‘ज्वाइँ साब’मा ज्वाइँ बन्दै जितु नेपाल

२०८० चैत्र १९
‘ज्वाइँ साब’मा ज्वाइँ बन्दै जितु नेपाल

चलचित्र ‘ज्वाइँ साब’को केन्द्रिय भूमिकामा कलाकार जितु नेपाल अनुवन्धित भएका छन् । राज कुमार पण्डितको निर्माणमा तयार हुन लागेको यो चलचित्रका लागि जितुसँग निर्माणपक्षले कागजी संझौता गरेको हो । सामाजिक कथावस्तुलाई कमेडी शैलीमा भन्न लागिएकाले पनि जितु नेपाललाई चलचित्रको मुख्य भूमिकामा अनुवन्धित गरिएको निर्माता राजकुमार पण्डितले जानकारी दिए ।

हाँस्य कलाकारको रुपमा चर्चित रहेका जितुको चलचित्रमा पनि माग बढेको छ । दर्शकले उनको अभिनयलाई रुचाएपछि निर्माताहरु पनि उनलाई अनुवन्धित गर्न लालयित देखिएका छन् । यो चलचित्रलाई लिएर आफू पनि निकै उत्साहित रहेको जितुको भनाई छ ।

रेड आई फिल्मस्को प्रस्तुति, ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्यमा निर्माण हुन लागेको चलचित्रलाई बसन्त निरौलाले निर्देशन गर्दैछन् ।  चलचित्रमा मिना देवी खड्का, सौगात पण्डित र पदम तामाङको लगानी रहनेछ । चलचित्रका कार्यकारी निर्माता बिजय बस्याल हुन् । यो चलचित्रमा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद रहनेछ ।

यसैबिच, निर्माणपक्षले चलचित्रको प्रदर्शन मिति समेत तय गरेको छ । यो चलचित्रलाई आउँदो बर्षको तिहारमा रिलिज गर्ने पक्का गरिएको निर्देशक निरौलाले जानकारी दिए । चलचित्रको छायांकन वैशाख १५ गतेबाट सुरु गर्ने तयारी गरिएको छ ।