Mahajatra

हरिहरले गरे आफ्नै भविष्यवाणी, शुक्र ग्रह शुरु भएकोले चलचित्रमा राम्रो हुने

२०७५ चैत्र ६
हरिहरले गरे आफ्नै भविष्यवाणी, शुक्र ग्रह शुरु भएकोले चलचित्रमा राम्रो हुने

‘चलचित्रमा मैले आफ्नो भविष्य ठिकै देखेको छु । नराम्रो देखेको छैन । कला क्षेत्रमा सफल हुनका लागि शुक्र ग्रह बलियो हुनुपर्छ । मेरो शुक्र राम्रो छ । भर्खर शुक्रको ग्रह शुरु भएको छ । यही शिवरात्रीबाट शुक्र शुरु भएको हो ।’

सधै जसो अरुको भविष्य हेर्ने ज्योतिषी हरिहर अधिकारीले एक भेटमा आफ्नै भविष्यको भविष्य बाणी गरे । १५ गतेबाट प्रदर्शन हुने चलचित्र ‘शुभ लभ’मा अभिनय गरेका हरिहर सफल ज्योतिषी हुन् । यि चर्चित युवा ज्योतिषीकोमा आममानिस जस्तै विभिन्न पेशा, व्यवसायमा मानिसहरु पनि आफ्ना समस्या लिएर आउँछन् । कति व्यवसायिक कार्यको लागि ज्योतिषीय राय माग्न आउँछन् त कति व्यक्तिगत । दैनिक ४०–५० जनाको चिना हेर्ने यि ज्योतिषीले धेरै चलचित्रको नाम, थिमकलर मात्र होइन शुभमुर्हुत देखि रिलिज सम्मको धेरै साइतहरु जुराएका छन् । राजेश हमालको बिहे केही वर्ष रोकेर चर्चामा आएका हरिहरले यो विचमा लाखौंको भविष्य बताइसके । सबैको लागि सबै कुरा नमिल्न सक्छ तर, धेरैले उनलाई विश्वास गर्न थाले । सायद यसैले होला छोटो समयमै हरिहर चर्चामा आए ।

अरुको भविष्य बताउने यि ज्योतिषीले आफ्नै लागि पनि पक्कै चिना हेरेका होलान । ग्रह र नक्षत्रको प्रभाव आँकलन गरेका होलान । त्यसैले त नाम जुराए ‘शुभ लभ’ अनि प्रदर्शन मिति चैत्र १५ । चैत्र १५ समग्रमा एकदमै शुभ डेट भएर छानिएको होइन । आफ्नो चलचित्रका लागि शुभ भएकोले उक्त मिति छानेको हरिहरको भनाई छ । त्यसो भए उनले के आधारमा उक्त मिति शुभ देखे त ? चलचित्रको पहिलो नाम (मोटो श) अनि निर्माताको जन्म मिति र नामका आधारमा यो मिति छानिएको हो । हरिहरले रिलिज डेटमा अन्य विकल्पहरु नदिएका पनि होइनन् तर, यो डेट अनुकुल देखियो । हरिहरका अनुसार चैत्र १५ गते शुक्रबार नवमी तिथी, डेट राम्रो छ । त्यसोभए चलचित्र पनि राम्रो चल्छ होला ? यो प्रश्नको जवाफमा भने उनी पुरै खुल्न सकेनन् । उनले आफुले निकालेको डेट राम्रो छ त भने तर, चलचित्र राम्रो चल्छ भनेर स्पष्ट भन्न सकेनन् । बरु केही डिप्लोम्याटिक जवाफ दिदै भने – ‘डेट, साइत, र ग्रह नक्षत्रका आधारमा हेर्दा नराम्रो छैन ।’ हामीले फेरी सोध्यौं त्यसो भए सिनेमा चल्छ ? उनले चल्छ चल्दैन केही भनेनन् बस् ‘नराम्रो छैन’ मात्र भने ।

त्यसो त उनले चलचित्रमा आफ्नो भविष्य ठिकै देखेका छन् । अहिले उनको शुक्रको ग्रह चलिरहेको छ । शुक्र कलाप्रेमी ग्रह पनि हो । यो ग्रह बलियोसँग चलिरहेको बेला कलाको क्षेत्रमा सफल बनाउन पनि सक्छ । हरिहर चलचित्रको व्यापार बारे त स्पष्ट देखिएनन् तर, आफ्नो बारेमा कुनै दुबिधामा छैनन् । २० जना मान्छे मात्र हलमा गएर चलचित्र हेरे भनेपनि आफ्नो कामको प्रसंसा गर्नेमा उनी विश्वस्त छन् । सायदै यसैले होला रिपिट गरेरै भने चलचित्र हेरेपछि मेरो कामको प्रसंसा हुन्छ ।

हरिहरका लागि ‘शुभ लभ’ एउटा चुनौतिपूर्ण घडी हो । सफल भए ठिक छ नत्र उनीप्रति लाखौले गरेको विश्वास धर्मराउन सक्छ । आफ्नै भविष्य सहि बताउन नसक्ने, वा आफ्नै चलचित्रको सही नाम र रिलिज मिति तय गर्न नसक्नेले अरुको भविष्य कसरी बताउला भन्ने प्रश्न पनि उठ्न सक्छ । यद्यपी चलचित्र हेरेपछि दर्शकहरुमा ज्योतिष शास्त्र वा ज्योतिषीहरु प्रतिको विश्वास झन् बढ्नेमा उनी विश्वस्त देखिए । चलचित्रमा ज्योतिषलाई अन्धबिश्वासका रुपमा देखाइएको छैन, पोजेटिभ रुपमा प्रस्तुत गरिएको हुँदा धेरै ज्योतिषहरुले गर्व गर्ने उनको भनाई छ ।

एउटा २०–२१ वर्षको ठिटो, जिन्स पाइन्ट लगाएको छ, कपाल ठाडो पारेको छ, न त रामभजन वाला वस्त्र लगाएको छ न त रुद्राक्षको माला नै घाटीमा छ । तै पनि ज्योतिषी हुँ भन्छ, भविष्य बाणी गर्छु भन्छ । धेरैले उनलाई पत्याएका थिएनन् । सानो उमेरमै ज्योतिषी पेशा अंगालेका हरिहर भन्छन् – मैले जुन तरिकाले भविष्य बताउन थाले त्यसैले म प्रतिको विश्वास बढायो । अहिले ६ महिना अघि उनको समय लिनु पर्छ आफ्नो चिना देखाउनका लागि । त्यो समय हरिहर जस्तो युवा कमै थिए होला ज्योतिषी भएका । जब हरिहर चर्चामा आए धेरै युवाहरु यो पेशा प्रति आकर्षित पनि भए । अहिले जब उनी चर्चित बने तब चलचित्र खेल्न थाले । थाहा छैन उनले चलचित्र अभिनयलाई निरन्तरता दिन्छन् कि दिदैनन् तर, ६ महिना चलचित्रका लागि भनेर लगभग बन्द जस्तै गरेको ज्योतिषी पेशामा भने अवश्य फर्कन्छन् ।

चलचित्रको एउटा मात्र कुरा फुस्क्यो भने पनि पुरै कथा लिक हुने भन्दै हरिहरले धेरै कुरा खोल्न चाहेनन् । कथाको बारेमा बोल्दा सोचि सम्झी बिचार गरेर बोलेका हरिहर आफ्नो क्यारेक्टरका बारेमा भने मज्जैले खुले । चलचित्रको कथा हरिहरको लाइफ स्टाइलसँग धेरै मिल्छ रे । चलचित्रमा उनको भुमिका एउटा चर्चित ज्योतिषीको हो यति सम्मकी उसलाई भेट्न पनि मुश्किल पर्छ । अनि उसको पनि लभस्टोरी हुन्छ । एक दुई ज्योतिषीले उसको बारेमा भविष्यबाणी पनि गरेका हुन्छन् । ति भविष्यबाणीले पनि कहि कतै प्रभाव पार्छ । चलचित्रको हिरो पनि ज्योतिषी नै हो ।

हरिहर पनि रियल लाइफमा चर्चित ज्योतिषी हुन । जुन कुरा चलचित्रमा देखाइएको ज्योतिषीसँग ठ्याक्कै मिल्छ । उसको हाउभाउ, गेटअप, आम्दानी सबै कुरा । तर, लभ स्टोरी नी ? हरिहरसँग पनि असफल प्रेमको एउटाम कहानी छ । ज्योतिषी बन्नु अघि नै शुरु भएको उनको लभ ज्योतिष बनेको केही वर्षमा छुटेको थियो । चलचित्रमा भने यो कहानी मिल्दैन । ‘शुभ लभ’मा पनि लभ त छ तर, उनले रियल लाइफमा भोगेको जस्तो होइन ।