Mansara

‘लण्डन टु पेरिस’ मा गरिमा शर्मा

२०७९ जेष्ठ १२
‘लण्डन टु पेरिस’ मा गरिमा शर्मा

दर्जनौं म्युजिक भिडियोमा अभिनय गरिसकेकी अभिनेत्री गरिमा शर्मालाई अब भने नेपाली फिल्ममा देख्न पाइने भएको छ । उनी नयाँ नेपाली फिल्म ‘लण्डन टु पेरिस’ मा अभिनेत्रीको रुपमा अनुबन्धित भएकी छिन् ।

एबी इन्टरनेश्नलको ब्यानरमा निर्माण हुने यो गरिमाको डेब्यू फिल्म हुनेछ । केही समयअघि नै निर्माण टिम तथा अभिनेत्री शर्माबीच लिखित सम्झौता भएको बताइन्छ । अभिनेत्री शर्माले ‘लण्डन टु पेरिस’ ले आफुलाई फिल्म क्षेत्रमा दरिलो प्रवेशको रुपमा उभ्याउने विश्वास व्यक्त गरेकी छन् । निर्माण टिमका अनुसार फिल्ममा गरिमाको महत्वपूर्ण भूमिका हुनेछ ।

आधुनिक प्रेमकथामा निर्माण हुने यो फिल्ममा यसअघि नै अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह फाइनल भैसकेकी छन् । निर्माण टिमले दिएको जानकारी अनुसार फिल्मका मुख्य अभिनेतासमेत फाइनल भैसकेका छन् । चाँडै एक फर्स्टलुक पोस्टर सहित अभिनेता सार्वजनिक गर्ने तयारी निर्माण टिमको छ ।

घनश्याम लामिछानेको निर्देशनमा निर्माण हुने फिल्मका लागि पछिल्ला केही दिनयता कान्तिपुर फिल्म एकेडेमीमा वर्कसप चलिरहेको छ । निर्देशक लामिछानेले यसअघि धौली, अग्निदहन, पञ्चेबाजाजस्ता फिल्म निर्देशन गरिसकेका छन् । फिल्मको कथा, पटकथा तथा संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । यही असारदेखि यो फिल्म फ्लोरमा जानेछ ।

अमित बस्नेत, अजित कुमार थापा, परी राना, अंकित गौतम, सनिश खकुरेल निर्माता रहेको फिल्मका सहनिर्माता अजित सिंह हुन् । एबी इन्टरनेशनलले निर्माण गरेको फिल्म ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनको तयारीमा छ भने यही टिमले अहिले बेलायतका विभिन्न सहरमा ‘हनी बनी’को छायांकन गरिरहेको छ ।