Mahajatra

अभिनयका हिसावले ‘प्रसाद’ आफ्नो उत्कृष्ट चलचित्र – निश्चल बस्नेत

२०७५ मंसिर ५

निर्देशकका रुपमा डेव्यु गरेका निश्चल बस्नेतको फिल्मोग्राफी हेर्ने हो भने उनी निर्देशक कम कलाकार ज्यादा देखिन थालेका छन् । २०१२ को चलचित्र लुटबाट २०१९ मा प्रदर्शन हुने चलचित्र बुलबुल सम्म आइपुग्दा निश्चल बस्नेतको नाममा १४ चलचित्रको क्रेडिट रहेको छ । जस मध्ये ३ चलचित्र निर्देशन गरेका निश्चल ६ चलचित्रमा कलाकार र ४ चलचित्रमा बिशेष भुमिकामा प्रस्तुत भएका छन् । त्यो बाहेक अन्य बिबिध भुमिकामा उनी चलचित्रमा आवद्ध रहे ।

सायद यसैले होला अचेल निश्चललाई लाग्ने एउटा आरोप हो – पछिल्लो समय उनमा अभिनयको भुत सवार भएको छ । फिल्मोग्राफीलाई हेर्ने हो भने यो आरोप सत्य पनि लाग्न सक्छ । तर निश्चल आरोपलाई नै सत्य मान्न नहुने प्रतिक्रिया दिन्छन् ।

मंसिर २१ गतेबाट प्रतिक्षित मानिएको चलचित्र ‘प्रसाद’ प्रदर्शन हुँदैछ । सुभाष थापाको निर्माण रहेको चलचित्रमा विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेत मुख्य भुमिकामा छन् । सार्वजनिक गरिएको प्रचार सामग्री हेर्दा उनी नेगेटिभ सेडमा प्रस्तुत भएका हुन् कि जस्तो लाग्छ । यसै साता निश्चल पत्रकारहरुसँग चलचित्र प्रसादका बारे गफिदै थिए । उनलाई उक्त भेटमा पनि अभिनयका सम्वन्धमा लगातार प्रश्नहरु आइरहे ।

उनले अभिनय गर्ने वा कलाकार बन्ने इच्छालाई मात्र हेरिनु भन्दा पनि उसले आफ्नो अभिनयमा कत्तिको निखारता ल्याएको छ त्यो महत्वपूर्ण हुने बताएका छन् । एउटा कलाकार आफ्नो कामलाई लिएर कत्तिको इमान्दार हुन्छ ? उसले एकपछि अर्को चलचित्रमा आफ्नो अभिनयमा निखारता ल्याउछकी ल्याउँदैन ? यो कुरा महत्वपूर्ण हुने भन्दै आफुले जहिले त्यही कोसिस गर्ने जनाएका छन् । त्यसो त निश्चल पनि चलचित्र प्रसादलाई लिएर निकै आशाबादी र उत्साहित देखिएका छन् । उनले आफ्नो अभिनय यात्रामा अहिले सम्मकै परिपक्क अभिनय भएको चलचित्रका रुपमा प्रसादलाई लिएका छन् । हुन त एउटा कलाकारलाई जहिले पनि आफ्नो अभिनय हेर्दा अझै धेरै गर्न सकिने ठाँउ भेटिन्छ रे । निश्चललाई त्यो अनुभुति नहुने होइन तर, उनले प्रसादमा गरेको अभिनय आफ्ना लागि अहिले सम्मकै उत्कृष्ट भएको बताउँछन् ।

त्यसो त कुन कलाकारलाई कसरी अभिनय गराउने भन्ने कुरा निर्देशकमा पनि भर पर्छ । निर्देशकको सोच अनुरुप कलाकारले काम गर्नुपर्ने हुन्छ । यसपटक निर्देशक दिनेश राउतको सोच अनुरुप उनी प्रसादमा प्रस्तुत भए । हुन त निश्चल पनि निर्देशक हुन, तर दिनेशको काम गर्ने शैली उनी भन्दा केही अर्थमा फरक रहेछ । दिनेशले क्यारेक्टरको एउटा इमेज क्रियट गर्थे अनि त्यो इमेज नभेटिन्जेल काम गरिरहेन्थे । चलचित्रको टिमसँगै रहेका निश्चलले दिनेशको कुरा गर्न थाले । निश्चलले छायाँकनको क्रममा आफुले ३४ टेक सम्म खाए । उनी र निर्देशक दुवैले अझ उत्कृष्ट कामका लागि त्यति धेरै टेक लिइएको जनाएका थिए । सायद त्यसैले पनि होला निश्चलले निर्देशकका रुपमा दिनेशलाई आफुले खोजेको कुरा निकाल्न अलिक कडा नै भएको पाए । त्यस्तो अवस्थामा कलाकारले अलिक मेहनत गर्नु पर्छ तर, निर्देशकको सोच अनुरुप रिजल्ट निस्कन्छ । निर्देशकको कडापन प्रति उनी सकारात्मक देखिए ।

त्यसो त निश्चल पनि निर्देशक भएका कारण कतै सेटमा उनी पनि हाबी हुन खोजेकी भन्ने प्रश्न उठ्नु पनि स्वभाविक नै हो । नेपाली चलचित्रका केही निर्देशकहरु बाहिर मिलेको जस्तो देखाए पनि भित्र भित्र पत्रकारहरुसँगै बसेर एक अर्काको खेदो खन्ने गरेका थुप्रै उदाहरण छन् । यसैले निश्चललाई पनि यस्तो प्रश्न गर्नु अस्वभाविक थिएन । तर, निश्चल आफु जे भुमिकामा छु त्यही भुमिकामा मात्र सिमित रहने गरेको सुनाए । यो चलचित्रमा मात्र होइन हरेक चलचित्रमा आफु कलाकार हुँदा कलाकारकै रुपमा मात्र सिमित हुने गरेको उनको भनाई छ । त्यसो त प्रसादको प्रि–प्रोडक्सनमा निर्देशक दिनेश र निश्चलले मज्जैले छलफल गरे । क्यारेक्टर अनि कथा, पटकथा र सम्वादमा पनि निकै घोतल्लिए । एक अर्काका आइडियाहरु सेयर गरे । तर, जति छलफल गरेपनि के राख्ने, के नराख्ने अन्तिम निर्णय निर्देशककै हुने उनले सुनाए । प्रि–प्रोडक्सनमा आफ्नो आइडियाहरु सेयर गरेपनि छायाँकन सेटमा भने आफु नितान्त कलाकार मात्र रहेको पनि उनले बताए । निर्देशकले आफुबाट जे खोजेको हो त्यो दिन सके फिल्म राम्रो बन्छ भनेर नै आफुले काम गरेको उनी सम्झन्छन् ।