ज्ञानको अभावमा गरिएको प्रश्न सत्यको खोजी होइन, भ्रमको विस्तार हो !

चलचित्र पत्रकारिता समाचार लेख्ने साधारण काम मात्र होइन, यो त कलालाई बुझ्ने, मूल्यांकन गर्ने, र त्यसको प्रवाहलाई समाजसम्म प्रभावकारी ढंगले पुर्याउने कर्म हो । चलचित्र पत्रकारिताले केवल पर्दामा देखिने कथा मात्र होइन, त्यसमा समाजको चेतना, समयको सन्देश र सिर्जनाकर्मीको स्वप्नदृष्टिलाई कलात्मक चेतका माध्यमबाट बुझ्न र आम दर्शकलाई आफ्नो कलम मार्फत बुझाउन सक्नुपर्छ ।
यसका लागि पत्रकारमा संवेदनशीलता, अध्ययनशीलता र सिर्जनात्मक लेखनशक्ति अनिवार्य गुण हुन् । चलचित्र पत्रकारमा त अझ कला र प्रबिधीको बारेमा समेत जानकारी आवश्यक छ । तर, आज चलचित्र पत्रकारितालाई परिष्कृत बनाउँदै अघि बढ्नु पर्नेमा सत्य डुब्ने खतरा छ, र सतहमा कन्टेन्टको नाममा बर्बराउने अश्लीलता पौडिरहेको छ । यो लेखलाई बिस्तार गर्नु अघि युट्युबर र चलचित्रकर्मी बिच हालै घटेका केही घटनाक्रमलाई हेरौं ।
*****
केही दिन अघि युट्युबर समक्ष चलचित्र ‘भूठान’को टिमले माफी मागेको थियो । सार सक्षेपमा सिधै भन्दा निर्माताले घुमाउरो शैलीमा युट्युबरहरु पैसामा बिक्ने गरेको आरोप लगाएका थिए । यतिबेला फेरी निर्देशक निश्चल बस्नेत, निर्देशक दिनेश राउतलगायत युट्युबरसँग भड्किएका छन् ।
चलचित्र ‘महाभोज’को गीत सार्वजनिक कार्यक्रममा एक युट्युवरको बेतुकको प्रश्न पछि उनीहरु भड्किएका हुन् । युट्यूवरले ‘समाजका मुद्दा देखाएर पैसा कमाउन खोजेको’ भनेपछि निश्चल बस्नेत तात्तिए । यो प्रश्न निर्देशक राउतलाई सोधिएको भए पनि उनले माइक मागेर जवाफ दिए । निश्चलले प्रतिप्रश्न गरे – ‘तपाईं यहाँ हामीलाई प्रश्न सोधेर पैसा मात्र कमाउन आउनुभएको हो ?’ निश्चलको यो प्रतिप्रश्नमा युट्यूवरले आपत्ति जनाए । उनले आफूलाई यस्तो भन्न नमिल्ने बताएपछि निश्चल थप कड्किए ।
उनले भने – ‘चलचित्र नै नहेरी तपाईलाई कथा अगाडि चाहिएको रहेछ । म तपाईलाई नै प्रश्न गर्छु, तपाई यहाँ हामीले बोलेको भिडियो खिचेर पैसा कमाउन आएको हो ?’
उनको प्रश्न सकिनासाथ पत्रकारले जवाफ दिए – ‘हैन ।’
निश्चलले पनि उनको जवाफ आउनासाथ उत्तर फर्काए – ‘हामीलाई त त्यस्तै लागिरहेको छ ।’
कार्यक्रममा उपस्थित अन्य पत्रकारले निश्चलते जवाफमा ताली बजाए । तर, ति युट्यूवर सन्तुष्ट भएनन् ।
‘तपाईले हामीलाई भिडियो खिचेर पैसा कमाउन आएको भन्नुभयो । त्यस्तो हैन हेर्नु ।’
निश्चल फेरी बोले – ‘तपाईले हामीलाई फिल्म देखाएर पैसा कमाउन आउनुभएको हो ? भनेर सोधेको भएर त्यसको उत्तर मैले तपाईकै भाषामा दिँदा तपाईंको चित्त दुख्यो ?’
निश्चलले आक्रोशित हुँदै थपे – ‘काम गरेपछि मान्छेलाई पैसा कमाउँ भन्ने लाग्दैन ? सर्वप्रथम, तपाईले सोध्नुभएको प्रश्न जायज छ कि छैन भनेर तपाईको छेउमा भएको अरु पत्रकार साथीलाई सोध्नु ।’
निश्चलले भने – ‘तपाई चलचित्रलाई चलचित्रजस्तो गरेर किन हेर्नुहुन्न ? तपाई किन साँच्चै चलचित्रले नै देश बदल्छ सोचेर हेर्नुहुन्छ ? चलचित्रले प्रश्न उठाउँछ ।’
अभिनेता दयाहाङ राईले निश्चलको कुरामा थपे – ‘चलचित्रले प्रश्न मात्र उठाउने हो । चलचित्रले यो बाहेक अरु केही गर्न मिल्दैन ।’
ति युट्युबर भने अझै रोकिएका थिएनन् । अन्ततः निर्देशक राउतले भने – ‘सिनेमाप्रतिको बुझाइ कम भएपछि हामीले यस्तो प्रकारको प्रश्नको समाधान गर्नु पर्ने हुन्छ । यो तपाईंको बुझाइको कमजोरी हो । कथावाचकको रुपमा मैले भन्नुपर्दा, म समाजको समस्या देखाउन सक्छु तर त्यसको समाधान दिन सक्दिनँ । त्यो मेरो कामै होइन ।’
युट्यूवर फेरि पनि बोलि नै रहे ।
त्यसपछि अर्का अभिनेता खगेन्द्र लामिछानेले थपे – ‘समाधान अदालतले दिने हो । तपाईको यो प्रश्नै भएन ।’ खगेन्द्रको समर्थन गर्दै निर्देशक राउतले भने – ‘पहिला तपाईको बुझाई कत्तिको सही वा गलत छ, त्यो विश्लेषण गर्नु ।’
*****
यो घटना क्रमले फेरी एकपटक चलचित्र पत्रकारिता बहसमा आएको छ । न्यू मिडियाका रुपमा प्रभावशाली उपस्थिति जनाउँदै आएका युट्युबरको कार्यशैली माथी थुप्रै प्रश्न छन् । उनीहरुलाई पत्रकार मान्ने कि नमान्ने बहसकै बिषय छ । यद्यपी सत्य यही हो – चलचित्रका कार्यक्रममा उपस्थित हुने सबै युट्युबरलाई चलचित्र पत्रकार भन्न सकिदैन । पत्रकारिताका आफ्नै मुल्य र मान्यता छन् । ति मुल्य र मान्यता भित्र सबै युट्युबर छैनन् ।
एक सच्चा चलचित्र पत्रकारले जब कलाको उज्यालो संसारमा कलम चलाउँछ, उसले सतहमा देखिने दृश्यभन्दा पनि दृष्यले बोकेको भावना र भन्न खोजेको मूलभूत विषयलाई गहिराईमा पुगेर केलाउने कोसिस गर्छ । चलचित्र पत्रकारिता गर्दा कलाका विविध आयामहरूलाई बुझेर सत्य निष्ठाका साथ समाचार वा लेख लेख्नु पत्रकारको धर्म हो । चलचित्र रिपोर्टिङ गर्ने पत्रकारले त्यसको गहिराइ, सामाजिक प्रभाव, र सांस्कृतिक सन्दर्भलाई बुझ्नु अनिवार्य हुन्छ । सबैभन्दा पहिले, चलचित्र कला हो भन्ने यथार्थलाई आत्मसात गर्नुपर्छ । यसले मनोरञ्जन मात्र होइन, सन्देश दिन्छ, प्रश्न उठाउँछ, र समाजको ऐनाका रूपमा काम गर्छ । त्यसैले पत्रकारले चलचित्रको समीक्षा वा रिपोर्टिङ गर्दा यसको उद्देश्य, कथा संरचना, अभिनय, निर्देशन, छायांकन, सम्पादन, संगीत र प्रविधिका पक्षहरूलाई केलाएर सुक्ष्म रुपमा हेर्न जान्नुपर्छ । त्यसको समय सान्दर्भिकता, निर्माणको पृष्ठभूमि र दर्शकसमक्ष भन्न चाहेको सन्देशबारे जानकारी लिन जरुरी हुन्छ । चलचित्र कुन सामाजिक वा ऐतिहासिक पृष्ठभूमिबाट प्रेरित छ ? यसले कुन वर्गलाई लक्षित गरेको छ ? कुन शैलीमा बनाइएको छ – यथार्थवादी, प्रयोगवादी वा व्यावसायिक ? यस्ता प्रश्नको उत्तर आफैलाई सोधेर मात्र असम्मानजनक टिप्पणी होइन, वस्तुनिष्ठ विश्लेषण गर्नसक्नुपर्छ । पत्रकारले सधैं सत्यको खोजी गर्नुपर्छ, तर त्यो खोजीले कलाको आत्मालाई आघात गर्ने गरी प्रस्तुत हुनु हुँदैन ।
चलचित्रको समीक्षा गर्नु पूर्व निर्देशकको दृष्टि, कलाकारको आत्मप्रस्तुति, छायांकनको भाष्य र सम्पादनको लय बुझ्ने क्षमता राख्छ । चलचित्र पत्रकारले चलचित्रको समिक्षा केवल मन पर्यो वा परेन भन्ने भावनात्मक धारणा होइन, त्यो त अनुभव, अनुसन्धान र जिम्मेवारीको समिश्रण हो भन्ने बुझेको हुनुपर्छ ।
*****
प्रश्न सोध्नु पत्रकारको धर्म हो, तर त्यो प्रश्नले सत्यको द्वार खोल्नुपर्छ । जसका लागि पत्रकारमा चलचित्र प्रतिको बुझाई र पत्रकारिताका मुल्य तथा मान्यताहरुको ज्ञान हुनुपर्छ । प्रश्न गर्नु अघि पत्रकारले सो विषयमाथि अध्ययन गर्नुपर्छ, सन्दर्भ बुझ्नुपर्छ, र पात्रको दृष्टिकोणलाई बुझ्न तयार हुनुपर्छ । प्रश्नको सौन्दर्य त्यसको गहिराइमा हुन्छ, सतहमा होइन । पत्रकारको काम केवल प्रश्न सोध्नु होइन, उत्तर खोज्ने यात्राको सुरुबिन्दु तय गर्नु पनि हो । प्रश्न गर्नु अधिकार हो, तर त्यो अधिकारसँगै गहिरो जिम्मेवारी पनि गाँसिएको हुन्छ । विशेषतः चलचित्र पत्रकारितामा – जहाँ संवेदनशीलता, सिर्जनशीलता र व्यक्तिगत अनुभवहरू मिसिएका हुन्छन् । प्रश्न सोध्न शैली, समय र सन्दर्भ झनै महत्वपूर्ण हुन्छ ।
प्रश्न गर्नु स्वतन्त्रताको अभिव्यक्ति हो, तर त्यो स्वतन्त्रता विवेकसहित प्रयोग नगरिएमा प्रश्न निरर्थक मात्र होइन, अपमानजनक वा दिशाहीन पनि बन्न सक्छ । चलचित्रकर्मीहरुको परिश्रम, भावनात्मक लगानी, र कलाप्रतिको समर्पणलाई ख्याल नगरी सोधिएका प्रश्नहरु केवल सतही चासोको प्रदर्शन हो, पत्रकारिताको धर्म होइन ।
बिना अध्ययन, केवल कौतुहलता वा विवाद सिर्जना गर्नका लागि सोधिने असान्दर्भिक प्रश्नहरुले पत्रकारको हैसियत घटाउँछ । यस्तो अभ्यासले न संवाद स्थापित गर्छ, न पाठकलाई गम्भीर जानकारी दिन्छ, न चलचित्र पत्रकारिताको स्तर नै उठाउँछ । प्रश्न गर्नु अघि पत्रकारले प्रश्न सोध्ने बिषयको पृष्ठभूमिबारे जानकारी लिएको र सन्दर्भ बुझिसकेको हुनु आवश्यक छ । ज्ञानको अभावमा गरिएको प्रश्न सत्यको खोजी होइन, भ्रमको विस्तार हो ।
सबैभन्दा पहिला चलचित्र पत्रकार प्रश्न सोध्नुको उद्देश्यबारे स्पष्ट हुन जरुरी छ । उसले प्रश्न तयार पार्दा केही आधारभूत कुराहरूमा ध्यान दिनुपर्छ । पहिलो, प्रश्नहरु अनावश्यक, असान्दर्भिक वा अपमानजनक हुनु हुँदैन । दोश्रो, सोधिने प्रश्नहरुले सिर्जनशीलताको पाटो उजागर गर्ने अवसर दिनुपर्छ । तेश्रो, प्रश्नहरु अनुसन्धानमा आधारित हुनु जरुरी छ । जसले चलचित्र पत्रकार र चलचित्रकर्मी बिचको संवादलाई अर्थपूर्ण बनाउन सघाउँछ ।
चलचित्र पत्रकारिता केवल प्रश्नहरूको सिलसिला होइन, त्यो त दृष्टिकोणको संवाद हो । त्यस संवादमा प्रश्नहरु पुल हुन् – दर्शक र चलचित्रकर्मीलाई जोड्ने । ती पुल मजबुत, सन्दर्भसंगत र मूल्यवान् हुनुपर्छ । प्रश्न गर्नु सजिलो छ, तर प्रश्नले मूल्य राख्न गाम्भीरता चाहिन्छ । पत्रकारले यही जिम्मेवारी आत्मसात गर्न सके मात्र उसका प्रश्न अर्थपूर्ण, प्रभावशाली र सत्योन्मुख बन्न सक्छन् ।
*****
आज, युट्युबरको भीडमा प्रश्नहरु चिच्याइरहेका छन् – बिना सन्दर्भ, बिना अध्ययन, केवल क्लिकको लोभमा । धेरै युट्युबरहरुले पत्रकारिताको नाममा प्रश्नलाई हतियार बनाएका छन् – संवादका लागि होइन, सनसनीका लागि । चलचित्रकर्मीहरु बारम्बार एकै खालका निजी, उत्तेजक र असान्दर्भिक प्रश्नहरुसँग थाकेको देखिन छन् । र त यदाकदा झर्रो सुनिन थालेका छन् ।
आजको डिजिटल युगमा युट्युब एउटा शक्तिशाली माध्यम बनेको छ – जहाँ जसले जे भने पनि तुरुन्त हजारौं दर्शकसम्म पुग्न सक्छ । तर, यही पहुँचले जिम्मेवारीको वजन पनि झनै गहिरो बनाउँछ । अफसोस, अपवाद बाहेकका अधिकांश युट्युबरहरुले यो जिम्मेवारीको गाम्भीर्यता बुझ्न सकेका छैनन् । पत्रकारिता भन्नु केवल ‘भाइरल कन्टेन्ट’को पछाडि दौडिने हो भन्ने मानसिकता बढ्दै गएको छ, जहाँ सत्यको खोजीभन्दा पहिला ‘क्लिकबेट’ शीर्षक र उत्तेजक प्रश्नले प्राथमिकता पाएको देखिन्छ ।
युट्युबको यो नव–प्रवृत्तिले पत्रकारिताको अनुहार धमिलो बनाइदिएको छ । सतही र असंवेदनशील प्रस्तुतिहरुले दर्शकलाई भ्रमित तुल्याइरहेका छन्, जहाँ सत्य र प्रचारबीचको सीमाना हराउँदै गएको छ । र यहींबाट सुरु भएको छ – गुणस्तरको ह्रास, संवादको अवरोध र चलचित्र पत्रकारिता प्रतिको उदासीनता ।
वास्तविक चलचित्र पत्रकारले गहिराइ खोज्छ, सतहीपन होइन । तर, धेरै युट्युबरहरु ‘भ्यूज’ र ‘सब्स्क्राइबर’ संख्या बढाउने दौडमा छन्, जहाँ विषयवस्तुको महत्वभन्दा संवादमा हुने झड्का नै महत्वपूर्ण मानिन्छ । गम्भीर विषयबस्तुलाई व्याख्या गर्ने धैर्य भन्दा विवाद सिर्जना गर्ने चातुर्यले प्राथमिकता पाएको छ । यो प्रवृत्ति केवल युट्युबरको दोष होइन – दर्शक र स्वयम् चलचित्रकर्मीको मनोवृत्तिले पनि त्यसलाई प्रोत्साहन गरेको पक्ष स्पष्ट छ ।
तर, सबै युट्युबर गैरजिम्मेवार छैनन् । युट्युब पत्रकारिताले गहिरो अध्ययन, विवेक र सत्यप्रति निष्ठा देखाएका थुप्रै उदाहरण पनि छन् । फरक के हो भने, जिम्मेवारी लिने र गहिराइमा जाने युट्युबरहरु पनि अराजकताको भीडमा ओझेलमा परिरहेका छन् ।
*****
समस्या कन्टेन्ट चाहनु होइन – समस्या कन्टेन्टको नाममा गैर जिम्मेवार बन्नु हो । सशक्त संवाद, अनुसन्धानमा आधारित प्रश्न, र सन्दर्भसंगत विश्लेषण पनि उत्कृष्ट कन्टेन्ट हुन् । उत्तेजक प्रश्न सोधेर रातारात चर्चित हुने लोभ पालेका धेरै युट्युबरहरुले चलचित्र पत्रकारिता गर्नै चाहदैनन्, उनीहरु त क्यामरा र बुमका भरमा डलरको खेती गर्न आएका व्यापारिहरु हुन् । जसले चलचित्र पत्रकारिता र सच्चा युट्युबरलाई धमिलोमात्र बनाउने छन् । यो प्रवृत्तिले चलचित्र पत्रकारिताको विश्वसनीयता माथि प्रश्न उठाउँछ ।
यस्तो अवस्थामा साँचो पत्रकारको धर्म अझै गहिरो र अझै कठिन भएको छ । उसले केवल समाचार लेख्नु छैन, उसले चलचित्र पत्रकारिताको आत्मालाई बचाउनु छ । उसले केवल प्रश्न गर्नु छैन, उसले केवल कन्टेन्ट उत्पादन गर्नु छैन, उसले त चलचित्र पत्रकारिताको मूल्य निर्माण गर्नु छ ।
Latest Updates
New Releases (Baishak 26)
-
Jaar
Director : Phurba Tshering Lama
Casts : Geetanjali Thapa, Saugat Malla, Anoop Bikram Shahi -
Unko Sweater
Director : Nabin Chauhan
Casts : Bipin Karki, Miruna Magar, Sunil Pokharel, Maotse Gurung, Wilson Bikram Rai
Next Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal