‘पशुपति प्रसाद’को तेस्रो श्रृखला निर्माणको औपचारिक घोषणा

२०८० कार्तिक २५
‘पशुपति प्रसाद’को तेस्रो श्रृखला निर्माणको औपचारिक घोषणा

चलचित्र ‘पशुपति प्रसाद’को तेस्रो श्रृखला निर्माणको औपचारिक घोषणा गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक पत्रकार भेटघाट कार्यक्रममा लेखक तथा निर्माता खगेन्द्र लामिछाने र निर्देशक दीपेन्द्र के खनालले ‘पशुपति प्रसाद ३’को निर्माण घोषणा गरेका हुन् ।

लेखक तथा निर्माता लामिछानेले एक र दुईमा अपुरा छाडिएका पात्रको कथा पूरा गर्नुपर्ने भन्दै चलचित्र ‘पशुपति प्रसाद ३’ निर्माण गर्ने बताएका छन् । अभिनेता तथा लेखक खगेन्द्रको कथा लेखन रहने चलचित्रलाई दीपेन्द्रले निर्देशन गर्नेछन् । टुकी आर्ट्सको ब्यानरमा रोजिना सिटौलाले चलचित्र निर्माण गर्ने जनाइएको छ ।

निर्माण टिमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पशुपति प्रसाद र ‘पशुपति प्रसाद २ हेरेपछि दर्शकले ‘पशुपति प्रसाद ३’ कहिले आउँछ भनेर हामीलाई प्रश्न गर्नुभयो । हामीलाई पनि लाग्यो ती चलचित्रमा छाडिएका अपूरा कथा र पात्रको कथा हामीले ‘पशुपति प्रसाद ३’ मा पूरा गर्नुपर्छ ।’

तेस्रो श्रृंखलामा खगेन्द्र र वर्षा सिवाकोटी दोहोरिने जनाइएको छ । तर पहिलो भागबाटै ‘पशुपति प्रसाद’ पात्रको कथा टुंगिएकाले तेस्रो श्रृंखलामा उसको भूमिकालाई कसरी पुर्नस्थापित गरिनेछ भन्ने बारेमा निर्माण टिमले केही खुलाएको छैन् । ‘भष्मे डन’को पनि ‘ओपन इण्डिङ’ छाडिएकाले दर्शकले तेस्रो श्रृंखला बन्ने अनुमान गरेका थिए ।

चलचित्रलाई आगामी वर्ष छायांकन गरेर सोही वर्ष हलमा रिलिज गर्ने तयारीमा निर्माण टिम रहेको छ । लेखक लामिछानेले तेस्रो सिक्वेललाई तर्कसंगत, न्यायोचित र सुन्दर बनाउन प्रयास गर्ने बताए ।