Mansara

सगरमाथा चढ्दै राजु लामा र दीया पुन, संस्कृति मन्त्रीको शुभकामना

२०७८ चैत्र २१
सगरमाथा चढ्दै राजु लामा र दीया पुन, संस्कृति मन्त्रीको शुभकामना

सगरमाथा आरोहण गर्न लागेका कलाकारद्वय राजु लामा र दीया पुनलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले राष्ट्रिय झण्डा प्रदान गर्दै आरोहण सफलताको शुभकामना दिएका छन् । सोमबार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री आलेले कलाकारद्वयलाई शुभकामना पत्रसहित झण्डा हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा बोल्दै मन्त्री आलेले दुवै सेलिब्रिटी आरोहीलाई सघाउन सरकार तयार रहेको बताएका छन् । ‘उहाँहरुले मागेको सहयोग दिन सरकार तयार छ,’ मन्त्री आलेले भने, ‘सतर्कता र सावधानीपूर्वक हिमाल चढ्नुहोला ।’

गायक लामा चैत २७ गते सगरमाथातर्फ प्रस्थान गर्नेछन् भने अभिनेत्री पुन चैत २३ गते नै त्यसतर्फ लाग्ने छिन । गायक लामाले सगरमाथा आरोहण अघि ६ हजार ५०० मिटर उचाइको दोस्रो बेश क्याम्पमा सांगीतिक कार्यक्रम गर्नेछन् । वैशाख दोस्रो साता हुने उक्त कार्यक्रम मार्फत विश्वको सबैभन्दा उच्चस्थानमा कन्सर्ट गरेको कीर्तिमान राख्ने लामाको तयारी छ ।

दीयाले भने जलवायु परिवर्तनले हिमालमा पारेको असर र विश्वमा नेपाली चलचित्रको प्रचारप्रसार गर्ने उद्देश्यले हिमाल आरोहण गर्न लागेको जनाएकी छन् । लामाले जलबायु परिवर्तन नेपालको मात्र मुद्दा नभएर यसमा विश्वकै ध्यान आकृष्ट हुनु जरुरी भएको बताए । लामा तीनजना नेपाली र ७ विदेशीसहितको १० सदस्यीय आरोहण दलसँग सगरमाथा आरोहणमा जानेछन् ।

तस्बिर : अनलाइनखबर