Mansara

लक्ष्मी बर्देवालाई प्रश्न – जातिय विषय चलचित्रमा देखाइएको जस्तो यर्थाथमा नहुँदो रहेछ हैन ?

२०७७ पौष ११
लक्ष्मी बर्देवालाई प्रश्न – जातिय विषय चलचित्रमा देखाइएको जस्तो यर्थाथमा नहुँदो रहेछ हैन ?

नेपाली चलचित्र भित्र जातियताको मुद्धालाई कसरी प्रस्तुत गरेको पाउनुहुन्छ ?

यो प्रश्न एकदम भारी लाग्छ मलाई । चलचित्रले जातियताको कुरालाई लिएर जति पनि मुद्धाहरु उठायो केही केही छोडेर कस्तो छ भने लभसेन्ट्रिक, जहाँ जातको कुरा ल्यायो भने पनि मुद्धासँग सम्वन्धित नभएर प्रेमसँग सम्बन्धित हुन्छ अनि क्लाइमेक्समा मात्र जातको कुरा आउछ । किन त्यो हुँदैछ त, किन जातिय छुवाछुत हुन्छ भन्ने खासमा कसैलाई पनि थाहा छैन, हुन्छ भन्ने थाहा छ । र यो भएपनि अन्र्तजातिय बिवाह भएपछि घर परिवारले मान्दैन । यो चलचित्रले धेरै हदसम्म देखाएको छ । कि घरपरिवारले मान्दैन, कि उनीहरुले छुट्टै संसार बसाउनु पर्छ, कि बुबा आमाले भनेको मानेर अर्कोसँग बिवाह गरेर जीन्दगीभरी दुखि हुन पर्छ । मुद्धा चाँही प्रेमको मात्र भइदियो । जातको हाँगाबिगाहरु छोएर त्यसले एउटा व्यक्तीलाई पार्ने प्रभाव, जस्तो कि मलाई तिमी फलानो जातको भएको कारण यो व्यवहार गरिएको हो भन्ने मैले थाहा पाउनु कति पिडा दायि हुन्छ त ? भावनात्मक रुपमा होइन कि सोसाइटिले कसरी हेर्छ त अन्र्तजातिय बिवाह गरेको परिवारलाई भन्ने मात्रै ।

 

साइकोलोलिकल्ली इफेक्टको बारेमा केन्द्रित हुन सकेको छैन ?

छैन छैन । जस्तै मानौं प्रेमका कारणले गर्दा चलचित्रका मुख्य दुवै कलाकारहरु दुखी भए । प्रभाव उत्तिनै परेको जस्तो देखाइन्छ । तर, प्रभाव भोग्ने मान्छेलाई बढी हुन्छ । कारण खोतल्न चलचित्र केन्द्रित छैन, रिजल्ट छैन, यो कुरा क्लाइमेक्समा मात्र आउछ ।

 

अपवादलाई छोडेर नेपाली चलचित्रमा जातियताको मुद्धालाई हेर्दा एउटा उपल्लो जातको केटा हुन्छ, तल्लो जातको केटी हुन्छ । उनीहरुको बिचमा प्रेम हुन्छ परिवारले स्वीकार गर्दैन । उनीहरु विवाह गर्छन त्यसपछि बाध्य भएर कि परिवारले स्वीकार्छ कि त आफ्नै छुट्टै संसार बनाएर बस्न पर्छ ।

अझ परिवारले स्वीकारेको देखाइन्छ । त्यो त आइडोलाइज गर्दा मात्र स्वीकारेको देखाउदा, किनकी दर्शकहरुलाई पनि मुख्य पात्रले दुख पाएको, मुख्य पात्र पिडित भएको वा उहाँहरु कुनै परिस्थितिमा सफर गरेको देखाउदा चित्त दुखाउछ । किनकी उ त चलचित्रको हिरो हो, हिरोइन हो । त्यही ठाउमा चरित्र अभिनेताले गर्दा त्यती साह्रो हुँदैन ।

 

जातियतालाई एउटा आड लिइयो तर, त्यहाँबाट भड्किएर प्रेममा केन्द्रित छ चलचित्र ।

हो हो । अन्त केन्द्रित छ । खासमा जातकै मुद्धामा बनेको त चलचित्र सुनपानी जस्तो लाग्छ । मैले यो चलचित्र हेर्न पाएकी छैन तर त्यो नामले पनि यसमा केन्द्रित जस्तो लाग्छ । अर्को प्रसाद । त्यो चलचित्रमा चरित्रले कति ठाँउबाट टर्चर भोग्छ त्यो केही रिलेट गर्न सक्छौं । मायाप्रेमकै कुरा उठान गरे पनि ।

 

चलचित्रको पर्दामा क्लाइमेक्समा गएर जे जस्तो भएपनि आफ्ना सन्तानलाई अभिवावकले स्वीकारेको देखिन्छ । तर, जीवन(लक्ष्मीका श्रीमान जीवन भट्टराई)जीको परिवारले अहिले सम्म उहाँ र तपाईलाई स्वीकार गरेको छैन । यर्थाथमा चलचित्रमा देखाइएको जस्तो नहुँदो रहेछ हैन ?

हामी सुरुवाती फेजमै छौं अहिले सम्म । उहाँहरु इमोशनल्ली पहिले भन्दा धेरै नै परिवर्तन हुनुहुन्छ । एउटा समयमा बिरोध थियो । त्यसपछि मौनता छायो । पहिला मान्छेहरुसँग कुरै गर्न चाहनुहुन्थेन भने अहिले चाँही कुरा गर्दा पनि उहाँहरुलाई त्यति धेरै फरक नपर्ने । केही हदसम्म पोजेटिभिटी पाइरहेका छौं । अहिले हामीलाई केही अबरोध छैन । बिवाह गरे पछि पनि छुट्टाउन त सकिन्थ्यो होला वा कोसिस गर्न सकिन्थ्यो होला । त्यस्तो छैन भनेपछि पोजेटिभिटीले मान्छेलाई केही न केही हदसम्म प्रभाव पार्दो रहेछ ।

 

अहिले हामीले देखेको भन्दा भिन्न, चलचित्रमा कसरी यो विषय प्रवेश भइदिए हुन्थ्यो भन्ने लाग्छ यहाँलाई ?

चलचित्रको एउटा दायरा हुन्छ । समय, लगानी लगायत धेरै कुराको । भोलिको दिनमा म आफैले पनि त्यसरी काम गर्न सक्छुकी सक्दिन थाहा छैन । यद्यपी यो इश्यु नै यस्तो खालको छ कि सबैलाई नछुन पनि सक्छ । सबैले सही तरिकाले नलिन पनि सक्छ । अझ अहिले त यो विषयमा कुरा गर्नु नै गलत हो भन्ने पनि आइरहेको छ । तर, कुरै गर्न छोडेर समस्याको समाधान हुन्छ जस्तो पनि लाग्दैन । हामीले कुरा गर्ने भनेको छलफल गर्ने हो । छलफलबाट नै निश्कर्ष निस्कन्छ । कुरै गर्न हुँदैन भनेपछि त यो इश्युमा केही पनि बन्नु नै भएन, लेखिनु नै भएन बोल्नु नै भएन भन्ने कुरा हो । जुन एकदमै गलत जस्तो लाग्छ मलाई । छलफल गरिनु पर्छ, नबुझ्नेलाई बुझाउनु पर्छ । हामी चाँही आफुलाई लागेको कुरा मात्र भनिरहेका छौं । थ्यौरीटिकल्ली गइरहेका छैनौं के । एउटा लजिक त छ नी किन यस्तो भयो भनेर । अनि फिल्मले जति पनि गरिरहेको छ धन्न छोइरहेको छ भन्छु म । तर, यो नै गर्न सकेको छैन कि मान्छे त मान्छे नै हो नी, जात त पछि आएको कुरा हो । धर्ममा पनि धर्मले भनेको छैन के । तर जसलाई माथी बस्नु पर्ने छ उनीहरुले भनेको समस्या हो ।

सारमा हामी यसरी बुझौं चलचित्र यहाँले भने जस्तो भावनात्मक वा मनोबैज्ञानीक रुपमा केन्द्रित हुन सकेको छैन । त्यसमा केन्द्रित हुनु पर्छ यो मुद्धा उठाउने हो भने ।

अभिनेत्री लक्ष्मी बर्देवासँग गरिएको अन्र्तवार्ताको पुरा भाग भिडियोमा