Mahajatra

गीतको कथा : यसरी बन्यो ‘तीजको रहर आयो बरिलै....’

२०७७ भाद्र ५
गीतको कथा : यसरी बन्यो ‘तीजको रहर आयो बरिलै....’

हरेक वर्ष तीजमा घन्किने गीत हो, चलचित्र ‘कन्यादान’को ‘तीजको रहर आयो बरिलै....’ । वर्षेनी कयौं तीज गीतहरु बजारमा आउँछन् । तर, यो गीत कहिल्यै पुरानो भएन । हरेक वर्ष यो गीत उत्तिकै सुनिन्छ, बजाइन्छ ।

प्रकाश थापा निर्देशित चलचित्रको यो गीत चेतन कार्कीले लेखेका हुन् । संगीत मनोहरी सिंहले दिएका हुन् भने स्वर सुष्मा श्रेष्ठ (पुर्णिमा)को रहेको छ ।

गीत हिट हुनुमा यसको शव्द र संगीतमा नेपाली लोकभाकाको सुगन्ध नै महत्वपूर्ण छ । गण्डक क्षेत्रमा प्रचलित भाका र केही शब्दहरुले गीतलाई मिठास दिएको छ ।

चलचित्रको गीत गीतमात्र नभएर कथा हुन्छ । कथाको माग अनुसारनै गीत रचना गरिन्छ । चलचित्रको कथा अनुसार यो गीत विधवा महिलालाई केन्द्रमा राखेर तीज गीत लेख्नुपर्ने थियो । गीतकार चेतन कार्कीका लागि यो विषय आफैमा चुनौतिपूर्ण भइदियो ।

तीज नारीहरुको महान पर्व हो । तीजमा नारीहरु रातो साडी, कुर्ता, चुरा, पोतेमा श्रृगार गरि सजिएर, विवाह गरेर गएका छोरी चेलीसमेत माइती आएर एकै ठाँउ जम्मा भई मनका भावहरु गीतमार्फत व्यक्त गर्ने गर्छन । छोरी चेलीका लागि पुनर्मिलनको पर्व पनि हो तीज । त्यसैले चलचित्रको कथामा नबाधिइकन लेख्नु परेको भए चेतन कार्कीका लागि तीज गीत रचना गर्नु त्यति कठिन काम हुँदैन थियो । तर, चलचित्रको कथाले चुनौति थप्यो । किनकी उक्त समय बिधवा नारीका लागि रातो पहिरन, चुरा पोते सबै बर्जित थिए । त्यसैले विधवा महिलाको भूमिकालाई गीतको शब्दमा भन्दा बढी भिडियोमा नृत्य निर्देशक वसन्त श्रेष्ठले न्याय गरिदिए ।

सेतो पहिरन लगाउन बाध्य एक महिला तीजका लागि माइती आएका चेलीहरुको नाचगान हेर्दै छ । रातो लुगा, सिन्दुर, पोतेलगाएर श्रृगार गरि साथीसंगीको बिचमा गएर नाच्न गाउन त मन छ तर..... । विधवा महिला कल्पनामा पुग्छे । साथी संगीसँग नाचगान गरि रमाइलो गर्छे । यसरी गीत र दृष्यको तालमेल मिलाइयो । गीत उत्कृष्ट बन्यो ।

गण्डक क्षेत्रमा तीज गीतको छुट्टै रौनक हुन्छ । तीजमा माइती आएका चेलीहरु स्वर खोलेर गाउने, नाच्ने गर्छन । घरमा सासु, नन्द, आमाजुले दिएको दुःख गीतबाटै पोख्छन् । यद्यपी अहिले यो चलन फेरीएको छ । चेतन कार्कीले पनि त्यही परिवेशलाई गीतमा ढाले ।

गाऔं स्वर खोलेर दिदी र बहिनी
नाचौंला मिलेर दामली सैनी
तीजको रहर आयो बरी लै
तीजको रहर आयो बरी लै

अचम्म त के भने तीज गीतमा सार्वाधिक मन पराएको यो गीतका शब्दहरु धेरैले गलत गाउने गर्छन् । गीतको पहिलो लाइन देखिनै । गीत सुरु हुन्छ ‘गाऔँ स्वर खोलेर दिदी र बहिनी’ बाट । यसलाई केहीले ‘गाउँ सहर खोलेर दिदी र बहिनी’ भनेर गाउने गरेका छन् । यस्तै अर्को लाइनमा ‘नाचौंला मिलेर दामली सैनी’ भन्ने छ । यसलाई केहीले ‘नाचौँ न मिलेर नाम लिई सैनी’ भन्ने गर्छन् । यस्तै ‘तीजको रहर आयो बरी लै’लाई कतिपयले ‘तीजको लहर आयो बरी लै’ पनि भन्ने गर्छन् ।

कतिले गीतका शव्दको अर्थ बुझेनन् । कार्कीले शब्दलाई अर्थाए – दामलीको अर्थ उमेर मिल्ने कोही र गण्डक क्षेत्रमा मितिनीलाई सैनी भनिन्छ । अनी तीजको रहर भन्नुको अर्थ चाँही माइती जाने, आमा भेट्ने, घरको गुनासो गर्ने, दर खाने रहर आदि हो ।

शब्दमा प्राण संगीतकार मनोहरी सिंहले भरे । जनकवि केशरी धर्मराज थापाको प्रसिद्ध गीत ‘नेपालीले माया मार्यो बरी लै’बाट यसको भाका लिइयो । चेतन कार्कीका अनुसार १०÷१२ वटा लय र संगीतबाट यो चुनिएको हो । त्यसपछि चलचित्रका निर्माता विनोद शेरचन, संगीतकार मनोहरी सिंह र गायिका सुष्मा श्रेष्ठसहितको टोली बम्बई गएर गीत रेकर्ड गरेको थियो ।