Mansara

बिक्रमको जीवनसँग मेल खान्छ त ‘हेलो जीन्दगी’को कथा

२०७८ फागुन २४
बिक्रमको जीवनसँग मेल खान्छ त ‘हेलो जीन्दगी’को कथा

मिलन चाम्स निर्देशित चलचित्र ह्याप्पी डेजबाट अभिनयमा डेब्यु गरेका अभिनेता हुन् बिक्रम जोशी (बिक्की) । सन् २०१८ रिलिज ह्याप्पी डेज पछि उनले पासवर्ड र प्रदर्शनको तयारीमा रहेको चलचित्र हेलो जिन्दगीमा अभिनय गरेका छन् ।

आउने चैत्र ११ मा उनी अभिनित चलचित्र हेल्लो जीन्दगी प्रदर्शन हुँदैछ । यो चलचित्रलाई लिएर बिक्रम उत्साहित छन् । हरेक दृष्टिकोणबाट चलचित्र राम्रो बनेको उनको जीकिर छ । यसको बिषयबस्तुले आम दर्शकको मन छुने दाबी गर्दै आफुले पनि अभिनयका माध्यमबाट दर्शकहरुको मन जित्नेमा बिश्वस्त छन् । सत्य घट्नामा आधारित भएर चलचित्र निर्माण भएको भनिएको छ । केहीले चलचित्रको विषय वस्तु बिक्रमको जीवनको घट्नासँग मेल खाने भनेका छन् । यसबारे बिक्रमले भने केही बताएका छैनन् । चलचित्र रिलज पछि यसको सत्यता थाहा लाग्नेछ । उनका अनुसार त्रिकोणत्मक प्रेम कथाको चलचित्रमा मित्रता र बदलाको कथा छ । चलचित्रको नेपाल र युकेका बिभिन्न स्थानमा छायाँकन गरीएको छ ।

पहिलो चलचित्रबाट नै अभिनयको प्रसंसा पाएका बिक्रमले दोस्रो चलचित्रको एक गीतमा बलिउड अभनेत्री सन्नि लियोनीसँग नृत्य समेत गरे । पासवर्डमा समाबेश एक आइटम गीतमा सन्निसँग ठुम्का लगाएका बिक्रमलाई धेरैले सन्निका नेपाली हिरो समेत भन्न थाले । ह्याप्पी डेजबाट चलचित्रमा पाइला राखेका उनी यो चलचित्रबाट स्थापित भए । दर्शकहरुले उनलाई मज्जैले नोटिस गरे ।

त्यसो त बिदेशी जीवन, मनले चाहेर मात्र पनि चलचित्र खेल्न नपाइने । चलचित्र खेल्न पनि सबै कुरा मिल्नु पर्ने । त्यसैले यो बिचमा उनले चाहेजस्तो व्यस्त हुन पाएनन् चलचित्रमा । अर्कोतिर २०१९ मा पासवर्ड प्रदर्शन भएको थियो । त्यसको केही समयमा नै कोरोना महामारीका कारण लकडाउन भयो । धेरै चलचित्रकर्मीहरु अन्यौलमा रहे । यसअर्थ उनको मात्र होइन धेरै कलाकारका चलचित्र यो बिचमा प्रदर्शन हुन सकेनन् ।

बिक्रम मात्र होइन चलचित्रलाई लिएर निर्माण पक्ष निकै आशाबादी छ । धेरैले उनीहरुलाई सोही मितिमा अर्को बिदेशी चलचित्र रिलिज हुने भएकोले प्रदर्शन मिति पछि सार्न पनि सुझाव दिए । तर, आफ्नो चलचित्र बलियो बनेकोले उनीहरु बिदेशी चलचित्रसँग डराएका छैनन् । दर्शकले नेपाली चलचित्रलाई मन पराउने विश्वासमा छन् ।

एभरेष्ट सूर्य बोहराको निर्देशन रहेको चलचित्रमा बिक्रमका अलवा प्रियंका कार्की, दिपिका प्रसाईं, एभरेष्ट सूर्य बोहरा, विल्सन बिक्रम राई, बिक्रान्त बस्नेत, सबिता गुरुङ, ध्रुव दत्तलगायतका कलाकारको अभिनय रहेको छ ।

हिराल जोशी र बिक्रम जोशी निर्मातामा रहेको चलचित्रमा सृजना जोशी महर्जन कार्यकारी निर्माता हुन् । निर्देशक बोहरा र बिक्रम जोशीको कथा रहेको चलचित्रमा निर्देशक बोहरा र अभिमन्यु निरवीको पटकथा र सम्वादमा रहेको छ । निर्देशक बोहराकै शब्द रहेको चलचित्रका गीतमा राजनराज शिवाकोटी र एलिस कार्कीको संगीत छ । प्रमोद खरेल, प्रताप दास, प्रबिशा अधिकारी, एड्रिन प्रधान र रजिना रिमालले चलचित्रमा पाश्र्वगायन गरेका छन् । चलचित्रमा पुरुषोत्तम प्रधानको छायाँकन, सम्राट बस्नेतको द्धन्द्ध निर्देशन र मित्र डि. गुरुङको सम्पादन रहेको छ ।