Mansara

आमा, मलाई तिम्री आमा हुन देउ

२०७७ श्रावन २२
आमा, मलाई तिम्री आमा हुन देउ

केही परिवर्तन सहज छैन र जरुरी पनि छैन । त्यसैले त आमा तिमी र म मा कुनै दूरी छैन । समय अनि सन्तान एउटै लाग्छ मलाई । समयसँगै तिम्रा सन्तान पनि परिवर्तनसिल छौँ तर अहँ, तिमी भित्रको परिवर्तन म यो कदपि मान्दिन । तिमी दुनियाँको नजरमा के छौ त्यो पनि थाहा छैन । मेरो लागि त तिमी नै दुनियाँ हौ ।

आमा,

मेरो जन्मअघि अनि जन्मपछि यानीकि आज सम्म तिमीले मेरो एकदमै ख्याल राख्यौं । कसले सक्छ तिमीले जसरी मेरो ख्याल राख्न ? म विश्वस्त छु त्यसैगरी त होइन तर, आजदेखि अनि मेरो जीवनको अनन्त कालसम्म मलाई पनि तिम्रो ख्याल राख्न देउ । आमा मलाई तिम्री आमा बन्न मन छ । थाहा छ किन ? अरे तिमी त फेरि एक बर्ष बुढी भएकी छ्यौ । आमा आजबाट ठ्याक्कै ६५ नाघेउ । तिमीलाई याद छ आमा मेरो बालापन ? म पनि कस्तो पागल । बिरुवालाई फल कस्तो हुन्छ थाहा छ भनेर सोधिरहेकी । हो तेस्तै आमा तिमी आज म बालापनमा जस्ती भएकी छ्यौ ।

म त सानोमा खेल्ने साथी नपाएर रुदी हुँ तर, तिमी ? तिमी त आफ्नो सम्पूर्ण जिवनको एक फेर बस् एक फेर सुनिदिने नपएर रोएकी छ्यौ । मेरो झगडाको सानो पोल सुनिदिने तिमी आज कहिले स्कुल, कहिले कलेज, कहिले सथिभाई, कहिले काम अनि कहिले के के हो के केमा ब्यस्त म । तिम्रो खुशीको अपिल सम्म सुन्ने फुर्सद छैन । अनि तिम्रो खुशी पक्कै आमा मेरो शिरमा हात राख्दै चिरञ्जीवी भएस्, सधैं अघि बढेस् यही आशिर्वाद लिनसम्म भ्याउँदिन म ।

मेरी आमा,

तिमी आज सानो सानो कुरामा झगडा गर्छ्यौं । मैले जस्तै मलाई नै सताउने गर्छ्यौं । तिमी हिजोआज एकदमै जिद्दी भएकी छ्यौ । मैले जस्तै तिमी पनि सानै कुरालाई लिएर अडिग हुन्छ्यौ । अनि मैले तिमीलाई सम्हाल्न परेन त ?

आमा, उमेरसँगै तिमीमा आउने परिवर्तनले मात्र पनि आज सन्तानप्रतिको खेद अनि न्यास्रो लिन्छ्यौउ । सानोमा जसरी म मलाई त मामुले माया नै गर्नु हुन्न भन्थेँ त्यसैगरि तिमी मेरो तिमीप्रतिको माया महसुस गर्न पाइरहेकी छैनौ । कहिले त मनको अदालतमा आफै आफ्ना फैसला गर्न थाल्यौं कि जस्तो लाग्छ । नजिकै हुँदा पनि टाढा जान थलेकी छौ कि जस्तो लाग्छ ।

ए आमा ! म बिर्सिन्छु होला त तिमीले नौ महिना गर्भमा बोक्दा बहिरी संसारसँग परिचय गराइ माग्न मैले बेलाबेलामा लात्ती हानेको ? के म बिर्सिन्छु होला त मेरो निम्ती सिङ्गो प्रकृतिसँग लडाइँ गरेको ? म बिर्सिन्छु होला तिमीले मेरो सानो घाउको लागि दिनरात रोएको ? म कसरी अन्जान बन्नु आफै भन त ? मेरो पेटमा अटाइनअटाइ खुवाएर आफु भोकै सुतेको ?

हो, तिमी जसरी म बालापनमा जस्ती भएकी छ्यौ नि तिमीले जस्तै गरी मलाइ तिमी स्याहार्न देउ । तिमीले जस्तै स्तनपान गराउँदै काखमा लुटुपुटु गराउँदै हुर्काउँछु भन्न खोजेकी हैन । तर, तिम्रो दुधको केही भारा चुकाउन देउ आमा । सानोमा मेरो चक्चकेपन अनि अन्जान गतिविधिदेखि हाँस्ने अनि प्रफुल्लित हुने तिमी, आज मलाई तिम्रो गतिविधिदेखि डर लाग्छ । तिमी जति वटा जन्मदिन काट्दै जान्छौ मलाई त्यति नै टाढा पन्छाएजस्तै लाग्छ ।

आमा,

मलाई तिम्री आमा बन्न देउ । यसको लागि हैन कि म तिम्रो ठाउँ ओगट्न सकुँ । तर, यसको लागि कि म तिमीप्रतिका सबै जिम्मेवारीलाई केही हदसम्म पूरा गर्न सकुँ ।

आमा,

मलाई तिम्री आमा बन्न देउ । यसको लागि हैन कि म तिमीले जस्तै पीडा सहेर तिम्रो चाकडी गर्न सकुँ । तर, यसको लागि कि मेरो चाकडीमा खटेका हातमा केही नरमपन ल्याउन सकुँ । यसको लागि हैन कि तिमि रोएर सधै मलाई खुशी मात्र दिइरहेउ । यसको लागि कि आफू रुँदारुँदै अनि मलाई हसाउँदा हसाउँदै चाउरी परेका गाला अनि थाकेको मुहारमा मात्र एउटा हाँसो फर्काउन सकुँ ।

यसको लागि हैन कि तिमीले जस्तै ममाथि आइलाग्ने बिपत्तीमा आफ्नो थाप्लो अघि सारु । तर, यसको लागि कि मेरो बिपत्तीमा तिमी फेरि आत्तिएको हेर्न सक्दिनँ । यसको लागि हैन कि मेरो लागि जुन खुशी त्यो इश्वर सामु माग्यौ त्यही खुशी म तिम्रो लागि त्यो इश्वरसँग माग्ने औकात राख्न सकुँ । तर, यसको लागि कि आजसम्म ‘मेरो मुटु’, ‘मेरो मायाको टुक्रा’ भन्दै छातीमा टसाँएर राखेकी तिमीलाई तिम्रो पोल्टोमा लेउ आमा तिम्रो स्वर्ग भन्दै थमाइदिन सकुँ।

विन्ती आमा मलाई तिम्री आमा हुन देउ ।

Mahajatra