Modibeni
Numbari Sun

भारतिय गायक गायिकाको स्वरमा ‘रावायण’का गीत

२०८१ बैशाख ३०
भारतिय गायक गायिकाको स्वरमा ‘रावायण’का गीत

छायांकनरत् चलचित्र ‘रावायण’का गीतको रेकर्ड भारतमा गरिएको छ । चलचित्रको शीर्ष गीत, रोमान्टिक गीत र आइटम गीत गरि तीन गीत छन् ।

शीर्ष गीतमा भारतीय गायक नकासा अजीजको स्वर छ । नकासाले बलिउड चलचित्र ‘बजरंगी भाइजान’को ‘सेल्फी ले ले रे’, ‘फेन्टम’को ‘अफगान जलेबी’, ‘आर राजकुमार’को ‘सारी के फल से’, ‘ट्युबलाइट’को ‘नाँच मेरी जान’ र ‘उचाइँ’को ‘केटी को’ जस्ता गीतमा स्वर दिएका छन् ।

त्यस्तै चलचित्रको रोमान्टिक गीतमा कुनाल गान्जावालाको स्वर छ । कुनालले बलिउड चलचित्र ‘मर्डर’को ‘भिघे ओठ तेरे’, ‘पार्टनर’को ‘दुपट्टा तेरा’, ‘शीसा’को ‘यार को मेने’, ‘काल’को ‘काल धमाल’, ‘धुम’को ‘सलामे’लगायतका चर्चित गीत गाएका छन् ।

त्यस्तै अर्को गीतमा गायिका सोनु कक्करको स्वर छ । सोनुले ‘रावायण’का लागि आइटम गीत गाएकी हुन् । सोनुले गाएका बलिउड चलचित्र ‘दम’ को ‘बाबु जी जरा धिरे चलो’, ‘ब्लू’को ‘ब्लू थिम’, ‘जिष्म २’ को ‘ये कसुर’, ‘क्वीन’ को ‘लण्डन’ लोकप्रिय छन् ।

तीनवटै गीतमा भारतीय संगीतकार रेवन सिंह र निरज सिंहको संगीत छ । संगीतकार रेवन भारतमा रुचाइएका संगीतकार, गायक, गीतकार, ब्याकग्राउण्ड स्कोरर र वाद्यवादक हुन् ।

भारतीय चर्चित संगीतकार कैलाश खेरको स्टुडियो कैलाश खेर स्टुडियोका संगीतकार, साउण्ड इञ्जिनियर र मिक्सिङ इञ्जिनियर निरज २० वर्ष बढी समयदेखि बलिउडमा संगीत क्षेत्रमा सक्रिय छन् । मुम्बई विश्वविद्यालयबाट पास आउट रहेका रेवनले बलिउडका चर्चित गायकगायिका र संगीतकार, साउण्ड इञ्जिनियर र मिक्सिङ इञ्जिनियरसँग काम गरिसकेका छन् । 

चलचित्रका निर्देशक सुदर्शन थापाले नेपालमा संगीत तयार पारेर भारतमा गई गीत रेकर्ड गर्ने चलन भइरहँदा आफूले भने सबै काम भारतमा नै गरेको बताए । ‘अहिलेसम्म नेपालमै संगीतको सबै काम सकेर भारतमा गई गीत रेकर्ड गराउने चलन थियो । तर हामीले मिक्सिङ, मास्टरिङदेखि संगीतका सबै काम भारतमा नै गरेर भारतीय गायक गायिकमार्फत गीत रेकर्ड गरेका हौं । जसले गर्दा संगीतको गुणस्तर पनि उत्कृष्ट हुन्छ’, उनले भने ।

चलचित्रमा पूजा शर्मा, पल शाह, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकिता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल र प्रदीप ढकाललगायतको अभिनय छ । चलचित्रमा शिवम अधिकारीको लेखन, सौरभ लामाको छायांकन, विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी र श्री श्रेष्ठको एक्सन छ ।

Gharjwai