Modibeni
Numbari Sun

‘पुजार सार्की’मा आर्यन: विगतभन्दा 'टफ' भूमिका, लुक्समा आफ्नै पिताको नक्कल

२०८१ जेष्ठ ४
‘पुजार सार्की’मा आर्यन: विगतभन्दा 'टफ' भूमिका, लुक्समा आफ्नै पिताको नक्कल

अभिनेता आर्यन सिग्देलको भनाई मान्ने हो भने, उनी नास्तिक पनि होइनन् र एकदम आस्तिक पनि होइनन् । उनी भगवान् बाहिर होइन आफ्नै मनमा छन् भन्ने कुरामा बढी विश्वास गर्छन् । यिनै आर्यन यही जेठ १० गतेबाट रिलिज हुने बहु प्रतीक्षित चलचित्र ‘पुजार सार्की’मा ब्राह्मण चरित्रमा देखिँदै छन् ।

आर्यन ब्राह्मण समुदायको र पिता पण्डित भएता पनि उनमा पूजा पाठको गुण केही थिएन । “म आउट अफ ट्र्याकको मान्छे हुँ । मेरो बुवा पण्डित हुनुहुन्छ । बुवा पण्डित भएता पनि म खासै टिका नलगाउने मान्छे परेँ । म मनमा भएको भगवान् देखाइरहनु पर्दैन भन्ने सोचमा विश्वास राख्छु”, आर्यन भन्छन् ।

‘पुजार सार्की’मा देखिने आर्यनको ब्राह्मण लुक उनकै पिताबाट प्रभावित छ । चलचित्रका निर्देशक दिनेश राउतले आर्यनका बुवाको तस्बिर देखेका थिए । चलचित्रका पात्रहरू ‘सेटिङ’ गर्ने क्रममा राउतलाई त्यो फोटो याद आयो । अनि आर्यनसँग सोही फोटो मागेर क्यारेक्टरमा काम गर्न थाले । "मलाई पुजारीको चरित्र निभाउन मेहनत गर्नुपर्‍यो तर, लुक्स बनाउन भने मेहनत गर्नुपरेन । निर्देशकले मेरो बुवाको पुरानो फोटो सम्झिएका रहेछन् । उनले त्यो फोटो मागे पछि मैले दिएँ । त्यो फोटो अनुसार मेरो लुक्स ट्राई गर्ने बित्तिकै फाइनल भयो । तर, क्यारेक्टरको गहिराइबारे सोच्दा भने अलिक गाह्रो भयो,” आर्यनले बताए ।आर्यनको लुक्स बाहिरिएपछि बुवा समेत खुसी भए । “निकै सुहाएको छ, मेरै कपी गरिछस् भन्नुभयो,” आर्यनले सम्झिए ।

यस चलचित्रमा आर्यनको अपोजिटमा अभिनेत्री अञ्जना बराइली छिन्  । अञ्जनाले दलित समुदायको प्रतिनिधित्व गर्ने चरित्र निभाएकी छन् । यसमा आर्यन पुजारी छन् । उनको प्रेम अञ्जनासँग हुन्छ । “यस चलचित्रको भूमिकामा मैले पूजापाठ गर्दागर्दै अञ्जनासँग अफेयर हुने हो । मेरो चरित्र आफूभित्रै द्वन्द्व गरेको, पीडा बोकेर हिँडेको किसिमको छ । त्यस कारण प्रेम गर्दा पनि म त्यति साह्रो खुल्न पाउँदिनँ र पूजा गर्दा पनि धेरै पूजा गर्न पाउँदिन”, आर्यनले कथाबारे बताए ।

आफ्नो चरित्र आर्यनका लागि चुनौतीपूर्ण लाग्दो रहेछ । “अहिले पनि मान्छेमा जातीयताको विषयमा शिक्षाको कमी छ । त्यो हामीले देखिरहेकै कुरा हो । कति घटना अहिले पनि घटिरहेका छन् । कति समाचारमा आए होलान्, समाचारमा नआएका कति घटना होलान् । त्यही परिस्थितिसँग जुधेर चलचित्र अगाडि बढेको छ । यसमा मेरो चरित्र निर्माण निकै चुनौतीपूर्ण थियो,” आर्यन भन्छन्  ।

चलचित्र करियरको सुरुवात देखि नै आर्यनलाई ‘लभरब्वाई’ अभिनेताको ट्याग लागेको थियो । उनले चाहेर या नचाहेर सो ट्याग बोकेर दुई दशक लामो समय दर्जनौँ चलचित्रमा काम गरे । करियरको मध्य बिन्दु तिर उनले ‘होमवर्क’ जस्तो अलग विषय र चरित्रमा काम गरेका थिए । तर, सो चलचित्रले भने उनको छवि बदल्न सकेन । उनले ‘पुजार सार्की’बाट आफ्नो छवि बदल्ने कोसिसमा छन् । यो चलचित्र ब्लकबस्टर हुनेमा कुनै शङ्का नमानेका उनले आगामी दिनमा फरक भूमिका गर्न पाउँदा खुसी हुने बताउँछन् । “हामीले यो धारको चलचित्र पनि गर्नुपर्छ र अर्को मूलधारको चलचित्र पनि गर्नुपर्छ भन्ने मेरो मान्यता हो । दुवैलाई सन्तुलन गरेर अगाडि लैजान सकियो भने उद्योगलाई पनि फाइदा हुन्छ । राम्रो स्क्रिप्ट आयो भने प्रेमकथाको चलचित्र पनि गर्छु । राम्रो तर फरक भूमिकाको स्क्रिप्ट आयो भने त्यसलाई बढी प्राथमिकता दिन्छु,” आर्यनको भनाई छ ।

यो चलचित्रले उनको करियरमा केही इँटा थप्नेमा उनी विश्वस्त छन् । चलचित्रकर्मीमा आर्यन केवल प्रेमकथाका मात्र चलचित्रमा काम गर्न रुचाउँछन् भनने मानसिकतालाई ‘पुजार सार्की’ले हटाउनेमा उनी ढुक्क देखिन्छन् । “मलाई फरक चरित्रमा प्रस्तुत गर्न हिचकिचाइरहनु भएका निर्माताहरुलाई यो चलचित्रले उहाँहरूको हिचकिचाहट मेटाइदिन्छ,” उनले दाबीका साथ भने ।

‘पुजार सार्की’को ट्रेलरप्रति आफ्ना फ्यानको चासो बढेकोमा आर्यन दङ्ग छन् । “सपिङमा जाँदा होस् अथवा कतै बाटोमा भेटिँदा फ्यानहरूले ‘पुजार सार्की’ र मेरो चरित्रप्रति चासो देखाउनुभएको छ । उहाँहरू उत्साहित भएको पाएको छु,” आर्यनले खुसी साटे । चलचित्र ‘पुजार सार्की’ किन हेर्ने भन्ने प्रश्नमा आर्यन प्रस्ट छन् । “यो चलचित्र दिनेश राउत, विकास सुवेदी, पल शाह, आर्यन सिग्देल र प्रदीप खड्काको विश्वासका लागि पनि हेर्ने हो । के विषय, कुन आइडियामा चलचित्र बनेछ, यी पाँच जना कसरी बाँधिन सके भन्ने चासो हुनेले अवश्य नै यो चलचित्र हेर्नुहुनेछ,” आर्यन भन्छन्, “चलचित्रले जुन विषय उठाएको छ, त्यो सबैले हेर्न जरुरी छ । ३५–४० वर्ष अगाडि हाम्रो समाजको अवस्थिति कस्तो थियो भन्ने पनि थाहा हुन्छ । इतिहास बुझ्न पनि ‘पुजार सार्की’ हेर्नुपर्छ ।”

आर्यनका लागि ‘होमवर्क’को चरित्र भन्दा ‘पुजार सार्की’को चरित्र अलिक ‘टफ’ लागेको रहेछ । “यसमा शारीरिक हाउभाउदेखि लिएर लुक्स, सँगसँगै कास्कीकोटको भाषाको सीमा पनि थियो । सबै चिजलाई ‘मर्ज’ गर्दा ‘पुजार सार्की’ अलिक टफ भयो,” उनले भने ।

Gharjwai