Mahajatra

‘चिसो एष्ट्रे’को शीर्ष गीतमा रविनको स्वर

२०७८ फागुन २१
‘चिसो एष्ट्रे’को शीर्ष गीतमा रविनको स्वर

गायक तथा कलाकार रबिन तामाङको स्वरमा चलचित्र ‘चिसो एष्ट्रे’को शिर्ष गीत सार्वजनिक गरिएको छ । नेपाल फिल्म क्याम्पसका विद्यार्थी सँग अन्र्तक्रिया गर्दै शुक्रबार गीत सार्वजनिक गरिएको हो । रबिनकै शब्द संगीत रहेको गीत अंग्रेजीमा भाषमा छ । गीतले युवाहरुको जीवन शैलीलाई अभिव्यक्त गरेको छ ।
होलिको भोलि अर्थात चैत्र ४ गतेबाट प्रदर्शनमा आउने चलचित्रको गीत सार्वजनिक कार्यक्रममा उपस्थित तामाङले चलचित्रले देखाउन खोजेको कुरालाई गीतले सार संक्षेपमा व्यक्त गर्ने प्रयास गरेको बताए ।

दिनेश पाल्पालीको निर्देशन रहेको चलचित्रमा दिव्य देव, सृष्टि श्रेष्ठ, सुशील पाण्डे, निकुन श्रेष्ठ, नविन लम्साल र रबिन तामाङको मुख्य भूमिका छ । गाउँबाट सहर आउने मानिसहरुको सपना कसरी एस्ट्रेको चुरोटझैँ निभ्दै जान्छ भन्ने विषयलाई फिल्मले उठान गरेको छ । निर्देशक पाल्पालीका अनुसार, भूपि शेरचनको ‘चिसो एष्ट्रे’ शीर्षकको कविताबाट चलचित्र प्रभावित रहेको छ ।

पाल्पालीकै लेखन रहेको चलचित्रमा अजर जंगमको संगीत, उज्जल बस्ताकोटीको छायांकन र उज्ज्वल ढकालको सम्पादन छ । कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित चलचित्रलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन् । प्रवीण स्याङ्बा र सुष्मिता पराजुली निर्माता रहेको चलचित्रका सह(निर्मातामा रुपेश ढुंगाना, नवीन ढुंगाना र सुजन खतिवडा छन् ।