Modibeni
Numbari Sun

‘फर्की फर्की’मा म्याडीलाई सम्हाल्ने रवि

२०८१ जेष्ठ ४
‘फर्की फर्की’मा म्याडीलाई सम्हाल्ने रवि

पेशागत रुपमा रवि काफ्ले इञ्जिनियर हुन् । उनी अब भने कलाकारका रुपमा दर्शकमाझ आउँदैछन् । यही जेठ १० गतेबाट रिलिज हुने चलचित्र ‘फर्की फर्की’मा उनी अभिनेता अनमोल केसीको साथी सुबास’ को भूमिकामा देखिँदैछन् ।

आफ्नो साथी दिनेश सुवेदीमार्फत निर्माता रोहित अधिकारी र निर्देशक सुयोग गुरुङको सम्पर्कमा आएका रवीले अडिसन दिएपछि ‘फर्की फर्की’का लागि छानिएका हुन् । ‘म पेशाले इञ्जिनियर भए पनि सन् २०१७ देखि हामीले विज्ञापन कम्पनी सुरु गरेका थियौं । त्यो कम्पनीमा म क्रिएटिभ डिपार्टमा काम गर्थे । बाल्यकालदेखि नै चलचित्रप्रति रुची थियो । कम्पनीमार्फत नै बनाइएका म्युजिक भिडियोमा पनि अभिनय गरें’, रवी भन्छन्, ‘विज्ञापन कम्पनीमा जोडिएपछि अभिनयदेखि अन्य प्राविधिक विषयमा ज्ञान लिएँ । जसले गर्दा चलचित्रमा काम गर्न सजिलो भयो ।’

रवीका अनुसार चलचित्रमा उनको चरित्र मिलनसार, राम्रो काम मात्र गर्ने, कसैलाई गलत नगर्ने र कोहीले गलत गर्न खोज्छ भने उसलाई सम्झाउने किसिमको छ । ‘चलचित्रमा म्याडी पात्र अर्थात अनमोललाई सम्हाल्ने चरित्र छ । अनमोलसँग स्क्रिन शेयर गर्न पाउँदा खुशी छु । चलचित्रमा अभिनय गर्ने इच्छा थियो । तर सुरुमै स्थापित नामसँग स्क्रिन शेयर गर्दा पाउँदा झन बढी खुशी छु’, उनी भन्छन् ।

अनमोलसँग अभिनय गरिरहँदा उनी केही नर्भस पनि भएका रहेनछन् । ‘म नयाँ मान्छेसँग गफ गर्न, आइडिया शेयर गर्न रुचाउँछु । अनमोल उद्योगमा ठूलो नाम हो । ऊसँग स्क्रिन शेयर गर्न पाउँदा नर्भस थिएँ । किनकी स्थापित नामसँग एउटा सम्मान हुन्छ । उसमा अनुभव हुन्छ । केही कुरा सिक्न पाउछु भन्ने हुन्छ’, रवी भन्छन्, ‘चलचित्रका चारै जना कलाकार सहयोगी भावना भएकाले एकअर्कालाई बुझ्ने, हाँसो ठट्टा गर्ने, रमाइलो गर्ने भएपछि सजिलो भयो । चलचित्रमा अनमोलको सपोर्टले पनि ममा भएको नर्भस हरायो । हामी चलचित्रको दृश्य सुटिङ अघि छलफल गथ्र्यौ ।’ उनले अनमोल अभिनित चलचित्र ‘कृ’, ‘जेरी’, ‘क्याप्टेन’, ‘ए मेरो हजुर ३’ हेरेका रहेछन् ।

चलचित्र रिलिज मिति नजिकिँदै गएपछि रवी उत्साहित र नर्भस छन् । ‘हाम्रो चलचित्र विश्वभरका दर्शकले एकसाथ हेर्दै हुनुहुन्छ । मेरो पात्रप्रति प्रतिक्रिया कस्तो होला भन्ने कौतुहलता छ । आफ्नो पनि इच्छाको क्षेत्र र यस्तो गर्न पाए हुन्थ्यो भन्ने सपना पुरा हुँदा चाहिँ मलाई एकदमै खुशी लागेको छ’, रवी भन्छन् ।

रवीको बुझाईमा ‘फर्की फर्की’ युवाहरुको कथा हो । मित्रतामा कतिपय कुराहरु अव्यक्त हुने भएकाले त्यो भावनालाई खोज्ने माध्यम नै यो चलचित्र रहेको रवीको भनाई छ । ‘चलचित्र हेर्न आउने दर्शकले मेरो क्यारेक्टर मात्र नभई हरेक क्यारेक्टर रिलेट गर्न सक्नुहुन्छ । किनकी उहाँहरुको जीवनमा साथी र परिवार हुन्छ । उहाँहरुसँग हाम्रो आ–आफ्नो सम्बन्ध हुन्छ । त्यो सम्बन्ध भित्रको उतारचढावहरु छन् । उतारचढावका बाबजुद पनि जीवन कसरी अगाडि बढ्छ भन्ने कुरा चलचित्रमा देखाइएको छ’, उनी भन्छन् ।

रोहित अधिकारीको निर्माण र सुयोग गुरुङको लेखन तथा निर्देशन रहेको चलचित्र ‘फर्की फर्की’मा अनमोल केसी, जसिता गुरुङ, निर्मल शर्मा, लोकेन्द्र लेखक, सलोन बस्नेत, रवि काफ्ले र समृद्धि अर्याललगायतको अभिनय छ ।

Gharjwai