Mansara

‘प्रसाद’का लागि – नम्रता यसरी बनिन् नारायणी

२०७५ मंसिर १५
‘प्रसाद’का लागि – नम्रता यसरी बनिन् नारायणी

नम्रता श्रेष्ठ जस्तो सुकै भुमिकालाई पनि न्याय गर्न सक्ने कलाकारका रुपमा परिचित छिन । पात्रको गहिराइमा पुगेर काम गर्न सक्ने कलाकारका रुपमा परिचित यि अभिनेत्री अक्सर लभर गर्लका रुपमा पर्दामा देखिइन । हुन त यसअघि मेघा र होमवर्कमा उनी श्रीमतिका रुपमा देखिएकी थिइन तत् पश्चात प्रसादमा पनि उनी श्रीमतिकै भूमिकामा छिन । यद्यपी यो चलचित्रमा पनि रोमान्सको पाटो भरपुर रहेको उनैले बताएकी छिन । उनले भनेकी छिन – ‘यसमा त झन बढी माया प्रेमको कुरा छ । श्रीमान श्रीमतिको बिचमा ।’

यद्यपी चलचित्रको महत्वपूर्ण पक्ष भने निःसन्तानको पिडा हो । जुन क्यारेक्टरको अनुभव नम्रतासँग हुने कुरै भएन । तर, कलाकारले आफैले नभोगे पनि त्यस्तो परिस्थितिमा रहेकाको पिडा अनुभव गरेरै आफुले आफुलाई त्यसमा ढाल्न सक्छ । नम्रताको हकमा पनि यस्तै भयो । उनले निभाएको पात्र नारायणीको महत्वपूर्ण कुरा बच्चा नहुँदाको पिडा हो । नम्रताले एकजना दिदी अनि केही साथीभाईहरु यस्तो पिडामा गुज्रेको कुरा नजिकबाट नियालेकी थिइन । उनीहरुको पिडा अनुमान गरिन । तिनै कुराले नम्रतालाई नारायणी बन्न सजिलो भयो । तर, नम्रताले जव स्कृप्ट पढिन उनलाई केही कुराहरु रिलेट गर्न निकै गाह्रो भयो यस्तो पनि हुन्छ र भन्ने लाग्यो । उनले नाट्यकर्मी तथा कलाकार सरिता गिरीको सहयोग लिइन । नारायणी भएर त्यही कुरा सोच्दा त सबै कुरा सहज लाग्दै गयो, हालैको एक दिन पत्रकारसँग गफिदै गर्दा उनले सुनाइन ।

निर्देशक दिनेश राउतले उनलाई नारायणीको पात्रमा आफुले देखेको र उनीबाट खोजेको कुरा सुनाए । उनले पनि त्यही अनुरुप आफुलाई तयार गरिन । लुक्स टेस्टको क्रममा छायाँकार राजेश श्रेष्ठले नम्रताको गालामा कोठी राख्ने र नाकमा फुली लगायो भने अझ बढी क्यारेक्टर फिल हुने सुझाव दिए । चलचित्रमा उनी क्षेत्रीको छोरीका रुपमा देखिएकी छिन । नेवार समुदायकी नम्रताले प्रसादका लागि पहिलो पटक नाकमा फुली पनि लगाइन ।चलचित्रमा नम्रताले नभोगेको अझ भनौं नजिकबाट नियाल्न समेत नपाएको परिवेशको पात्र निभाएकी छिन । उनको भ्वाइस टोन पनि नौलो लाग्छ । आखिर यि सबै कुराका लागि नम्रताले के त्यही समुदाय भिजिट गरेकी थिइन त ? हैन नम्रताले त निर्देशकले भनेअनुरुप आफुलाई पात्रमा ढालेकी थिइन, अन्य कलाकार अनि सहायक निर्देशकहरुले उनलाई निकै सहयोग गरेका थिए । आखिर चलचित्र भनेको टिमवर्क न हो ।

चलचित्रमा उनी र विपिन कार्की श्रीमान श्रीमतिका रुपमा देखिएका छन् । त्यो पनि निःसन्तान दम्पति । शुशिल पौडेलले लेखेको चलचित्रमा नम्रताको पात्र नारायणीको हो । नारायणीको पात्र निभाउँदा नम्रताले निःसन्तान हुनुको पिडा महिला र पुरुष दुवैलाई बराबरी हुने समेत महशुस गरिन । नेपाली समाजमा एउटा भनाई छ – ‘महिला तब पूर्ण हुन्छे, जब उ आमा बन्छे ।’ सायद यसैले होला धेरैले भन्ने गर्छन सन्तान नहुनु वा निःसन्तानको पिडा पुरुषलाई भन्दा महिलालाई बढी हुन्छ । हुन पनि हो हाम्रो समाजमा पुरुषकै कमजोरीका कारण बच्चा नभएमा पनि त्यसको दोष महिलालाई नै दिने प्रचलन छ । बिज्ञानले जस्तो सुकै परिवर्तन ल्याए पनि चेतना अनि शिक्षाको कमीले अझै पनि थुप्रै नेपाली समाजमा बच्चा नहुनुको एकल दोष महिलालाई नै जान्छ । समाजबाट निरन्तर लाग्ने लान्छना अनि कतिपय अवस्थामा घर परिवार र श्रीमानबाट नै अपहेलित हुनुपर्ने कारण पनि निःसन्तानको पिडा महिलालाई बढी हुन्छ भनिएको हुनुपर्छ । तर, जसले भोग्छ उसको अनुभव त बेग्लै हुँदो रहेछ चलचित्रको पात्रले भोगेको पिडाका आधारमा नम्रताको अनुभव हो यो ।

चलचित्र मंसिर २१ गतेबाट प्रदर्शन हुँदैछ । नम्रता चलचित्रलाई लिएर उत्साहित देखिन्छिन् । यसको विषय र गीतसंगीतले जसरी चलचित्र प्रतिक्षित बनाएको छ दर्शको अपेक्षा पनि त्यत्ति नै बढाएको उनको बुझाई छ । सुभाष थापाको निर्माण रहेको चलचित्र प्रसादमा नम्रता र विपिनका अलवा निश्चल बस्नेत, बसुन्धरा भुषाललगायतका कलाकारको पनि अभिनय रहेको छ । सुभाष भुषालको संगीत रहेको चलचित्रका गीतहरु यतिबेला चर्चामा छन् ।