चलचित्रमा, म जोकर बन्न चाहिन – मनोज गजुरेल

बिष्णु सुबेदी २०७५ फागुन २३
चलचित्रमा, म जोकर बन्न चाहिन – मनोज गजुरेल

रसिलो, चोटिलो अनि हँसिलो प्रस्तुतिका लागि अग्रस्थानमा आउने नाम हो मनोज गजुरेल । गजुरेलले रंगमञ्चको उज्यालोमा राजनीति, भष्ट्राचार, अन्धविश्वास लगायतको अध्यारो पाटो खोतली रहे । कलामा सृजना मिसाएर आम दर्शकको मन जिते रहे । लामो समय रंगमञ्चमा कव्जा जमाएका गजुरेललाई चलचित्रमा आउन भने निकै समय लाग्यो । उनले अभिनय गरेको पहिलो चलचित्र सय कडा दश माघ १८ गतेबाट प्रदर्शनमा आउँदै छ । भष्ट्राचार अन्त्यका लागि प्रेमको भुमिका कस्तो हुन सक्छ भन्ने कुरामा केन्द्रित चलचित्रको विषयले नै आफुलाई लोभ्याएको गजुरेलको भनाई छ । सय कडा दशको शिर्ष भूमिकामा देखिएका गजुरेलसँग लेन्सनेपालका लागि विष्णु सुबेदीले गरेको कुराकानी :

रंगमञ्चमा दर्शकको अघि र चलचित्रका लागि क्यामराको अघि अभिनय गर्नुको फरक के रहेछ ?
मुलतः मान्छे जुनमा पोख्त छ, जुनमा लामो समयको अनुभव छ त्यो जत्तिको सहज त नयाँ काममा पक्कै पनि हुँदैन । त्यसो भनिरहदा खेरि चलचित्र रंगमञ्च भन्दा गाह्रो भन्ने होइन । चलचित्रको एउटा सहज पाटो भनेको यसमा रिटेक गर्न सकियो, सुर्धान सकियो तर रंगमञ्चको च्यालेन्जिङ पाटो बढी मज्जा लाग्छ, किनभने त्यसमा सुर्धान मिल्दैन । चिप्लेपछि चिप्लीयो चिप्लीयो, बिग्रेपछि बिग्रियो बिग्रियो, त्यसले गर्दा त्यसमा रिक्स र मज्जा दुबै हुन्छ तर चलचित्रमा त्यस्तो खतरा हुँदैन, मेरो बुझाइमा ।

स्टेज प्रस्तुतिमा हरेक पञ्चमा आउने तालिहरु क्यामराको अघि अभिनय गर्दा कत्तिको मिस हुदोरहेछ ?
एकदमै नढाटी भन्दा क्यामरासँगको मेरो मित्रता अझै बलियो छैन । प्रबिधीसँगको मेरो सहकार्य साँच्चिकै भन्नुहुन्छ भने एकदमै कमजोर छ । म एउटा घट्ना सम्झन चाहन्छु । भर्खर भर्खर कलाकारिता शुरु गरेको थिए । म पहिलो पटक टेलिभिजनमा लाइभमा जाँदा खेरी आफ्नो अगाडी ५–७ वटा क्यामरा देखेर, सयौं वाटका लाइटहरु आँखामा परिरहदा खेरी अनि पञ्चमा तालि नआउदा खेरी त्यहाँ जस्तो असफलता मैले महशुस गरेको थिइन । स्वभावतः एक खालको प्लेटफर्मबाट आएको मान्छेलाई अर्को प्रबिधीसँग काम गर्न मैले अझै मेहनत गर्नुपर्ने छ ।

कलाकारितामा स्थापित भइसकेको तपाईलाई चलचित्रमा आउन किन यति धेरै समय लाग्यो ?
म जति खेर कलाकारिताको सुरुवातमा थिए, एउटा निश्चित बिचारधारबाट निर्देशित थिए । मेरो आइडोलोजि थियो – प्रगतिशिल कलाकारीता । स्वाभाविक रुपमा त्यतिबेला चलचित्रलाई बुर्जुवाहरुको माध्यमका रुपमा लिइन्थ्यो र त्यसलाई त्यति राम्रो मानिदैनथ्यो । वास्तवमा पञ्चायत कालमा राम्रा चलचित्रहरु कम बन्थे, सर्ट मुभिहरु पनि कम बन्थे, बने पनि व्यवस्थाको सपोर्टमा बन्थे । त्यो हिसावले म व्याक भए भन्नु भन्दा पनि अलिकति आत्मनियन्त्रित भए ।
जब चलचित्र त्यसो होइन, यो पनि सन्देश सम्प्रेषणको माध्यम हो, यसबाट पनि आफुले सोचे जस्तो सन्देश प्रवाह गर्न सकिन्छ भन्ने ज्ञान भयो त्यो बेला हाँस्यव्यङ्ग्य कलाकारको अवस्था हाँस्यव्यङ्ग्य कलाकारको भन्दा पनि जोकरको मात्र थियो, चलचित्रमा । त्यहाँ आफ्नो क्षमता, योग्यता, सृजनशिलता, क्रियटिभिटीलाई लगानी गर्ने अवस्था देखिन मैले । मैले त्यस्ता निर्देशकको हात नभेटेको पनि होला । जति पनि चलचित्र देखियो लगभग कमेडियनको स्थिति त्यही नै थियो । अनि मलाई अहंकार, दम्भ भन्दा पनि आत्मविश्वास के थियो भने म यति मात्र होइन । म जुङ्गा अलिकति काटेर, कट्टु मात्र लगाएर, हिरोहिरोइनलाई चिया पुर्याउने र अलिकति मुख बिगार्ने मात्र होइन भन्ने थियो । त्यसले रोक्यो ।
तेस्रो फेजमा आइपुग्दा होइन यो कला हो, जे पनि गर्नुपर्छ । कलाकारिता भनेको माध्यम हो, यो विशाल समुन्द्र हो तिमी जसरी पनि पौडिन सक्छौ भन्ने ज्ञान भयो । त्यो बेला म रंगमञ्चमा स्थापित भइसकेको थिए म सँग फुर्सद नै थिएन । देशविदेशका कार्यक्रमहरुले आर्थिक रुपमा पनि मलाई राम्रो भइरहेको थियो । यि कारणले रोकियो ।
पछिल्लो चरणमा आइरहदा । म चलचित्रमा स्टार बन्ने हिसाबले आएको पनि होइन । स्टार बन्ने लोभ पनि छैन । स्टारको विषयमा मेरो आफ्नै धारणा छ । स्टार भन्नाले सामान्यतयाः मान्छेले आकाशको तारालाई बुझ्छ । अहिले हामीले जसले आफुलाई स्टार भन्छौं, स्टारडममा विश्वास गछौं । मलाई ति स्टारहरु त्यस्तै तारा जस्तै लाग्छ, आम जनताले छुनै पाउदैन, भेट्नै पाउँदैन, उनीहरुको अनुहार हेर्नैै पाउदैन, परबाट मुख छोपेर हिड्छ । त्यसले गर्दा यो चलचित्रमा आइपुग्दा मैले रंगमञ्चमा, मैले हाँस्यव्यङ्गय मार्फत सोसियल चेन्जमा जुन जुन विषय उठान गरेको छु । राजनीति, भष्ट्राचार बिरुद्धको अभियान, समाजसेवा, अन्धविश्वासको बिरोध यिनै विषयलाई सम्बोधन गरेर चलचित्र बनेकोले चलचित्र भन्दा पनि यो त मैले गरिरहेकै काम हो, क्यामरा फरक हो, माध्यम फरक हो भन्ने हिसावले गरेको हो ।

अहिले त चलचित्रमा हाँस्यव्यङ्ग्य कलाकारको अवस्था परिवर्तन भएको छ, जोकर नभएर हिरो बनेका छन्, यो परिवर्तनले लोभ्यायो कि चलचित्रको कथाले ? 
मुलतः यो भन्दा पहिला पनि थुप्रै चलचित्रबाट अफरहरु आएका थिए । यो चलचित्रमा काम गरेपछि पनि दर्जनौं अफरहरु आइरहेका छन् । थुप्रै राम्रा राम्रा निर्माता, निर्देशकहरुले अफर गर्नु भएको छ । तर, मैले परिक्षा दिएको छु रिजल्ट आउन बाँकी नै छ, पहिला मेरो रिजल्ट हेर्नुस् सर्टिफिकेट कस्तो आउछ भनेर अनुरोध गरिरहेको छु । मलाई कुनै सिनेमाको लोकप्रियता वा हाँस्य कलाकारको लोकप्रियता वा आयआर्जन भन्दा पनि यो मैले गरिरहेको चिज, राज्यको सबैभन्दा ठुलो समस्या, जसरी मैले आफ्नो कलाकारितालाई बिसुद्ध व्यवसायिक कलाकारिता मात्र नभएर सोसियल प्रोफेसनका रुपमा लिन्छु, त्यसैले यही मिसन अन्र्तगतकै विषयवस्तु भएकोले तान्यो । दोस्रो कुरा स्वभावत आफ्नो कला धेरैले हेरुन भन्ने भाव पनि आउछ । मुलतः चलचित्रको विषयवस्तु र सन्देशले नै आकर्षण गरेको हो ।

तपाईले कुरेको रिजल्ट व्यवसायिक पाटो को हो वा सृजनात्मक पाटो को ?
मलाई त व्यवसायिक सफलता भन्दा पनि अभिनयको मुल्याङकन पहिलो कुरा हो । यो सँगै म जुन उद्देश्य लिएर चलचित्रमा काम गरेको छु । त्यो अनुसार जनताले केही न केही सन्देश अनि मनोरञ्जन लिन सक्नु भयो भने त्यो सफलता हो । सँगसँगै व्यवसाय पनि जोडिने हुँदा व्यवसायिक रुपमा पनि सफल भयो भने अझ राम्रो ।

अन्त्यमा, चलचित्र के रहेछ ?
पहिलो कुरा त म चलचित्र प्रदर्शन भएर दर्शक र निर्माताको मन नजित्दा सम्म यही रहेछ भन्ने हैसियतमा छैन । जहाँ सम्म छायाँकनको बेलाको कुरा, अभिनयको गर्ने कुरा छन् ति हकमा चाँही रंगमञ्च नै मेरो कलाकारिताको शुरुवात र मुल माध्यम भएको हुनाले त्यत्तिको सजिलो, त्यत्तिको आनन्द अहिले सम्म मैले प्राप्त गरेको छैन । रंगमञ्चको प्रस्तुति कलाकारको एकल प्रयासमा सफल असफल हुने भयो । तर यसमा निर्देशक, लेखक, प्राबिधिक, कलाकार दर्शक लगानीकर्ता सबैको टिम वर्क भएकोले यो अलि शशक्त र दिर्घजिवी हुन्छ जस्तो लाग्छ मलाई ।