‘होस्टेल ३’ टिमले ‘बाउ भर्सेस छोरा’ बनाउने

२०८२ जेष्ठ ७
‘होस्टेल ३’ टिमले ‘बाउ भर्सेस छोरा’ बनाउने

चलचित्र ‘बाउ भर्सेस छोरा’ निर्माणको घोषणा गरिएको छ । बुधबार चलचित्रको टाइटल पोष्टर सार्वजनिक गर्दै निर्माणको घोषणा गरिएको हो । सशान कँडेलको निर्देशन रहने चलचित्रलाई सम्मान इन्टरटेन्मेन्टले निर्माण गर्दैछ ।

चलचित्रले पुस्तान्तरण अर्थात् दुई पुस्ताबीचको सोच, मूल्य र व्यवहारको टकराबलाई केन्द्रमा राख्ने जनाइएको छ । चलचित्रको घोषणामा प्रयोग गरिएको टाइटल डिजाइनमा दुई फरक पुस्ताका सोचलाई ‘X Generation बाउ’ र ‘Z Generation छोरा’ भनेर चित्रण गरिएको छ, जसको डिजाइन रोयल भीमसेनले गरेका हुन् । नेपाली समाजमा बढ्दो पुस्तागत टकराब र नयाँ पुस्ताले भोगिरहेको दुर्व्यसनको यथार्थतालाई पर्दामा उतार्न लागिएको लेखक माधव शर्माले बताए । चलचित्रले केवल बाउ र छोराबीचको भौतिक दूरी होइन, सोच, व्यवहार, दृष्टिकोण र जीवनप्रतिको बुझाइमा आएको अन्तरलाई केन्द्रमा राखेको उनले बताए । चलचित्रका कार्यकारी निर्माता शङ्कर कोइराला हुन् ।

यही टिमले निर्माण गरेको चलचित्र ‘होस्टेल ३’ बक्स अफिसमा सफल भएको थियो । यो चलचित्रमा पनि ‘होस्टेल ३’ कै कलाकार दोहोरिन्छन् वा अन्य कलाकारको अभिनय रहने खुलाइएको छैन । निर्माण पक्षले कलाकार चयन, छायाङ्कन सुरु हुने मिति र प्रदर्शन समय चाँडै जानकारी दिने बताएको छ ।