‘यो मन त मेरो नेपाली हो’को प्रिमियर सम्पन्न, चलचित्रकर्मीले गरे तारिफ

२०८२ आषाढ २६
‘यो मन त मेरो नेपाली हो’को प्रिमियर सम्पन्न, चलचित्रकर्मीले गरे तारिफ

चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को प्रिमियर सम्पन्न भएको छ । बुधबार साँझ काठमाडौँको कमलपोखरीस्थित बिग मुभिजमा चलचित्रको प्रिमियर गरिएको हो ।

नेपाली भाषा, साहित्य, कला र देशभक्तिप्रति समर्पित चलचित्र शुक्रबारबाट देशभर प्रदर्शनमा आउँदैछ । प्रिमियरमा चलचित्रकर्मी, पत्रकार, सुरक्षाकर्मी लगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति थियो । जहाँ चलचित्र हेरेका चलचित्रकर्मीहरुले यसको विषयवस्तुको प्रसंसा गरेका छन् ।

चलचित्र हेरेपछि निर्देशक तुलसी घिमिरेले चलचित्रले नेपाली भाषा, साहित्य र कलाको संरक्षण तथा प्रवर्द्धन गर्ने प्रयास प्रशंसनीय रहेको बताए ।

कलाकार राजाराम पौडेलले नेपालीपनले भरिएको कथा, देशभक्तिपूर्ण भावनाले भरिएको प्रस्तुति र नेपाली भाषाको महत्त्व झल्काउने प्रयासका कारण ‘यो मन त मेरो नेपाली हो’ हरेक नेपालीले हेर्नुपर्ने चलचित्र भएको बताए । 

निर्देशक अशोक शर्माले चलचित्रको तारिफ गर्दै यसले दर्शकको मन जित्ने विश्वास व्यक्त गरे । लोकगायिका ज्योति मगरले सम्पूर्ण नेपालीले हेर्नुपर्ने चलचित्र बनेको भन्दै  चलचित्रको विषयवस्तुमा प्रशंसा गरेकी थिईन् । 

संचारकर्मी सुशील नेपालले विदेशमा हुँदा नेपाली भाषा, साहित्य, कला र देशको महत्त्व थाहा हुने हुँदा चलचित्रले यो सबै कुरा देखाउन खोजेको बताए । उनले राज्यले यस्ता चलचित्रलाई कर छुट दिनुपर्ने सुझाव पनि दिए ।

चलचित्रका निर्देशक मित्र प्रधान (नर)ले चलचित्रको प्रिमियरमा पाएको प्रतिक्रियाले आफूलाई हौसला मिलेको बताए । 

पद्यमा इश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा मित्र प्रधान प्रस्तुतकर्ता रहेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’लाई ज्ञान बहादुर प्रधान (रोशन)ले निर्माण गरेका हुन् । चलचित्रमा नारायण खाती,भूपेन्द्र लिङ्देन “मन्त्री”, सुवास भण्डारी, विजय सुब्बा,बिजिता परियार , देवराज राजवंशी, भानुभक्त सिटौला लगायतको पनि अभिनय रहेको छ ।