रानी बन्न नखोजेकी वर्षा

२०८२ भाद्र १
रानी बन्न नखोजेकी वर्षा

चलचित्र ‘माग्ने राजा’मा आफू रानी बन्न नखोजेको अभिनेत्री वर्षा सिवाकोटीले जनाएकी छिन । राजधानीमा पत्रकारहरुसँगको साक्षात्कार गर्दै उनले माग्ने राजाले क्यारी गरीरहेको स्टोरीमा ‘रानी पनि हुन पर्‍यो वा रानी जस्तै हुन पर्‍यो’ भनेर आफुले भन्न नमिल्ने जनाइन ।

वर्षा सिवाकोटी पछिल्लो समय ब्यस्त अभिनेत्रीमा पर्छिन । उनी अभिनित २१ औं चलचित्र ‘माग्ने राजा’ यही भदौ ६ गतेबाट प्रदर्शन हुँदैछ ।

चलचित्रको केन्द्रमा हाँस्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ छन् । प्रचार सामग्रीमा पनि ‘माग्ने बुढा’ नै हाबी छन् । यस्तोमा चलचित्र भित्र अभिनेत्री सिवाकोटीको उपस्थिति कस्तो छ त्यो चासोको विषय बनेको छ । धेरैले वर्षा र माग्नेको अनस्कृन जोडीलाई मजाक पनि बनाइरहेका छन् । लेखक सामाप्यि राज तिमल्सेना चलचित्र भित्र वर्षाको पात्रको आफ्नै महत्व रहेको बताउँछन् ।

उनका अनुसार सुरुमा यो चलचित्रमा उक्त पात्र नै लेखिएको थिएन । तर, निर्माताले हिरोइनको भूमिका माग गरेपछि लेखक तिमल्सेनाले माग्ने राजाको सेक्रेटरीको भूमिका निकाले । उक्त भूमिकामा वर्षा फिट भइन ।

वर्षा चलचित्रमा काम गर्दा आफूले प्राप्त स्कृप्टमा उल्लेख भएको भूमिकालाई स्वीकार गरेर काम गर्ने वा नगर्ने दुईवटा मात्रै विकल्प देख्छिन । वर्षा यो चलचित्रमा आफुले माग्ने राजाकै दृष्टिबाट स्कृप्ट हेरेको बताउँछिन । जसका कारण आफुले माग्ने राजाले क्यारी गरीरहेको स्टोरीमा ‘रानी पनि हुन पर्‍यो वा रानी जस्तै हुन पर्‍यो’ भनेर भन्न नमिल्ने जनाइन ।

उनी चलचित्रमा आफ्नो पात्रलाई जसरी विकास गरिएको छ, त्यो उपयुक्त लागेको बताउँछिन । आफूले निभाएको सेक्रेटरीको भूमिकामा आफूलाई देखेका कारण नै काम गर्न राजि भएको उनको भनाई छ । लामो समय स्कृन होल्ड नगरे पनि उक्त पात्र प्रभावशाली रहेको र त्यसले माग्ने राजाको लाइफमा केही चेञ्ज ल्याउने अभिनेत्री सिवाकोटीले जनाइन ।

ऋषी लामिछानेको निर्देशन रहेको चलचित्रमा केदार घिमिरे र वर्षा सिवाकोटीका साथै विल्सन विक्रम राई, शिशिर वाङ्देल, शारदा गिरीलगायतका कलाकारको पनि मुख्य भूमिका छ । मुनाल घिमिरेको निर्माण रहेको चलचित्र कमेडी जनाराको हो ।