Mansara

सकियो ‘एक मुठ्ठी बादल’को छायाँकन

२०८१ बैशाख २
सकियो ‘एक मुठ्ठी बादल’को छायाँकन

चलचित्र ‘एक मुठ्ठी बादल’ (My Share of Sky) को सुटिङ सकिएको छ । सहारा शर्माको लेखन तथा निर्देशन रहेको चलचित्रको छायाँकन २२ दिन सम्म पोखराको लामाचौर र आसपासका स्थानमा गरिएको हो ।

चलचित्रको छायाँकनमा बिभिन्न बिधाको नेतृत्व महिलाले गरेका थिए भने बहुसंख्यक महिला प्राबिधिकहरुको संलग्नता रहेको थियो । गौथली इन्टरटेन्मेन्ट, मन प्रोडक्सन र अन्डरग्राउन्ड टकिजको प्रस्तुति रहेको चलचित्रमा महिला कलाकारलाई नै मुख्य भूमिकामा देख्न सकिनेछ । चलचित्रमा आँचल शर्मा, निशा शर्मा, उषा रजक, अस्मिता गौतम, भीमा मैनाली, शेखर चापागाइँ, मनिष निरौला, गौरव विष्ट, सहयोग राज अधिकारी, अविरलप्रताप अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ ।

डक्सकुल र प्लान इन्टरनेशनल नेपालले सन् २०२१ मा गरेको एक अनुसन्धानले नेपालमा चलचित्रकर्मीहरू भित्रको महत्त्वपूर्ण लैङ्गिक असमानतालाई प्रकाश पारेको थियो । अध्ययन्को निष्कर्ष अनुसार, नेपाली चलचित्रमा १० प्रतिशतभन्दा कम महिलाहरूले चलचित्र निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छन् । यही कुरालाई मध्यनजर गर्दै निर्माण टिमले महिलाहरू प्रमुख, रचनात्मक र प्राविधिक भूमिकाहरूमा फस्टाउन सक्ने वातावरण निर्माणका लागि मुख्य विधाहरूमा महिलाको भूमिका चयन गरेको हो । यसले चलचित्र निर्माणमा विद्यमान लैङ्गिक असमानता र असन्तुलनलाई चुनौती दिने विश्वास लिएको छ । 

चलचित्रमा भियतनामकी लिन ड्यानको छायाँकन, भारतकी यशस्वी सबरवालको प्रडक्सन डिजाइनमा, प्रियंका गायकवाडको अडियो मिक्सिङ्ग, र मर्णा जेम्सको मुख्य सहायक निर्देशन रहेको छ । चलचित्रमा किर्ती जोशीले मेकअप विभागको प्रमुखको जिम्मेवारी निर्वाह गरेकी थिइन् भने पोशाक विभागको जिम्मेवारी जानकी कडायतले सम्हालेकी थिइन् ।

निकुन श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रलाई अभिमन्यु दीक्षित, अनुप पौडेल, र सामीप्यराज तिमल्सेनाले संयुत्त रुपमा निर्माण गरेका हुन् । चलचित्रलाई अर्को वर्षमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।