बैशाख दोस्रो साताबाट ‘रावायण’को छायाँकन

२०८१ बैशाख ७
बैशाख दोस्रो साताबाट ‘रावायण’को छायाँकन

चलचित्र ‘रावायण’ बैशाख दोस्रो साताबाट छायाँकनमा जाने भएको छ । सुदर्शन थापाको निर्देशनमा बन्ने चलचित्रको यतिबेला प्रि–प्रोडक्सनको काम धमाधम भइरहेको छ ।

छायाँकन शुरु हुनु अगावै भदौ २१ गतेलाई प्रदर्शन मिति तय गरिएको चलचित्रका लागि आवश्यक कलाकार तथा प्राबिधिकहरु समेत अनुबन्धित भइसकेका छन् । निर्माण टिमले चलचित्रका कलाकार तथा प्राबिधिकहरुलाई सामाजिक सञ्जालमा ‘वेलकम अन बोर्ड’ भन्दै सार्वजनिक गरेको छ । यसअघि पनि केही चलचित्रले कलाकार तथा मुख्य प्राबिधिकलाई ‘वेलकम अन बोर्ड’ भन्दै सार्वजनिक गरेका थिए । सुदर्शनले अधिकांश निर्माता र निर्देशकले प्रमुख कलाकारलाई मात्र ‘वेलकम अन बोर्ड’ मार्फत स्वागत गरेको देखिएको उल्लेख गर्दै आफूले भने प्राविधिकहरुलाई पनि समेटेको बताए ।

चलचित्रमा पल शाह, पुजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाल लगायतका कलाकारहरुको अभिनय रहनेछ । चलचित्रमा शिवम अधिकारीको लेखन, सौरभ लामाको छायांकन, विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफि र श्री श्रेष्ठको एक्सन हुनेछ । सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बन्ने चलचित्रलाई सुदर्शन थापा र पुजा शर्मा मिलेर निर्माण गर्न लागेका हुन् ।