Modibeni
Numbari Sun

परीक्षा भन्छिन्, ‘पुजार सार्की’ भोक लागेको बेला मिठो खानेकुरा खान पाए जस्तै’

२०८१ जेष्ठ ३
परीक्षा भन्छिन्, ‘पुजार सार्की’ भोक लागेको बेला मिठो खानेकुरा खान पाए जस्तै’

अभिनेत्री परीक्षा लिम्बु चलचित्र ‘जारी’ र ‘छक्का पञ्जा’मा सहायक भूमिकामा देखिइन् । यी अभिनेत्री आगामी जेठ १० गतेबाट रिलिज हुने प्रतीक्षित चलचित्र ‘पुजार सार्की’मा ‘गौमाया’ पात्रमार्फत पूर्ण भूमिकामा देखिँदै छिन् । यो चलचित्रमा नेपालका तीन सुपरस्टार कलाकारहरू आर्न सिग्देल, प्रदीप खड्का र पल शाहले एकसाथ अभिनय गरेका छन्, जसलाई विकास सुबेदीले लेखेका छन् भने दिनेश राउतले निर्देशन गरेका छन् । नेपाल र विदेशमा एकसाथ रिलिज हुने यस चलचित्रमा परीक्षासँगै चलचित्रमा अभिनेत्री अञ्जना बराइलीको पनि अभिनय छ ।

यो चलचित्रमा अभिनय गरेसँगै परीक्षा फिल्ममेकरको नजरमा परेकी छन् । ट्रेलर र गीतमा देखिएको उनको अभिनयबाट दर्शकमाझ पनि उनी परिचित भइसकेकी छन् । परीक्षाले यस चलचित्रमा अडिसन मार्फत अभिनय सुरक्षित गरेकी थिइन् । उनले अडिसनको लागि ६ वटा भिडियो पठाएकी थिइन् । ‘उहाँहरूले मंगोलियन लुक्सकी युवती खोजिरहनुभएको रहेछ । मलाई चिन्नु हुनेले चलचित्रको अडिसन खुलेकोले प्रयास गर्न भन्नुभयो । त्यसपछि मैले सुरुमा एउटा भिडियो पठाएँ । म फिल्ममा अनुबन्धित हुनुअघिसम्म ६ वटा भिडियो पठाएँ’, उनले भनिन् ।

अभिनयको भिडियो पठाइरहँदा उनलाई कास्की जिल्लाको कास्कीकोट क्षेत्रको स्थानीय लवज बोल्न समस्या भयो । लवजकै कारण परीक्षालाई यस चलचित्रमा काम गर्ने या नगर्ने भन्ने अन्योल सिर्जना भयो । यसको लागि चलचित्रको टिमले उनलाई भाषा ‘प्राक्टिस’ गरायो । यो चलचित्रको लागि जरुरी हुने भाषा र चरित्रको सबै सम्भावना देखेपछि उनी ‘पुजार सार्की’मा फाइनल भइन् ।

परीक्षा यस चलचित्रमा ‘मैतबहादुर’को चरित्रमा देखिएका अभिनेता प्रदीप खड्काको जोडी ‘गौमाया मगर’को भूमिकामा देखिँदै छिन् । प्रदीपसँग उनको यो पहिलो सहकार्य हो । ‘मैले प्रदीपजीबाट धेरै कुरा सिकेँ । उहाँ कसरी काम गर्नुहुँदो रहेछ र कसरी क्यारेक्टरमा बस्नुहुँदो रहेछ भन्ने थाहा पाएँ । व्यक्तिगत रूपमा उहाँ सहयोगी हुनुहुँदो रहेछ’, परीक्षाले भनिन् ।

चलचित्रमा प्रदीप खड्का, आर्यन सिग्देल र पल शाह प्रमुख भूमिकामा छन् । परीक्षालाई चलचित्रका तीन स्टारसँग सहकार्य गरिरहँदा के होला भन्ने चासो रहेछ । ‘उहाँहरू कसरी काम गर्नुहुन्छ अथवा मलाई कसरी ‘ट्रिट’ गर्नुहुन्छ होला भन्ने कौतुहलता र डर थियो । तर उहाँहरूलाई भेटिसकेपछि त्यो सबै हरायो । उहाँहरूसँग त केही सिक्न पाउँछु भन्ने अनुभव भयो’, उनले भनिन् ।

‘पुजार सार्की’ चलचित्रमा प्रदीपसँग परीक्षाको अन्तरजातीय प्रेम छ । चलचित्रमा गरेको अभिनयबाट प्राप्त अनुभवमा अन्तरजातीय प्रेम निकै गाह्रो हुने महसुस परीक्षाले गरेकी छन् ।‘चलचित्रमा म मगर समुदायको प्रतिनिधित्व गर्छु । हाम्रो समाजले अझै पनि जात भनेर हेरिरहेको छ । त्यो हेराइले उहाँहरूलाई मात्र नभएर उहाँहरूसँग जोडिएका सबै मान्छेहरूलाई गाह्रो हुन्छ । प्रेम गर्ने जोडीलाई त यो मामलामा झनै गाह्रो हुँदो रहेछ’, परीक्षा भन्छिन्, ‘मेरो हकमा त्यो गाह्रो चलचित्रमा क्यारेक्टर भएर महसुस गर्न पाएँ । जुन रियल लाइफमा महसुस गर्न पाएको छैन । त्यो अनुभवका लागि म भाग्यशाली पनि छु ।’

परीक्षा पूर्वकी, भाषा पश्चिमको । परीक्षाले यही चरित्रका लागि अध्ययन समेत गर्नुपर्‍यो, जुन अध्ययन उनका लागि रमाइलो अनुभव बनेको छ । ‘आफूबाट अर्को मान्छे हुन पाउँदा इन्जोय गरेँ । किनभने ‘रियल’मा म जस्तो छु त्यो भन्दा फरक ‘रिल’मा छु । मलाई उताको भाषा र जीवनशैलीले अलि गाह्रो अनुभव भयो । म पूर्वको मान्छे, पश्चिममा कसरी भिज्ने होला भन्ने चुनौती थियो,’ परीक्षाले बताइन् ।

अभिनयको अनुभवलाई उनी ‘भोक’सँग तुलना गर्छिन् । ‘भोक लागेको बेला जे खाए पनि मिठो हुन्छ । मेरा लागि ‘जारी’ र ‘छक्का पञ्जा’ त्यस्तै भयो । तर ‘पुजार सार्की’को हकमा भने भोक लागेको बेला मिठो खाने कुरा खान पाए जस्तै भयो,’ परीक्षा भन्छिन्, ‘जारी र छक्का पञ्जामा धेरै कुरा सिक्न पाएँ । पुजार सार्कीमा भने ती सिकेका कुरा लागु गर्ने कोसिस गरेकी छु । तीन वटै फिल्मको हकमा राम्रो ब्यानर, राम्रो ब्रान्ड, राम्रो टिमसँग काम गर्ने मौका पाएँ ।’

राम्रो चलचित्र बन्न कलाकार र निर्देशकको ट्युनिङ मिल्नुपर्छ । परीक्षाको बुझाई पनि त्यही हो । परीक्षाको अनुभवमा निर्देशकसँग कलाकार केही डराउनु नै पर्छ । ‘त्यो डर भनेको निर्देशकप्रतिको सम्मान हो । मैले गरेको काम ठिक वा बेठिक भनेर छुट्टाउने निर्देशकले नै हो । आफूले निभाएको चरित्रले न्याय दिन सक्यो सकेन वा निर्देशकको भिजन अनुसार चल्न सकियो या सकिएन भनेर केही डराउनु पनि पर्छ’, परीक्षा भन्छिन्, ‘निर्देशक दिनेश दाइको हकमा मलाई त्यही नै भयो । दिनेश दाइले यसअघि राम्रा चलचित्र बनाउनुभएको छ । यो चलचित्रको कन्टेन्ट र क्यारेक्टर पनि राम्रो भएकाले चलचित्र राम्रो बनेको छ भन्नेमा म ढुक्क छु ।’

परीक्षालाई ‘पुजार सार्की’बाट ठुलो आस छ । उनको बुझाइमा उनको उमेरका धेरै दर्शकले ‘पुजार सार्की’ हेर्नुपर्छ । ‘किनभने पछि गएर समाज र देशको भविष्य बनाउने हामीले नै हो । अहिलेका मानिसलाई जातीय विभेद गर्नु भनेर सम्झाउँदा अलिक समय लाग्छ, तर सानैदेखि नै जातीय विभेद गर्नुहुँदैन भनेर सिकाउन सकियो भने त्यो भविष्यका लागि फलदायी हुनसक्छ । चलचित्रले २०४६ मा हाम्रो समाज यस्तो थियो, अब यस्तो हुनुहुँदैन भन्ने सन्देश दिन्छ । कुनै बेलाको सती प्रथा हट्यो । त्यस कारण अब जातीय विभेद पनि हट्नुपर्छ भन्ने हाम्रो भनाई हो’, उनी भन्छिन् ।

Gharjwai