डेब्यु चलचित्र ‘दुई कदम’लाई लिएर उत्साहित इओन

२०८० मंसिर १
डेब्यु चलचित्र ‘दुई कदम’लाई लिएर उत्साहित इओन

अभिनेता इओन लिम्बु आगामी मंसिर २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘दुई कदम’बाट डेव्यु गर्दैछन् । अहिले प्रचारप्रसारको दौडधुपमा रहेका उनी चलचित्रलाई लिएर निकै उत्साहित छन् ।

ताप्लेजुङका इओन हङकङमा जन्मिएर काठमाडौंमा हुर्किए । अभिनयमा बाल्यकालदेखि रुचि राख्दै आएका उनी यतिबेला अस्कर इन्टरनेशनल कलेजमा ‘ब्याचलर इन सिनेमा स्टडिज’मा अन्तिम वर्षमा अध्ययनरत छन् ।

इओन चलचित्रलाई लिएर यतिबेला डर, उत्साह, खुशी एकैपटक महसुस गरिरहेको बताउँछन् । बाल्यकालमा देखेको सपना पुरा गर्न पाउँदा उनी निकै उत्साहीत पनि छन् । तर, चलचित्रको पर्दामा देखेको जस्तो क्यामेरा अघि अभिनय गर्न सहज नरहेको बुझाई उनको छ । साथै उनले नृत्य लगायत चलचित्रको लागि आवश्यक पर्ने सवै तयारी गरेको बताउँछन् ।

पहिलो दिन सेटमा पुगेर अभिनय गर्दाको क्षण अनौठो महशुस भएको भन्दै उनले भने – ‘पहिलो दिन नै गीतको छायांकन भएकाले मेरा सिंगल सर्ट खिचिएको थियो । क्यामेरा अघि उभिदा डर र उत्साह दुवै थियो । तर निर्देशक उदय सुब्बाले निकै सहज रुपमा अभिनय गराउँनु भयो । जसले गर्दा त्यसपछिका दिनमा काम गर्न निकै सजिलो भयो ।’ उनले अघि थपे –  ‘दुई कदममा धेरै सिनियर कलाकारहरुले अभिनय गर्नु भएको छ । उहाँहरुसँग काम गर्दा के भन्नु होला भन्ने डर भन्दा पनि कसरी राम्रो काम गर्ने भन्नेमा नै केन्द्रित थिए ।’

चलचित्रमा उनले चुलबुले केटाको भुमिका निवार्ह गरेका छन् । जो साथीहरुसँग घुँम्न, रमाउन र ट्राभल गर्न रुचाउँछ । आफु रियल लाइफमा पनि त्यस्तै भएकाले डेव्यु चलचित्र भएपनि चरित्र निर्माणको लागि धेरै तयारी गर्नु नपरेको उनी बताउँछन् । आफूले गरेको मेहनत अब चाँडै पर्दामा आउँदैछ सोही कारण अहिलेको समय आफ्नो जीवनको सबैभन्दा महत्वपूर्ण क्षण लागिरहेको उनी बताउँछन् । इओन आफूले अभिनय गरेको पहिलो चलचित्र सोचेको भन्दा राम्रो बनेको बताउँछन् । यसै क्षेत्रमा करिअर बनाउने सोचमा रहेका उनी पहिलो चलचित्रमा भएका कमीकमजोरी सुधार्दै आगामी यात्रा अगाडि बढाउने तयारीमा छन् ।

उदय सुब्बाको निर्देशन रहेको चलचित्रमा इओनका अलवा सिमोन गिरी, सुनिल थापा, कविता आले, सुरवीर पन्डित, प्रेम सुब्बा र गौरव पहारी, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बु, जिवन लिम्बु, चन्दा दाहाल र प्रितिका शर्माको अभिनय रहेको छ । अजम्बरी फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्रमा तारा देवी लिम्बुको लगानी रहेको छ । चलचित्रको एक गीतमा अभिनेता विल्सन विक्रम राईले पनि विशेष भुमिका निवार्ह गरेका छन् ।

चलचित्रमा दयाराम घिमिरेको कथा तथा पटकथा लेखन, विक्रम डिसीको छायांकन, ताराप्रकाश लिम्बु र विकास चौधरीको संगीत, डिपी खनालको गीत लेखन, राजु किराँतीको द्वन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी र प्रविन ढकालको सम्पादन रहेको छ ।