Mansara

चलचित्र ‘फर्की फर्की’को शुभमुहूर्त

२०८० मंसिर ८
चलचित्र ‘फर्की फर्की’को शुभमुहूर्त

चलचित्र ‘फर्की फर्की’को शुभमुहूर्त गरिएको छ । शुक्रबार ललितपुरस्थित बंगलामुखी मन्दिरमा क्यामेरा, स्क्रिप्ट र क्ल्याप पूजा गरि मुहूर्त गरिएको हो ।

अनमोल केसी र जसिता गुरुङको मुख्य भूमिका रहने चलचित्रको मंसिर ११ गते पोखराबाट छायांकन सुरु हुने हुने छ भने अन्नपूर्ण बेसक्याम्प, काठमाडौं, मुस्ताङ र इन्डोनेसियाको बालीमा पनि छायांकन गरिनेछ । आउँदो बर्षको जेठ ११ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको चलचित्रलाई सुयोग गुरुङले निर्देशन गर्दैछन् ।

रोहित अधिकारी र ओम अग्रवालको लगानी रहने चलचित्रमा रवि काफ्ले, समृद्धि अर्याल, कृष्ण मल्ल, निर्मल शर्मा, विन्दा खतिवडा, अशिक गुरुङ, माओत्से गुरुङ, रुस्का वैद्य श्रेष्ठ आदिको पनि अभिनय रहनेछ । अनीरुद्र गिरी कार्यकारी निर्माता रहेको चलचित्रको सहनिर्मातामा मनोज वली र रामु न्यौपाने छन् ।

शुभमुहूर्त समारोहमा अभिनेता केसीले चलचित्र टेबलमै तयार भइसकेको बताए । उनले भने, ‘चलचित्र भनेको टेबलमा बन्छ । यो चलचित्र पनि टेबलमै तयार भइसकेको छ । दर्शकले लभस्टोरी चलचित्रमा फरक स्वाद पाउनु हुनेछ । यो मेरो करिअरको नयाँ यात्रा पनि हो ।’ लभस्टोरी चलचित्रमा अनमोलसँग काम गर्नका लागि आफू उत्साहित रहेको अभिनेत्री जसिता गुरुङले बताइन् ।

चलचित्रमा नरेन्द्र मैनालीको डीओपी, अष्ट महर्जनको द्वन्द्व निर्देशन, निर्देशक गुरुङ स्वयंको कथा तथा पटकथा लेखन, रोमन बज्राचार्य, नरेन लिम्बु र अनमोल गुरुङको संगीत, किरण थापाको गीतमा कोरियोग्राफी, निमेष श्रेष्ठको सम्पादन र प्रोडक्शन डिजाइनरमा शंकर पाण्डे रहेका छन् ।