताउँछन् । त्यो राम्रो पक्ष आफ्नो मनमा कहि कतै रहेछ भने आएको हुन सक्छ तर, ‘यात्रा’लाई समय सुहाउँदो शैलीमा ढालेर बनाएको उनको भनाई छ । पहिलेको तुलनामा अहिले चलचित्रको कथा भन्ने शैली परिवर्तन भएको छ । दृष्यभाषा परिवर्तन भएसँगै पुरानो स्कूलङ्गबाट हुर्किएका सम्राटले कस्तो चलचित्र बनाएका छन् भन्ने पनि लाग्न सक्छ । उनी अफुले पुरानो ढर्राबाट चलचित्र नबनाएको जनाउँछन् । अहिलेको ट्रेण्डलाई बुझेर, आफु समेत अपग्रेड भएर काम गरेको सम्राटको भनाई छ । पुरानै शैलीमा चलचित्र बनाउने भए केही वर्ष अघि नै निर्देशक बनिसक्ने भन्दै सम्राटले आफु पनि अहिलेको सोच अनुरुप परिवर्तन भएको बताए । पुरानो शैलीको चलचित्र हो कि भनेर नसोचिदिन आग्रह गरेका सम्राट युवा पुस्ताका दर्शकले ‘यात्रा’लाई बढी रिलेट गर्ने जिकिर गर्छन ।

केही वर्ष अघि देखि सम्राटलाई निर्देशकको अफर आइरहेको थियो । उनको पनि लक्ष्य निर्देशक नै बन्ने थियो । उनी पनि निर्देशनका लागि तयार थिए । तर, बिबिध कारणले उनले गरिरहेका थिएनन् । यसैबिच केशब भट्टराईले चलचित्र निर्देशनको अफर गरे । विगतमा पनि भट्टराईका दुई चलचित्रमा काम गरिसकेका सम्राट उनको काम गराउने शैलीबाट प्रभावित थिए । कुरा भयो, सोच मिल्यो काम गर्ने पक्का भयो । काम त गर्ने तर कस्तो चलचित्र बनाउँने त ? सम्राटलाई कन्सेप्ट आयो । कन्टेन सहितको लभ स्टोरी चलचित्र बनाउँने । केही नयाँ पन दिने । त्यसपछि शुरु भयो सम्राटको ‘यात्रा’ ।

‘यात्रा : अ म्युजिक भ्लग’ नाम बाट पनि प्रष्ट हुन्छ यसमा यात्रा, म्युजिक र भ्लगको कुरा छ भन्ने । त्यसमाथी लभ स्टारी पनि छ । चार कन्टेनलाई एउटै चलचित्रमा समावेश गरेर काम गर्दा शुरुमा सम्रटालाई विषयवस्तु केही हेवी भयो कि भन्ने पनि लागेको थियो । तर, उनले जहाँ रिक्स त्यही सफलता भन्ने सोच राखे । स्कृप्टमा मेहनत गरे । ‘यात्रा’को कुरा, म्युजिकजर्नी, भ्लग अनि लभ स्टोरी सबै पक्षलाई कन्भिन्सिङ बनाए । दर्शकले चलचित्र हेर्दा विषयको उठान मात्र गरेछ भन्ने लाग्दैन रे । दर्शक आफुले उठाएको विषयमा कन्भिन्सिङ हुने उनको भनाई छ ।

सहायक, मुख्य सहायक र एसोसियट निर्देशकका रुपमा उनले गतिलो छाप छोडेका छन् । अव्वल मध्येका एक थिए सम्राट । त्यसैले निर्देशकका रुपमा पनि त्यो छाप कायम राख्नु उनका लागि अर्को चुनौति हो । उनी ‘यात्रा’ले आफ्नो त्यो छवी कायम राख्ने विश्वामा छन् । आफु सम्पूर्ण रुपमा निर्देशक बन्न तयार छु भनेर मात्र निर्देशनमा आएको बताउने सम्राट ‘यात्रा’लाई अव्वल चलचित्र मानछन् । चलचित्र सृजना हो, निर्देशकको अभिव्यक्तिको माध्यम पनि हो । यसअर्थ उनी आफ्नो सृजनामा भरोसा राख्छन् । चलचित्रले व्यवसायिक रुपमा पनि सफलता हात पारे अझ राम्रो हुने बताएका सम्राट आफनो कामको भने तारिफ हुन्न भन्नेमा आशाबादी छन् ।

चलचित्रमा सलिन मान बानिया, मलिका महत, सलोन बस्नेत लगायतका कलाकारको मुख्य भुमिका छ । सलोनले पहिलो पटक फरक भुमिकामा काम गरेको बताएका छन् । सम्राट सलोनको भुमिका खोल्न नमिल्ने बताउँछन् । यता सलिनलाई पनि अघिल्लो चलचित्रमा भन्दा फरक शैलीमा प्रस्तुत गरेको उनको भनाई छ । निर्देशकको सोच अनुरुप कलाकारले काम गर्नुपर्ने हुन्छ । जसका लागि सम्राटले कलाकारलाई वर्कशप समेत गराए । झण्डै ३ महिना द्वन्द्व, नृत्य र अभिनय सिकाए । स्कृप्ट अुसार आ–आफ्नो क्यारेक्टरलाई न्याय गर्न सकुन भनेर कडा मेहनत गराए । परिणामा चलचित्रमा देखिएको बताउँछन् । मलिका चलचित्रमा दष्टिबिहिन पात्रको भुमिकामा छिन् । आँखाको माध्यमबाट धेरै कुरा बोल्न सकिन्छ तर, मलिकाको भुमिकाले त्यो कुरा भन्न सक्दैन । त्यसैले उनले दष्टि बिहिन हाउभाउलाई नजिक बाट नियाले । प्रतिभा नाम गरेकी एक दृष्टिबिहिनसँग मलिकाले लामै समय संगत गरिन । सम्राटले पनि उनै प्रतिभालाई हेरेर दृष्टिबिहिको शैलीलाई क्यास गरे । त्यति मात्र होइन मलिकाले टुङ्गुना बाधक अग्रीम लामासँग टुङ्गुना बजाउन समेत सिकिन । फलतः महिलाको पनि दृष्टिबिहिन पात्रलाई न्याय गरेको उनको बुझाई छ ।

सम्राटले सहायक हुँदा वर्षमा ३–४ वटा चलचित्रमा काम गर्थे । ‘यात्रा’ गर्न उनलाई झण्डै दुई वर्ष लाग्यो । सहायकका रुपमा कहिल्यै खालि बस्नु परेन् । तर, निर्देशकका रुपमा अव्वल ठहरिन सकेनन् भने अर्को चलचित्र पाउन कठिन हुन्छ । धेरै राम्रा सहायक निर्देशकहरुले यही कारण देखाएर निर्देशनमा नआएको समेत बताउँछन् । सम्राटले त्यो आँट गरेका छन् । लक्ष्यमा पुग्ने हिम्मत गरेका छन् । तर, ‘यात्रा’बाट अव्वल ठहरिन सकेनन् भने उनको फिल्मी करियर पनि धर्मराउने छ । राम्रो गरेको भए अवश्य निर्देशकका रुपमा सफल ठहरिनेछन् । यसैले ‘यात्रा’ उनका लागि अवसर र चुनौती दुवै देखिन्छ ।