Mansara

४२ लाख माटोमा मिलेपनि चलचित्र ‘म’ पुनः निर्माण हुँदै

३५ दिन लगाएर गरिएको ६० प्रतिशत छायाँकन काम नलाग्ने

२०७८ मंसिर २७
४२ लाख माटोमा मिलेपनि चलचित्र ‘म’ पुनः निर्माण हुँदै

यसअघि ६० प्रतिशत छायाँकन गरि रोकिएको चलचित्र ‘म’ पुनः निर्माण गरिने भएको छ । निर्देशक र मुख्य भुमिकामा केही कलाकार परिवर्तन गर्दै कान्तिपुर फिल्म एकेडेमिले सोमबार दोस्रो पटक चलचित्रको शुभमुर्हत गरेको छ ।

यसअघि २०७६ साल साउन २० गते राजधानीमा एक कार्यक्रमको आयोजना गरि चलचित्रको औपचारिक घोषणा गरिएको थियो । सो समय भाद्र पहिलो साता बाट चलचित्रको छायाँकन गरिने जनाइएको थियो । तत्कालिन समयमा कान्तिपुर फिल्म एकेडेमीकै बिद्यार्थी रहेका परिच्छेद सेनको निर्देशनमा चलचित्रको छायाँकन पनि भएको थियो । ३५ दिन छायाँकन गर्दा करिब ६० प्रतिशत छायाँकन सकियो । तर, दशैका कारण चलचित्रको छायाँकन रोकियो । त्यतिबेला सम्म करिब ४२ लाख रुपैयाँ खर्च भइसकेको कान्तिपुरका सिइओ प्रकाश पुरी बताउँछन् । यसरी रोकिएको चलचित्रको पुनः छायाँकन भने हुन सकेन । ह्याम्स अस्पताल, मुत्तिनाथ बिकास बैंक, गोदावारीको एक घर लगायतका स्थानमा चलचित्रको छायाँकन गरिएको थियो । भाडामा लिएर छायाँकन गरिएको उक्त लोकेशनको लुक्स तथा पुर्वाधार नै केही समयमा परिवर्तन हुँदा चलचित्रको छायाँकन अघि बढाउन नसकिएको परिच्छेद र प्रकाश दुबैको भनाई छ । लोकेशनमा आएको परिवर्तनका कारण प्रस्तुतिमा कन्टिन्यूटि नदेखिने भएपछि चलचित्रको छायाँकन रोकियो । छायाँकन रोकिएको झण्डै ५ महिना पछि कोरोना संक्रमणका कारण नेपालमा लकडाउन भयो । निर्माण पक्षले लकडाउनका कारण चलचित्रको छायाँकन रोकिएको बहाना बनाउन थाल्यो । केही समयअघि टिभी फिल्मीको कार्यक्रम फिल्मी बहसमा पनि प्रकाशनले कोरोनाकै कारण आफ्नो चलचित्र रोकिएको बताएका थिए ।

त्यसो त चलचित्रको घोषणा गर्दै गर्दा केही कलाकार बाहेक आफ्नो एकेडेमीका बिद्यार्थीहरु कै संलग्नतामा चलचित्र निर्माण गर्ने बताइएको थियो । पहिलो चरणमा सोही अनुरुप काम पनि भयो । तर, यतिबेला भने बिद्यार्थीको काँधबाट सो जिम्मेबारी एकेडेमिक निर्देशकले लिएका छन् । अर्थात बिगतमा परिच्छेदको निर्देशनमा छायाँकन भएको चलचित्रको निर्देशनको जिम्मा अब सोही एकेडेमिका एकेडेमिक डिरेक्टर सुर्वण थापाले लिएका छन् । चलचित्रको लेखन एकेडेमिकै सिइओ प्रकाश पुरीको रहेको छ ।

तत्कालिन समयमा चलचित्रको घोषणा गर्दा परिच्छेदको डेब्यु निर्देशकिय फिचर फिल्म हुने बताइएको थियो । तर, यो चलचित्रको छायाँकन रोकिएपछि कोरोना कहरकै बिच उनले ‘प्रेमगञ्ज’ नामको चलचित्र निर्देशन गरे । यतिबेला उक्त चलचित्रको पोष्टप्रोडक्सनको काम भइरहेको छ । आखिर किन निर्देशक परिवर्तन गरियो त ? परिच्छेदले छोडे वा परिच्छेदलाई हटाइयो ? प्रकाश र परिच्छेद दुबैको एउटै कुरा छ – सहमतिमै निर्देशक परिवर्तन गरिएको हो । त्यसो त प्रकाशले शुभसाइतमा परिच्छेद पनि उपस्थित भइ शुभकामना दिएको बताए पनि परिच्छेदले निम्ता आएको तर आफु ‘प्रेमगञ्ज’को सम्पादनमा व्यस्त भएकोले उपस्थित हुन नसकेको जानकारि दिए । जे होस् परिच्छेद हाल ‘प्रेमगञ्ज’को काममा व्यस्त भएका कारण समय दिन नसक्ने भएपछि निर्देशकका रुपमा सुवर्ण भित्रिएको प्रकाशको भनाई छ ।

त्यसो त अब बिगतमा गरिएको छायाँकन सम्पूर्ण रुपले काम नलाग्ने भएको छ । कलाकार तथा प्राबिधिकको ३५ दिनको काम अनि निर्माताको ४२ लाख माटोमै मिलेको छ । निर्देशक र केही मुख्य कलाकारहरु परिवर्तन भएर मात्र होइन यसको कथा नै परिवर्तन भएकोले उक्त फुटेज काम नलाग्ने भएको बुझिएको छ । यद्यपी निर्माण पक्ष भने कथामा कुनै परिवर्तन नभएको जिकिर गर्छ । निर्माण पक्षले जे भनेपनि उक्त समय सुसाइट एटेम्प्ट गरेको एक व्यक्तिका बारेमा अर्को पात्रले इन्भेष्टिकेशन गर्ने कथामा चलचित्र निर्माण हुन लागेको जनाइएको थियो । यतिबेलाको कथा भने धनाढ्य परिवारका बाबु छोरा बिचको टसलको कथा भएको बताइएको छ । तर, प्रकाश भने कथा परिवर्तन नभएको बताउँछन् । उनले विगतमा मिडियामा आएको कथाको सार गलत भएको भन्दै अहिले जुन कथामा चलचित्र बनाउन लागिएको हो सोही कथामा नै पहिले चलचित्र बनाएको दाबी गर्छन । यद्यपी तत्कालिन निर्देशक परिच्छेद भने आफुले काम गरेको कथा सुसाइड एटेम्प्ट गरेको एक पात्रकै वरिपरिको भएको जनाउँछन् । प्रकाशले कोरोना पछि चलचित्रको टेष्ट नै फरक भएकोले पुनः निर्माण गर्न लागिएको भन्दै घुमाउरो शैलीमा चलचित्रमा केही परिवर्तन भएको संकेत गर्छन । निर्देशक सुवर्ण थापा भने चलचित्रले आफ्नो अस्तित्वको खोजीमा रहेका पात्रहरुको कथा भन्ने जनाउँछन् ।

त्यसो त पहिले छायाँकन हुँदा चलचित्रमा रेवती क्षेत्री, कुशुम गुरुङ, रेविका गरुङ, विजय लामा, सरिता लामिछाने, अनिल कँडेल, संजोग रसाइलीलगायतका कलाकारहरुको अभिनय रहेको थियो । जसमध्ये विजय र सरिता बाहेक अन्य कलाकारहरु कान्तिपुर फिल्म एकेडेमीमा अध्ययन गरेका तथा प्रशिक्षण लिएका विद्यार्थीहरु हुन । चलचित्रमा तेन्जिन पाल्देनको छायाँकन र जितेन लेप्चाको संगीत रहेको थियो । अब भने चलचित्रमा कान्तिपुरका बिद्यार्थी कम अन्य कलाकार ज्यादा देखिने भएका छन् । सोमबार दिइएको जानकारी अनुसार चलचित्रमा सरोज खनाल, सरिता लामिछाने, निशा अधिकारी, सविन श्रेष्ठ, निराजन प्रधान, रुविना थापा, प्रमोद अग्रहरी, संजोग रसाइली र पुनम श्रेष्ठलगायतका कलाकारहरुको अभिनय रहनेछ ।

त्यस्तै, बनिष शाहको सम्पादन, तेन्जिन पाल्देनको छायाँकन रहनेछ । कान्तिपुर फिल्म एकेडेमिले निर्माण गर्ने चलचित्रमा पदम पुरी सह निर्माता र विमला हुँमागाई निर्माता रहेका छन् । आगामी पुष ११ गतेबाट चलचित्रको छायाँकन आरम्भ गरिने जनाइएको छ ।
 

परिच्छेद र कान्तिपुर माथी प्रश्न ?

परिच्छेद छोटा चलचित्र निर्माणमा सफल मानिएका चलचित्रकर्मी हुन् । उनले निर्देशन गरेका छोटा चलचित्रले बिभिन्न फेस्टिवलहरुमा अवार्ड समेत जितेका छन् । तर, कारण जे भएपनि पहिलो पटक आफ्नो काधमा आएको फिचर फिल्मको क्याप्टेनसिप भने उनले निभाउन सकेनन् । चलचित्र पुरा नहुनुमा धेरै कारण होलान तर, नैतिक रुपमा टिम क्याप्टेनले त्यसको जिम्मेबारी लिनै पर्छ । यसअर्थ उनले आफुलाई प्रमाणित नगरेसम्म उनीमाथी यस्ता प्रश्न आउने नै छन् । अझ यो भन्दा पनि गहन प्रश्न त के भने चलचित्र क्षेत्रका लागि भावि उत्तराधिकारी अर्थात निर्देशक, लेखक, कलाकार, प्राबिधिक लगायत उत्पादन गर्ने थलोका रुपमा कान्तिपुर फिल्म एकेडेमीको स्थापना भएको हो । बिगतमा हाम्रो बिद्यार्थी भनेर गर्व गर्ने एकेडेमीले किन परिच्छेदकै नेतृत्वमा उक्त चलचित्र पुरा गर्न सकेन । यसबाट कान्तिपुरले कस्ता निर्देशक उत्पादन गर्छ ? उसले उत्पादन गर्ने निर्देशक माथी बिश्वास गर्ने कि नगर्ने ? चलचित्र निर्देशकको अभिव्यक्तीको माध्यम हो, यसअर्थ निर्देशककै विश्वासमा लाखौं रुपैयाँ लगानी हुन्छ । तर, कान्तिपुरले उत्पादन गरेका निर्देशकले त चलचित्र पुरा गर्न सकेनन्, लाखौं लगानी माटोमा मिल्यो, यस्ता सत्यहरुले कान्तिपुरको एकेडेमिक शैली प्रति पनि प्रश्नहरु उठिरहने छन् । जव सम्म सिइओ प्रकाश पुरी र एकेडेमिक निर्देशक सुवर्ण थापाले व्यवहारतः यस्ता प्रश्नको उत्तर दिदैनन् ।

Mahajatra