‘परान’ को फस्र्टलुक सार्वजनिक, कात्तिक १४ मा प्रदर्शन हुने

२०८२ असोज २
‘परान’ को फस्र्टलुक सार्वजनिक, कात्तिक १४ मा प्रदर्शन हुने

चलचित्र ‘परान’ को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बिहीबार फस्र्टलुक सार्वजनिक गर्दै चलचित्र कात्तिक १४ गतेदेखि प्रदर्शनमा आउने औपचारिक घोषणा समेत गरिएको छ । 

सार्वजनिक पोस्टरमा कलाकारद्वय महेश त्रिपाठी र अञ्जना बराईलीलाई देखाइएको छ । पोस्टरमा यी दुई एकअर्काको अंगालोमा छन् र अञ्जनाको सिउँदोमा सिन्दुर देखिनुले उनीहरू विवाहित जोडीको रूपमा रहेको संकेत गर्दछ । पोस्टरमा महेश केही गम्भीर मुद्रामा छन् भने अञ्जना उनको छातीमा टाउको अड्याएर शान्त र कोमल भावमा प्रस्तुत भएकी छिन् । महेशको आँखामा देखिएको गम्भीरताले उनीहरूको सम्बन्धमा कुनै चुनौती वा उतारचढाव आउन सक्ने समेत संकेत गर्छ ।

दीपकप्रसाद आचार्य (काकु)को निर्देशन रहेको चलचित्रको ट्यागलाइन ‘सासले हैन, साथले चल्ने’ राखिएको छ, जसले चलचित्रको मुख्य सार वा सन्देश प्रस्तुत गर्छ । यसले जीवनमा भौतिक अस्तित्व (सास) भन्दा भावनात्मक साथ र सम्बन्धको महत्वलाई दर्शाउन खोजेको बुझ्न सकिन्छ ।

देशकै प्रतिष्ठित व्यवसायीक घराना गोल्छा समूह तथा प्रिज्मा समूहको साझेदारी रहेको कम्पनी बाइस्कोप सिनेमा प्रालिले चलचित्र निर्माण गरेको हो । बाइस्कोप सिनेमाको पहिलो प्रोजेक्टको रूपमा ’परान’ निर्माण गरिएको प्रबन्ध निर्देशक रन्जीत आचार्यले जानकारी गराए ।

चलचित्रमा वरिष्ठ अभिनेता नीर शाह प्रमुख भूमिकामा छन् । साथमा महेश र अञ्जनासहित मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, बिनोद राई र बाल कलाकार आर्यादीप आचार्य लगायत कलाकारहरूको अभिनय छ । 

दीपक आचार्यकै कथा रहेको चलचित्रको पटकथा तथा संवाद यम थापाले तयार पारेका हुन् । निर्देशक आचार्यले फस्र्टलुक ल्याएसँगै चलचित्रको प्रचारप्रसार सुरु भएको बताए । उनले भने, ‘अहिलेसम्म चलचित्रलाई कसरी हुन्छ राम्रो बनाउनमै ध्यान दियौं । पोस्ट प्रोडक्सनको काम लगभग अन्तिम चरणमा पुगेको छ । अब  तीव्र रूपमा प्रचारप्रसारमा लाग्छौं ।’

रिदम कंडेलको संगीत रहेको चलचित्रका गीतमा प्रमोद खरेल, पुष्पन प्रधान र रचना रिमाललगायतले स्वर दिएका छन् । शिवराम श्रेष्ठको डिओपी रहेको चलचित्रको सम्पादन मित्र डि. गुरूङले गरेका हुन् ।