‘परस्त्री’ प्रदर्शन, प्रिमियरमा उच्च प्रसंसा

२०८० आषाढ १४
‘परस्त्री’ प्रदर्शन, प्रिमियरमा उच्च प्रसंसा

आज बिहीबारबाट प्रदर्शनमा आएको चलचित्र ‘परस्त्री’को बुधबार साँझ कमलपोखरीस्थित बिग मुभिजमा भव्य प्रिमियर सम्पन्न भएको छ । प्रिमियरमा चलचित्रकर्मीदेखि रंग पत्रकारसम्मको बाक्लो उपस्थिति रहेको थियो । चलचित्र हेरेर निस्कँदै गर्दा सस्पेन्स थ्रिलर जनरामा निर्माण भएको ‘परस्त्री’लाई सबैले मन पराए ।

प्रिमियर शोमा चलचित्र हेर्ने चलचित्रकर्मी र रंग पत्रकारले कलाकारकको अभिनय देखि डेव्यु निर्देशक सुरज पाण्डे र दिपेन्द्र के खनालको लेखनको उच्च प्रशंसा गरेका थिए । चलचित्र हेर्न निर्देशक ज्ञानेन्द्र देउजा, दिवाकर भट्राई, अभिनेता खगेन्द्र लामिछाने, मुकुन भुषाल, निश्चल खड्का, कबिर खड्का, अभिनेत्री स्वस्तिमा खड्का, अन्जना बराईली लगायत पुगेका थिए ।

‘परस्त्री’ दीपेन्द्र र सुरजको गठबन्धनको बलियो उपहार भएको बुझाई उपस्थित चलचित्रकर्मी र पत्रकारको थियो । बुधबार आयोजित प्रिमियरमा विशेष गरि निर्देशक सुरज पाण्डेको कामको सबैले मुक्तकण्ठले प्रशंसा गरे । आमाको चाहना पुरा गर्न चलचित्र ‘लभ लभ लभ’मा नायकको रुपमा काम गरे पनि सुरजको सपना भने निर्देशक बन्ने थियो । उनले, चलचित्र ‘परस्त्री’बाट निर्देशनमा बलियो संभावना देखाएका छन् ।

सस्पेन्स थ्रीलर कथामा निर्माण भएको चलचित्रलाई सुरजले २ घण्टाको कसिलो फ्रेम भित्र बाँधेका छन् । यसैले, चलचित्रको कथावस्तु र प्रस्तुतिले २ घन्टा दर्शकलाई आँखा झिमिक्क पार्न पनि पनि नदिने निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले बताए । चलचित्रबाट सुरजले सस्पेन्स थ्रीलर कथामा कसरी काम गर्नुपर्छ भन्ने पनि गतिलो उदाहरण रहेको बुझाई उनको छ ।

श्रीमान् श्रीमतीको जीवनमा आउने उतारचढाव र गलत केटासँग बिहे गर्दा युवतीले भोग्ने पिडाको कथामा चलचित्र निर्माण भएको छ । चलचित्रका मुख्य ३ कलाकारहरू कोशिश क्षेत्री, गौरव विष्ट र शिल्पा मास्केको कामका प्रशंसा भइरहेको छ । उनीहरूले चलचित्रमा गरेको अभिनयको उच्च प्रशंसा गर्नै पर्ने बुझाई चलचित्रकर्मीको थियो । कलाकारको उत्कृष्ट कामका कारण पनि चलचित्र उत्कृष्ट बनेको विश्वास उपस्थीत पाहुनाको छ ।

चलचित्रको प्रिमियरमा पुगेकी अभिनेत्री स्वस्तिमा खड्काले निर्देशक सुरज र कलाकारहरूको कामको खुलेरै तारिफ गरिन् । उनले भनिन्, सुरजले आफुलाई लभ लभ लभमा आफुलाई एउटा राम्रो कलाकारको रुपमा चिनाएको थियो । आफैले स्क्रिन सेयर गरेको कलाकारले यस्तो राम्रो चलचित्र निर्देशन गरेकोमा आफुलाई गर्व लगेको बताइन् । आफुले चलचित्र हेरेपछि निर्देशनमा सुरजको भविष्य उज्वल देखेको भन्दै प्रशंसा गरिन् ।

सुरज पाण्डेको डेव्यु निर्देशन रहेको चलचित्रमा कोशिस, शिल्पा र गौरवका अलवा अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी र अर्पित न्यौपानेको अभिनय रहेको छ । चलचित्र निर्माणमा शर्मिला पाण्डे र दीपेन्द्र के खनालले निर्माणमा सहकार्य गरेका छन् ।