अनि ऐना बनेर त्यही चलचित्रले समाजलाई प्रश्न गर्ने छ – हेर आफ्नै अनुहार, भुल्दैपो छौ कि ?

२०८२ जेष्ठ ६
अनि ऐना बनेर त्यही चलचित्रले समाजलाई प्रश्न गर्ने छ – हेर आफ्नै अनुहार, भुल्दैपो छौ कि ?
चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को एक दृष्यमा कलाकारद्वय प्रकाश सपुत र विजय बराल

जब सुर्यको पहिलो किरण सगरमाथाको शिखरमा झुल्किन्छ, चिसो बतासले फूलका थुँगाहरु चुम्छ, अविरल बग्ने नदिहरुले सुशेली हाल्दै आफ्नो कथा बताउँछन्, बन–जंगलमा चराचुरुङ्गीको मधुर धून कृष्णजीको बाँसुरी सरी गुन्जन थाल्छ, यि सबै परिवेशमा हामी आफ्नै मौलिकता भेट्छौं । मौलिकता भन्दा साथ ग्रामिण जीवनको कथा मात्र होइन शहरका चम्किला प्रकाश भित्रको उज्यालो पनि हो । हरेक १५ दिनमा तिथी फेरिदा आकाशमा देखिने पूर्ण चन्द्रमाको कथा मात्र होइन औसीको कालो रातको कथा पनि हो । जीवनका हरेक आयामहरुका कथा, जो हाम्रा आफ्ना भोगाई हुन् ।

जब फाटेको आकाशबाट झरेको चिसो पानीले धुलो र माटोको सुगन्ध ल्याउँछ, त्यही मौसमले हाम्रा बाल्यकालका कथाहरू सम्झाउँछ, बाआमाले भान्छामा सुनाएका कथा, मुढा बालेर आगो ताप्दै गर्दा बाजेले साटेका ब्यथा, ड्राइभर दाईका घुम्ती पिच्छेका कथा, युगल जोडीका प्रेम कथा, दारी भाईको चिया पसलका कथा, चिया वालाका चियाका व्याथा, गाई–बाख्रा चराउँदा कथा मात्र होइन, शहरमा घर ठड्याउँदाका कथा, टुकिका कथा, विजुलीका कथा, सडकका कथा, सत्ताका कथा, विरताका अनि इतिहासका गाथा, द्वन्द्वका कथा, राजनीतिका कथा, बाबुका संघर्षका कथा, आमाका ममताका कथा, संस्कार र संस्कृतिका कथा, चाड पर्वका कथा, भुगोलका कथा, जाति विशेषका कथा, धर्मका कथा, लोक कथा, मिथक सबै सबै हाम्रा मौलिक कथा हुन् ।

हामीलाई जीवन्त बनाउने, हामीलाई नेपाली बताउँने, ती कथा जसले हामीलाई घुमाउँथ्यो काल्पनिक, ऐतिहासिकता र सत्यजीवनका घुम्तीमा । ती कथाहरु हामीभित्र जिन्दगीका गहिरा निशानी बनेर बस्छन् । चलचित्र भनेको समयको साक्षी हो । जीवनका सुगन्ध र पीडाको जिवन्त अभिलेख हो । जब चलचित्र मौलिक कथामा बग्न थाल्छ, तब त्यो पर्दामा चित्रित फगत् कथा मात्र हुँदैन्, त्यो कथा हाम्रो सुगन्ध भएर सुवासिन्छ, हाम्रो स्वाभिमान भएर उचालिन्छ अनि हाम्रो पहिचान भएर अडिन्छ ।

नेपाली चलचित्रमा मौलिक कथाले पस्किने स्वाद न त अनुवादित सपनाको अनुकरण हो, न त पराइ संस्कृतिको उदाहरण । यो त आफ्नै मुटुको धड्कन हो, आफ्नै संगीतको राग हो । हाम्रा कथाहरुमा पहाडको घामले जलेका अनुहार छन्, खर्कमा गाइगोरु लिएर दौडिने तन्नेरीहरू छन्, पानीपधेरो गर्ने आमाहरुका व्यथा छन्, भविष्यको सुन्दर सपना बोकेर दौडिरहेका युवाहरु छन्, सम्पन्नताको पछि अति महत्वकांक्षाका सहित दौडनेहरुको व्यथा छन्, शहरका चिल्ला सडकहरुका कुरा छन्, ति सडकमा मात्र होइन महलमा बस्नेहरुका पनि आफ्नै ब्यथा छन्, छहरामा आँखा बगाएर कुराकानी गर्ने मायालु छन्, र कहि कतै गहिरोसँग हराएका विस्मृत सपना छन् । यी सबै कथा जब चलचित्रको पर्दामा बोल्न थाल्छन्, तब त्यो चलचित्र मात्र रहँदैन, त्यो नेपालीपनको आत्मा बन्छ ।

नेपाल, विविधता र सांस्कृतिक धरोहरको धनी राष्ट्र, जहाँ प्रत्येक हिमाल, पहाड र तराई आफ्नै कथा बोकेर बाँचिरहेको छ । यी कथाहरुलाई जिउँदो राख्ने नयाँ माध्यम भनेको चलचित्र हो – जहाँ कथाहरु दृश्य बन्छन्, र भावनाहरु प्रतिविम्वित हुन्छन् । अनि यस्ता चलचित्र केवल चलचित्र मात्र नभएर सांस्कृतिक अभिलेख बन्छन् । मौलिक कथाहरु केवल मनोरञ्जनका साधन नभई, हाम्रो समाजको मूल्य, मान्यता विश्वास र संस्कृतिको प्रतिबिम्ब पनि हुन् । यिनै कथाहरुलाई नेपाली चलचित्रले कहिले जीवन्त चित्रणका रूपमा, कहिले आधुनिक व्याख्याका रुपमा पर्दामा उतार्ने प्रयास गरिरहेका छन् ।

समयसँगै आधुनिक जीवनशैली र प्रविधिले मौलिक कथाहरुलाई विस्थापित गर्ने सम्भावना पनि उत्तिकै देखिन्छ । अचेल मानिसहरु टिकटक र युट्युवका भिडियोहरु अनि फेसबुक र इन्स्ट्राका रिलहरुमा भुलिरहेका छन् । युवा पुस्ता गेमिङ साइटहरुमा अभ्यस्त छ । यस्तो अवस्थामा चलचित्र एउटा सशक्त माध्यम बनेको छ, जसले यी अमूल्य कथाहरुलाई नयाँ पुस्तासम्म पु¥याउने र तिनलाई जीवन्त बनाइराख्ने काम गर्न सक्छ ।

समयको प्रवाहसँगै कतिपय सन्दर्भहरुमा मेकरहरुले लोेककथा र मिथकलाई आधुनिक सन्दर्भमा पुर्नव्याख्या गर्न थालेका छन् । नयाँ पुस्ताका निर्देशकहरुले फेन्टेसी, रहस्य, सामाजिक यथार्थजस्ता विधाहरुसँग लोककथाको संयोजन गरेर नयाँ कथा निर्माण गरिरहेका छन् । यसले नेपाली चलचित्रलाई मौलिकता दिने मात्र नभई अन्तर्राष्ट्रिय दर्शकको आकर्षण पनि बढाउन सक्छ । किनकी हामीले प्रबिधि र प्राबिधिक रुपमा हलिउड, बलिउड जस्ता ठूला उद्योगका चलचित्रलाई माथ खुवाउन नसके पनि कथाका हिसावले पक्कै बलियो छौं ।

यसो भन्दै गर्दा मौलिक कथा के लाई भन्ने प्रश्न उठ्न सक्ला । मौलिकता भन्नाले केवल नयाँ कथा भन्ने कुरा होइन, मौलिकता भन्नाले आफ्नो भोगाइ, आफ्नो भूगोल, आफ्नै संस्कारलाई कलात्मक रूपमा अभिव्यक्त गर्नु हो । त्यो अभिव्यक्ति जसले दर्शकलाई भित्रसम्म छोइदिन्छ, जसले यो कथा हाम्रो हो भन्ने अनुभूति दिलाउँछ । नेपाली मौलिक कथा भन्नाले, हाम्रो समाजका कथा, हाम्रो दुःख र हर्षका कथा, हाम्रो सपना र संघर्षका कथा, हाम्रो पहिचान र इतिहासका कथालाई बुझ्नु पर्छ । मौलिकता भनेको सत्यताको उज्यालो हो जहाँ कथा बनाइदैन बरु वर्षौ देखि देखे भोगेका कथालाई पर्दामा जीवन्त बनाइन्छ । जुन कथामा हाम्रो समाजको स्वास छ, हाम्रो संस्कृतिको सुगन्ध छ, हाम्रो स्वप्नहरूको स्वर छ, यी सबै मौलिक कथाका खानी हुन् ।

त्यसो त नेपाली चलचित्रको प्रारम्भिक चरणमा मौलिक कथाले महत्वपूर्ण स्थान ओगटेको पाइन्छ । ‘माइती घर’, ‘कुमारी’ जस्ता चलचित्रले नेपाली जनजीवनका कथा बोले, गाउँघरका भावना देखाए, नेपालीहरुको संवेदना चित्रित गरे, संस्कार र संस्कृतीलाई देखाए । विचको केही समय नेपाली चलचित्र भड्कियो । नेपाली चलचित्रकर्मीले आयातित कथा बोके, अनुकरण गरे, नक्कल गरे र आफ्नो मौलिक सुगन्ध बिर्सदै गए । धेरै समयसम्म नेपाली चलचित्रमा भारतीय र पाश्चात्य चलचित्रको छायाँले प्रभाव पारेको पाइन्छ । तर, जब–जब मौलिकताको झिल्को फूट्यो, तब–तब नेपाली चलचित्रले पुनः आफूलाई अब्बल रुपमा उभ्यायो । गत वर्षका सफल चलचित्रहरुको विश्लेषण गर्दा कथामा मौलिकता थियो । मौलिक कथामा दर्शकले अपनत्व महशुस गरे । चलचित्र व्यवसायिक रुपमा सफल भए । समाजमा जरो गाडेर रहेको बोक्सी कु–प्रथामा आधारित बोक्सीको घर, जातिय विभेदमा आधारित पुजार सार्की, हिमाली भेगको सुगन्ध बोकेको शाम्वाला, संघर्ष र सपनाको कथा भन्ने पूर्ण बहादुरको सारङ्गी, हिंसात्मक आन्दोलनको पीडा भन्ने राजागञ्ज सबै सफल चलचित्रको सूचिमा छन् । यि चलचित्रले घरेलु बक्स अफिसमा व्यवसायको ऐतिहासिक रेकर्ड त कायम गरे नै, अन्तराष्टिय प्लेर्टफर्महरुमा समेत आफुलाई अब्बल सावित गरे ।

अब समय आएको छ, हामी फेरि मौलिक कथामा फर्किनुपर्छ । नेपालजस्तो विविधताले भरिएको देशमा हरेक गन्तव्यमा एउटा कथा सुतेको छ, आफ्नै श्वासमा, आफ्नै आवाजमा भिन्नभिन्न कथा लुकेको छ । चलचित्रकर्मीले त्यसलाई चलचित्रको पर्दामा भन्न आवश्यक छ । हाम्रो अस्तित्वका मुहान भनेका मौलिक कथाहरु हुन् भने त्यो मुहानको प्रवाह चलचित्र बन्नु पर्छ । अनि चलचित्रकर्मी त्यो प्रवाहका सारथी बन्न सक्नु पर्छ । 

जब चलचित्रको पात्र बोल्छ, हिड्छ, लड्छ, र उठ्छ, यि सबै क्रियाकलाप हाम्रा आफ्नै हुन्छन् । त्यो हेर्दै गर्दा हामी हाम्रो विगतको ऐनामा झुल्किन्छौं । त्यसैले मौलिक कथा दर्शकका लागि चलचित्र मात्र होइन, आफ्नै आत्मा हेर्ने यात्रा हुन्छ । जब हाम्रै कथा पर्दामा देखिन्छ, त्यो हेर्दै गर्दा त्यसले हाँसो, रोदन, विद्रोह, प्रेम, संघर्ष सबै भावना दर्शकको हृदयमा उत्पन्न गराइदिन्छ । उदाहरणका रुपमा जब चलचित्रले युवाको बेचैनी अनि वृद्धको मौन आँसुहरु देखाउँछ, तब दर्शक त्यो कथामा हराउन थाल्छ । मौलिक कथामा यस्तो शक्ति हुन्छ, जुन दर्शकको आत्मासम्म पुग्छ । जब दर्शकले पात्रसँग आफुलाई कनेक्ट गर्छ, तब उसले केवल दृश्य हेर्दैन, हरेक दृष्यमा आफुलाई देख्न थाल्छ । यही नै मौलिक कथाको शक्ती हो । कथाको जीवन्त, सरल, स्वाभाविक र मौलिक प्रस्तुतिले दर्शकहरुलाई गहिरोसँग छुन्छ ।

विदेशी बजारमा नेपाली चलचित्रले रंगीन दृश्य बेच्न सक्दैन, बरु मौलिक भावना बिक्छ । यस्तो लाग्छ विश्व चलचित्र थाकिसकेको छ, एकै किसिमले प्याकेज गरिएका चलचित्र हेर्दा । र त बजारले अब नयाँ स्वाद खोज्दैछ, नयाँ सुगन्ध, नयाँ संवेदना रोज्दैछ । हिमालको अटलता, नदीको स्वच्छता, जंगलको सुस्केरा, पहाडको मौनता अनि तराईको उर्वरता यी सबै विश्वका लागि नवीन कथाहरु हुन् । चलचित्रका माध्यमबाट हाम्रो मौलिक कथा, हाम्रो मौलिक आवाज विश्वलाई सुनाउन सकिन्छ भन्ने विश्वास चलचित्रकर्मीले राख्न जरुरी छ । यस्ता चलचित्रले अन्तराष्टिय क्षेत्रमा नेपाली चलचित्रको मौलिक परिभाषा स्थापित गर्न सक्छन् । तर, मौलिक कथामा चलचित्र बनाउँदा चलचित्रकर्मीहरु बढी नै सजग रहनु पर्छ । मौलिक कथाहरु बिभिन्न समुदाय र व्यक्तिको अन्तर हृदयसँग अन्तरघुलित भइसकेका हुन्छन् । यसकारण अरुको भावनाको सम्मान गर्नु पहिलो कर्तब्य हुन आउँछ । मौलिकताको नाममा कथालाई बनावटी बनाउनु हुँदैन, मौलिक कथा कोर्नु भनेको कल्पनामा उडाउनु होइन, कथाको आत्मालाई चिन्न सक्नु पर्छ । अनुसन्धान र संवेदनशीलता बिना कोरिएका कथाहरू शून्य हुन्छन् । पात्रहरूलाई यथार्थको धरातलमा हिँड्न दिनुपर्छ, संवादहरुलाई गफजस्तै होइन, जीवनजस्तै बनाउनुपर्छ । परिदृश्यको सत्यता र भावनाको गहिराइमा विशेष ध्यान दिनुपर्छ ।

यस्तै सांस्कृतिक विकृति नआओस् भन्ने कुरामा ध्यान दिन अत्यन्तै आवश्यक छ । एउटा सानो गल्तिले सिङ्गो परम्परालाई ध्वस्त पार्न सक्छ । खासगरि संस्कार, संस्कृति र धर्मसँग जोडिएका कथाले जति रोचकता दिन सक्छ, त्यो भन्दा ठूलो कुरा उसको आत्मा जोगाउनु पर्छ । त्यसैले चलचित्र निर्माण पूर्व चलचित्रकर्मीले समाजमा पार्ने सकारात्मक र नकारात्मक प्रभावको विश्लेषण गर्नुपर्छ । र नकारात्मक असरहरु न्यून गर्नुपर्छ । कथामा लुकेको दर्शन, संघर्ष र संस्कृतिको गहिरो अर्थलाई क्षय हुन नदिई चलायमान बनाउनु पर्छ ।

मौलिक कथाका चलचित्रहरूले समाजमा गहिरो प्रभाव पार्छन् । यस्ता चलचित्रहरुले हाम्रो अस्तित्वको बहस उठाउँछन्, हामी को हौं भन्ने प्रश्न गर्छन् । जब–जब जीवनका अनगिन्ती कथाहरू पर्दामा आउँछन्, तब चलचित्र समाजको दर्पण मात्र हुँदैन्, त्यो समाज परिवर्तनको शक्ति बन्छ । चलचित्रले समाजमा छरिएका विसङ्गतिहरू देखाउँछ, विस्मृत इतिहासहरुलाई फेरि जीवन दिन्छ । अनि ऐना बनेर त्यही चलचित्रले समाजलाई प्रश्न गर्ने छ – हेर आफ्नै अनुहार, भुल्दैपो छौ कि ?

आज नेपाली चलचित्रले आफूभित्रको मौलिकताको झरनाबाट पानी ल्याउन जरुरी छ । मौलिक कथा भनेको केवल कथावाचन होइन्, यो त मुटुको करुण गीत हो, जसले विश्व चलचित्रको भीडमा पनि हामीलाई पृथक बनाउँनेछ । विश्वलाई हामीले भन्नु छ – हामीसँग सगरमाथा, बुद्ध, सिता र भृकुटी मात्र होइनन्, हामीसँग अनन्त कथा छन्, विविध जीवनका हरेक पलहरु बोल्नेछन् । त्यसैले, अब समय आएको छ – नक्कलको बादल हटाएर मौलिकताको सूर्य उदाउने । नेपाली चलचित्रको आकाशमा अब आफ्नै रङ्ग छर्ने बेला आएको छ । बिश्व चलचित्र बजारमा हामी हाम्रो आफ्नै कथामा गर्जनुपर्नेछ, हाम्रो आफ्नै स्वप्न पर्दामा बाच्नुपर्नेछ । जब नेपाली चलचित्रले मौलिक कथा गाउनेछ, त्यो आवाज केवल हलसम्म सीमित रहने छैन्, त्यो आवाज धून बनेर गुन्जीरहने छ, चलचित्रको परिवेशमा टाढा–टाढाका आकाश सम्म, अझ्टाढा सपनाहरुको भूमिमा । अनि संसारले भन्ला – नेपाली चलचित्र मौलिकताको परिभाषा हो, जीवनको दर्शन हो ।