Modibeni
Numbari Sun

‘डिग्री माइला’ प्रदर्शन, प्रिमियरमा सुखद प्रतिक्रिया

२०८० चैत्र ३०
‘डिग्री माइला’ प्रदर्शन, प्रिमियरमा सुखद प्रतिक्रिया

नयाँवर्षको अवसर पारी सर्वजनिक प्रदर्शनमा आएको चलचित्र ‘डिग्री माइला’ले बिहीबार सम्पन्न प्रिमियरमा प्रशंसा बटुलेको छ । रामबाबु गुरुङको निर्देशनमा बनेको चलचित्रले डिग्री हासिल हुनुको अहमताले भरिएको पात्र र समाजले ऊसँग राखेको अपेक्षाबीचको घर्षणको कथा पेस गर्छ ।

प्रिमियरमा चलचित्र हेर्न चलचित्रकर्मी, पत्रकार तथा बिभिन्न दलका नेता समेत बिग मुभीज पुगेका थिए । प्रिमियरमा बिग मुभिजका तीनवटै हल भरिभराउ थिए । प्रिमियर पछि ‘जारी’मा दयाहाङ राईको जोडी बनेकी अभिनेत्री मिरुना मगरले चलचित्र राम्रो बनेको प्रतिक्रिया दिइन् । ‘एकदमै राम्रो लाग्यो मलाई। सुरुमा हाँसिराख्दा र रमाइलो हुँदाहुँदै अन्त्यसम्म आइपुग्दा जुन एउटा नेपाली युवाहरुले सामना गरिरहनुपरेको कुरा जुन देखाइएको छ, त्यसले एकदमै मन छोयो’, उनले भनिन् । उनले अभिनेत्री आँचल शर्माको प्रशंसा गरिन् । ‘आँचलजीको काम एकदमै रिफाइन लाग्यो । पूरा टिम हेर्दा आफ्नै लाग्यो तर आफूलाई मिसचाँहि गरिन’, उनले थपिन् ।

मिरुनासँगै फ्रेममा रहेकी अभिनेत्री लुनिभा तुलाधरले ‘डिग्री माइला’ टोलीका लागि सम्मान व्यक्त गरिन् । उनले हसाउँन माहिर भन्दै निर्देशक रामबाबु गुरुङको प्रशंसा गरिन् । ‘उहाँले राम्रोराम्रो कलाकारहरुलाई व्यवस्थापन गरेर एक ठाउँ राखेर निर्देशन गर्नुहुन्छ। उहाँसँग त्यो कला छ। एउटा निर्देशक राम्रो व्यवस्थापक हुनुपर्छ। यसका लागि मैले सम्मान गर्नैपर्छ’, उनले भनिन् । उनले नयाँ वर्षमा हेर्नलायक चलचित्रमा भएको जनाउँदै दर्शकहरुले आफूलाई जोड्नसक्ने बताइन् । यसैगरी ‘लुट’ अभिनेत्री श्रृजना सुब्बाले चलचित्रको अन्तिम दृश्यले गर्दा आफूलाई मनमा केही नबलौं जस्तो लागेको बताइन् । ‘एकदमै मन कस्तो भारी भइराख्यो । रामबाबुको राम्रो पक्षचाँहि एकदमै गहन कुराहरुलाई रमाइलो तरिकाले प्रस्तुत गर्दै एकदमै सजिलो तरिकाले बुझाउने तरिका एकदमै राम्रो छ। कबड्डीमा जुनप्रकारको थियो, त्यो हिट पनि भयो । योचाँहि मलाई झन् एकदमै मनपर्यो । उहाँ काममा बढोत्तरी भइरहेको पाए’, उनले भनिन् । यस्तै उनले दयाको काम र भूमिकाको तारिफ गरिन् । ‘म दयालाई यस्तै क्यारेक्टरमा हेर्न चाहन्थे । उसको यस्तो पात्रहरु भइदियोस जस्तो लाग्थ्यो । अरु सबैको काम मनपर्यो । मलाई एकछिन नबोलुँम नबोलूँम जस्तो बनायो ।’ यसैगरी चलचित्रका शीर्ष पात्र दयाहाङ पनि खुशी देखिए । उनले पूरै चलचित्र आफूले पनि पहिलोपटक हेरेको बताउँदै सबै कलाकारको अभिनय मनपरेको जनाए । ‘मैले आफूलाई एकदमै इमानदार भएर हेर्ने कोशिस गरें । हामीले जो मेहेनत गरेको थियौं, त्योचाँहि छर्लगै देखिन्छ’, उनले भने । दयाले ‘डिग्री माइला’को कथा ‘कबड्डी’ सिरिजभन्दा धेरै अगाडिको योजना भएको स्मरण गर्दै ‘कबड्डी’को प्रभावबाट निर्देशक रामबाबु पर रहेको र कथा वाचन फरक भएको बताए । अभिनेत्री आँचलले आफूलाई चलचित्र मनपरेको बताइन् । दयाले अभिनेत्रीका हिसाबले आँचलको तारिफ गरें । ‘मचाँहि खुशी छु, पहिलोपटक स्क्रिन साझा गरिरहँदाचाँहि मैले उसको अभिनयमा परिपक्वता छर्लगैं देखिन्छ’, दयाले भने । यस्तै एमाले नेता एवम् संघीय सासंद रघुजी पन्तले समंग्रमा चलचित्रमा मनोरञ्जक रहेको र चलचित्रले सन्देश पनि बोकेकाले आफूलाई मनपरेको बताए ।

‘शैक्षिक संस्थाहरुमा कस्तो ढंगले राजनीति भइरहेको छ, कसरी बिग्रीरहेको छ भन्ने कुरालाई मनोरञ्जक ढंगले देखाएको छ । टिपिकल रामबाबुको चलचित्र हो । उनको स्टाइल हो ।’, उनले भने । यसैगरी उनले डिग्री माइलाहरु देशमा धेरै भएको भन्दै उनीहरुलाई देश छोडेर नजानसमेत आग्रह गरे । यसैगरी उनीहरुका अलावा प्रिमियरमा अभिनेत्री प्रियंका कार्की आफ्ना अभिनेता पति आयुष्मान देशराज श्रेष्ठ र आमासँग पुगेकी थिइन् ।

उनका अलावा निर्मात्री निर्देशक एवं कलाकार दीपाश्री निरौला, अभिनेता निर्मल शर्मा, कर्मा, नरेन खड्का, हास्य कलाकारहरू सुन्दर भट्टराई, विल्सन विक्रम राई लगायतका थिए । उनीहरु सबैले चलचित्रको विषयवस्तु र कलाकार मनपरेको प्रतिक्रिया दिएका थिए ।
 

Gharjwai