चैत्र ३० मै अष्ट्रेलिया र अमेरिकामा ‘डिग्री माइला’

२०८० चैत्र २०
चैत्र ३० मै अष्ट्रेलिया र अमेरिकामा ‘डिग्री माइला’

चलचित्र ‘डिग्री माइला’ अष्ट्रेलिया र अमेरिकामा पनि चैत ३० गतेबाट नै प्रदर्शन हुने भएको छ । निर्माणपक्षले अष्ट्रेलिया र अमेरिका रिलिजको पोस्टर सार्वजनिक गर्दै नेपाल रिलिजकै दिन उक्त देशहरुमा पनि रिलिज हुने जानकारी दिएको हो ।

चलचित्रलाई नेपाल बाहिर सेभेन सिज इन्टटेन्मेन्टले रिलिज गर्दैछ । निर्माणपक्षले दिएको जानकारी अनुसार चलचित्र अष्ट्रेलियाका प्रमुख शहरहरु सिड्नी, व्रिजबेन, क्यानबेरा, एडिलेट, होबर्ट, डर्विन, मेर्लवर्न, पर्थ तथा लउनसेस्टनमा रिलिज हुनेछ । अष्ट्रेलियामा buyonlineticket.com.au बाट चलचित्रको टिकट काट्न सक्नेछन् ।

यसैगरी अमेरिकाका ४० बढि शहरमा करिब ४ सय शोहरु हुने जानकारी निर्माणपक्षले दिएको छ । रामबाबु गुरुङ निर्देशित चलचित्रको शिर्ष भुमिकामा दयाहाङ राईले अभिनय गरेका छन् । चलचित्र दयाका साथै आँचल शर्मा, विजय बराल, बुद्धि तामाङ, प्रकाश घिमिरे, माओत्से गुरुङ लगायतको अभिनय रहेको छ । बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रले डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा पेस गर्छ ।

यही नाममाथि अभिनेता दयाको निर्देशनमा केही वर्षअगाडि नाटकसमेत प्रदर्शन भइसकेको छ । चलचित्र सोही नामको नाटकमा आधारित रहेको छ । बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर निर्माण गरेको चलचित्रका निर्माताहरु विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ रहेका छन् ।

चलचित्रका कार्यकारी निर्माता क्रिश लामा हुन् । चलचित्रमा निमेष श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउण्ड म्यूजिक रहेको छ । यस्तै चलचित्रलाई दुई क्यामराम्यान शिवराम श्रेष्ठ तथा राइली एस शिनले खिचेका छन् ।