चलचित्र ‘लेबर’ निर्माणको घोषणा

२०८१ बैशाख २०
चलचित्र ‘लेबर’ निर्माणको घोषणा

चलचित्र ‘लेबर’ निर्माणको घोषणा गरिएको छ । पुर्णेन्दु झाको निर्देशन रहने चलचित्रको अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर निर्माण घोषणा गरिएको हो । चलचित्रले विदेशिन बाध्य नेपाली र विदेशिन वाध्य बनाइने नेपालीको कथालाई प्रस्तुत गर्ने जानकारी दिइएको हो । राजधानीमा आयोजित घोषणा तथा टिजर सार्वजनिक कार्यक्रममा निर्देशक झाले चलचित्रले लेबर र सरकार बीचको कथा भन्ने बताए । ‘हाम्रो देशबाट लेबरको काममा विदेशिन सङख्या बढी छ । उनीहरूको आ-आफ्नै कथा छ । ती कथालाई पर्दामार्फत धेरै व्यक्तिसम्म पुर्याउनु पर्छ भन्ने लागेर हामीले चलचित्र निर्माण गर्दैछौं’, निर्देशक झाले भने ।

पुर्णेन्दु प्रोडक्सन्स प्रालि र अरिपन फिल्म्स प्राइभेट लिमिटेडको संयुक्त व्यानरमा निर्माण हुने चलचित्र मैथली भाषामा निर्माण हुँदैछ । यद्यपि यो चलचित्र नेपाली र भोजपुरीमा पनि प्रदर्शन गरिनेछ । ‘हामीले बाहिर त बजार बनायौं तर नेपालमै मधेशमा स्वदेशी चलचित्रलाई दर्शकले साथ दिएका छैनन् । यही कारण पनि विविध भाषामा तयार गरेर यसलाई प्रदर्शन गर्ने तयारी गरिरहेका छौँ’, उनले भने ।

सतेन्द्र झा, संजय साह, शेरू खान, शिखा ठाकुर, नारन अधिकारी, रमेश रञ्जन, धिरेन्द्र प्रेमर्षी र लक्ष्मी ठाकुर सह(निर्माता रहेको चलचित्रलाई निर्देशक झासँगै नरेश मिश्राले लेखेका छन् । उत्पल झा, राम भजन कामत, राजेश सक्सेना, राकेश यादव, जयनाथ अधिकारीलगायतका कलाकार तय भएको र अन्य कलाकार छिटै घोषणा गरिने निर्देशक झाले बताए ।

चलचित्रमा प्रवेश मल्लिकको संगीत तथा पाश्र्वसंगीत, हिमाल केसीको द्वन्द्व निर्देशन, आलोक शुक्लको छायाङ्कन, निमेष श्रेष्ठको सम्पादन, राजेन्द्र मोक्तानको रंग संयोजन, मल्लाज अडियो वर्कसको साउण्ड डिजाइन तथा मिक्सिङ, अक्की थेक्पाको कला निर्देशन रहने छ ।

LPT
Mansara