कलाकार होइन, कथा र प्रस्तुती बन्न सक्नुपर्छ स्टार

जुन क्षण नेपाली चलचित्रले अरू जस्तै हुन छोड्छ, र आफ्नै जस्तो हुन थाल्छ, त्यस क्षणबाटै नेपाली चलचित्रको अस्तित्व देखिन थाल्छ । उसले विश्वमा प्रभाव जमाउन थाल्छ । हामी संसारलाई के देखाउन खोजिरहेका छौं ? हाम्रो चलचित्र किन यति लामो समयसम्म यस्तै जस्तो भयो ? उसकै जस्तो भयो ? त्यस्तै जस्तो भयो ? उत्तर सजिलो छ, नेपाली चलचित्र मेकरहरु बढी उतै, त्यतै भर परे । उतैको, त्यतैको सिको गरे । उतै, त्यतै अर्थात विदेशी चलचित्र ।
दशकौंसम्म नेपाली चलचित्र जगतले नायकको मुस्कानमा कथाको सार खोज्यो, नायिकाको हिँडाइमा चलचित्रको दिशा । तर, समयको गतिले चलचित्र बुझ्ने दृष्टिकोणलाई बदल्दै लगेको छ । अब चलचित्र केवल एउटा अनुहारको आराधना मात्र होइन, कथा र सन्देशको संग्राम बनेको छ ।
संसार सधैं मौलिकताको भोको हुन्छ । उसले साँचो कुरा खोज्छ । नक्कली सौन्दर्य होइन, साँचो भावना, बनावटी कथा होइन, आफ्नै माटोबाट उम्रिएको जीवन खोज्छ । पछिल्लो समय दर्शक कुनै हिरोको शैली हेर्न हल आउन छोडेका छन्, उनीहरु आफैंलाई पर्दामा खोज्न आउँछन् । उसले चलचित्रमा केवल अभिनय होइन होइन, आफ्नो सपना, भोगाइ, संघर्ष र सफलता/असफलता देख्न चाहन्छ । यसैले अब चलचित्रमा स्टारको परिभाषा बदल्न जरुरी छ । त्यो स्टार अब कुनै कलाकार मात्र होइन, स्टार त चलचित्रको कथा, प्रस्तुति अनि मेकर बन्नु पर्छ ।
सत्य यही हो अचेल नेपाली चलचित्रका दर्शकहरुले स्टार भनिएका कलाकार होइन कथा अनि प्रस्तुतिमा दम खोज्न थालेका छन् । कुनै बेला राजेश हमालको टाउको पोष्टरमा राखेकै भरमा चलचित्रहरु बिक्थे । तर, समय फेरियो यतिबेला उनी पुरा–पुरा खटिएर प्रचार गरेको चलचित्र पनि बक्स अफिसमा असफल भयो । सामाजिक सञ्जाल भरि महानायकको स्टारडम छताछुल्ल देखिए पनि हलमा दर्शक आएनन् । महानायकको चलचित्र मात्र होइन, यहाँ ५० लाख आसपास पारिश्रमिक लिने र पछिल्लो पुस्ताको स्टार हुँ भन्ने भ्रम पालेका सबै कलाकार हालत लगभग उस्तै छ । महानायक मात्र होइन स्व–घोषित मेघास्टार, सुपरस्टार, रियल हिरो, चक्लेटी हिरो सबैको हालत उस्तै छ । अपबादलाई छोडेर हेर्दा उनीहरुका चलचित्रले लगानी बराबरको ग्रस–कलेक्सन गर्न धौ–धौ परेका बक्स अफिस रिपोर्टहरु छताछुल्लै छन् ।
गत वर्षको बक्स अफिस रिपोर्टलाई केलाउँदा स्टार कलाकार भएका चलचित्र भन्दा बलियो कथा भएका चलचित्रले सफलता पाए । बलियो कथामा कलाकारको शशक्त लाइनअप र त्यत्तिकै शशक्त मेकिङ हुन सकेका त्यसले सुनमा सुगन्ध छर्ने नै भयो । तर, कलाकारको लाइनअप मात्र बलियो हुँदैमा चलचित्र उत्कृष्ट बन्छ भन्नु केवल भ्रम मात्र हो ।
ध्यान दिनुपर्छ – चलचित्र भनेको कथा मात्र होइन । चलचित्र भनेको कथा, अभिनय, प्रविधि, संगीत, सम्पादन, क्यामेरा मुभमेण्ट अनि निर्देशकको दृष्टिकोण र दृश्य संरचना लगायतको समिश्रण हो । कथा मात्र राम्रो हुनु उत्कृष्ट चलचित्रका लागि पर्याप्त छैन, त्यो कथालाई जीवन्त बनाउने कला निर्देशकमा आवश्यक छ । त्यो कला भनेको चलचित्र प्रतिको निर्देशकको दृष्टिकोण, अभिनय, प्रकाश, ध्वनि, रंग र गतिको उत्कृष्टता हो । यदि कथा पुस्तक हो भने, चलचित्र त्यो पुस्तकलाई स्पन्दन दिने जीवन हो । त्यसैले, एउटा चलचित्र सफल बन्न कथासँगै उसको प्रस्तुति पनि अब्बल हुनुपर्छ ।
चलचित्रमा रंग, प्रकाश, ध्वनि र दृष्य संरचना सबैले कथा बोल्न जान्नुपर्छ । जहाँ चलचित्र केवल क्यानभास होइन, अनुभूतिको अन्तरक्रिया हुनुपर्छ । निर्देशकले पर्दामा मात्र होइन, दर्शकको मनमा कम्पन गराउन सक्नुपर्छ । र त्यो कम्पन एउटा स्टारको एक्सप्रेसनले होइन, दृश्यको सजीवताको कारणले हुन्छ । कथाको आत्मा झल्काउन आवश्यक प्रविधीको उपयोग गर्न सक्नु पर्छ । सिङ्गो चलचित्रको आत्मा कथा हो, निर्देशकले आफ्नो दृष्टिकोण मार्फत प्राविधिक संयोजन गर्दै त्यो आत्मालाई शरिर दिन सक्नुपर्छ ।
हिजोका दिनमा, हिरोको इन्ट्रीमा होस् वा उसले बोल्ने कुनै संवादमा हल गुञ्जिने गरि ताली पिटिन्थ्यो । आज, त्यो संवादले अर्थ नदिएसम्म त्यो ताली उठ्दैन् । किनकि दर्शक परिपक्व भएका छन् । प्रविधीले फड्को मारे सँगै दर्शक पनि चलचित्रको भाषा बुझ्न थालिसकेका छन् । दर्शकलाई थाहा छ – चलचित्रले केवल मनोरञ्जन मात्र हैन, संवेदनाको चित्रण पनि गर्नुपर्छ ।
नेपाली चलचित्रले यतिबेला पर्दामा स्टार कलाकार मात्र खोजेको छैन, कथ्य संरचना र दृष्य भाषामा थप नयाँ दृष्टिकोण खोजेको छ । र, यो दृष्टिकोण त्यही मेकरबाट आउने छ, जसले आफू भएर आफ्नो माटोको कथा, इमान्दारी पूर्वक बोल्न सक्ने आँट गर्छ । वास्तवमा भन्ने हो भने नेपाली चलचित्रले यतिबेला आफ्नै आत्मकथा लेख्नका लागि स्पष्ट दृष्टिकोण सहितको मेकर खोजिरहेको छ । आफ्नै परिभाषा तय गर्न दृष्य भाषामा स्पष्ट मौलिक संरचना खोजिरहेको छ । किनकी अहिले पनि केहीले डकुमेण्ट्री बनाएर नेपाली चलचित्र भन्दै विश्व बजार चाहार्ने कोसिस गरिरहेका छन्, केहीले उही पुरानै मुम्बईया फर्मूलामा चलचित्र बनाएका छन् त केहीले मझधारमा बसेर काम गरिरहेका छन् । यस्ता मेकरमा मौलिक संरचनामा काम गर्ने कोसिस देखिन्छ, तर त्यो अ–प्रयाप्त छ ।
अहिले नेपाली चलचित्र त्यो मोडमा छ, जहाँ नेपाली चलचित्र केवल प्रतिस्पर्धाको दौडमा मात्र होइन, आत्मान्वेषणको यात्रामा लम्किनु पर्ने छ । चलचित्र केवल सफल हुन होइन, साँचो हुनुपर्छ । अनि त्यो साँचोपन कथामा हुन्छ, प्रस्तुतीकरणमा झल्किनु पर्छ, भावना र परिवेशमा अनुभूत हुनु पर्छ ।
मौलिकता भन्नासाथ धेरैले शहरको भिडभाडबाट अलि पर गाऊको सेटअप सम्झिएको पाइन्छ । तर, मौलिकता त्यसको बाह्य रुप होइन, कथा भित्रको आत्मा हो । एउटी सहरकी युवतीको काल्पनीक कथा पनि मौलिक हुन सक्छ, यदि त्यो कथामा जीवन भेटिन्छ भने । दर्शकले दृश्यको सौन्दर्यमा पनि भावना खोज्दछ । शहरको झिलिमिलि बिच रोएकी एउटी युवतीको आँखाबाट बगेको आँसु पर्दामा त्यत्तिकै प्रभावशाली हुनुपर्छ, जति प्रभावशाली खेतको आलीमा बसेर छोराको प्रतिक्षामा टोलाएका आमाका आँखाहरु हुन्छन् । त्यसैले, मौलिकताको नक्सा अब शहर र गाउँबीचको विभाजनमा होइन, प्रस्तुती र अनुभूतिमा देखिनु पर्छ ।
नेपाली चलचित्र अब त्यो दिशामा जानुपर्छ, जहाँ कथाले अनुहार छोपोस् । जब दर्शक हलमा पस्छ, उसले नायक हेर्ने होइन, कथा वा कुनै पात्रसँग यात्रा गर्न सकोस् । परिवेश फरक हुन् सक्छ तर, उसले गर्ने अनुभूति उस्तै होस्, उ पात्रमा आफुलाई पाउन् र त्यही पात्र बनेरै त्यही परिवेशमा अन्तरघुलित हुन सकोस् । जब चलचित्र समाप्त हुन्छ, उसले आफ्नो भित्री भावनामा एक पटक डुबुल्की मार्न सकोस् । यही क्षण चलचित्र सफल हुन्छ । यही क्षण चलचित्रले आफूलाई स्टार बनाउँछ ।
Latest Updates
New Releases (Ashad 27)
-
Yo Mann Ta Mero Nepali Ho
Director : Nar Pradhan (Mitra)
Casts : Wilson Bikram Rai, Buddhi Tamang, Bijay Baral, Roshan Shrestha, Ayusha Samal
Next Releases (Shrawn 24)
-
Mohar
Director : Om Prateek
Casts : Benisha Hamal, Paul Shah, Arjun Jung Shahi, Niti Shah, Mithila Sharma -
Cetaamol
Director : Raj Bahadur Sane
Casts : Saugat Malla, Benisha Hamal, Shree Krishna Niraula, Januka Bishwokarma, Lokendra Lekhak