Mansara

चलचित्रमा ध्वनिको प्रयोग र महत्व

२०७७ श्रावन १९
चलचित्रमा ध्वनिको प्रयोग र महत्व

चलचित्रलाई मनोरञ्जनका साथ साथै आम सञ्चारको उत्कृष्ट बिधा मानिन्छ । यसमा दृष्य संयोजनको जति महत्व हुन्छ त्यो भन्दा धेरै मात्रमा ध्वनिको प्रयोगको महत्व हुन्छ । ध्वनि आफैमा शत प्रतिशत सूचना तथा मनोरञ्जन दिने माध्यम हो । चलचित्रमा ध्वनिको उचित र सन्तुलित प्रयोगले हिडिरहेको चित्र (चलचित्र)मा पुर्ण प्राण प्रतिष्ठा स्थापित गरिदिन्छ । राम्रो कथा, पटकथा, दृष्य र ध्वनिले सजिएको चलचित्रले नै दर्शकहरुलाई आ–आफ्नो सिटमा २–३ घण्टा बसाई राख्न सफल हुन्छ । जसलाई हामी हिट चलचित्रको दर्जा दिन्छौं ।

चलचित्र निर्माण कार्यमा बिधि ‘परफरमिङ्ग आर्ट’को प्रयोग हुन्छ भने ति कलाहरुलाई पर्दामा उतार्न प्रबिधिको प्रयोग पनि हुन्छ । स्तरहिन प्रबिधि/उपकरण र अदक्ष प्राबिधिकले गर्दा सम्पुर्ण चलचित्रको नै प्राबिधिक स्तर खस्न पुग्छ र फ्लप बन्न जान्छ । हरेक असफल चलचित्र माथी विचार गर्दा अपरिपक्क कला प्रस्तुतिका साथै अदक्ष ब्यक्तिहरुले गरेको प्रबिधि सम्वन्धि अदक्षताको प्रतिफल हो भन्न सकिन्छ । हरेक पहेलो वस्तु सुन हुदैन भने जस्तो हरेक ‘अपरेटर’ दक्ष प्राबिधिक हुँदैन । प्राबिधिकलाई योग्यताका साथ साथै उक्त प्रबिधिको समूचित प्राबिधिक ज्ञान र अनुभव हुनै पर्दछ । त्यसैले चलचित्रमा ध्वनिको प्रयोग बारे आम सचेतता जरुरी छ । खास गरी निर्देशक र पैसा खर्च गर्ने निर्माताले त झन बुझ्न जरुरी छ की सस्तोको नाममा तपाईले निर्माण गर्न लागेको चलचित्रको तपाई आफैले सत्यानाश त गर्दै हुनुहुन्न ?

हाम्रो आम विचारमा फिल्म भनेको दृष्यहरुको संयोजन मात्र हो । हामी फिल्म खिच्नु, काट्रनु र जोड्नु मात्रै फिल्म मेकिङ्ग हो भन्ठान्छौं । तर वास्तवमा एउटा फिल्ममा दृष्यहरु भन्दा धेरै मात्रमा ध्वनिहरुको प्रयोग भएको हुन्छ ।

१, गीतको रुपमा
२, ह्युमन भ्वाइस (डायलगको रुपमा)
३, इफेक्ट (पाश्र्व ध्वनि)को रुपमा जुन सिंकोनस(दृष्य सँग सँगै) र आर्सिकोनस (पाश्र्व रुपमा) हुन्छ ।
४, पाश्र्व संगीत र इफेक्टको रुपमा

यि माथी उल्लेखित ध्वनिहरुलाई तह तह गरी ५–६ तह र चरणमा फिल्ममा प्रयोग गरिन्छ ।

उपरोक्त ध्वनिहरुलाई समूचित र मौलिक रुपमा दृष्यहरु सँग प्रयोग गरी अनुपातिक रुपमा मिश्रण गरे पछी चलचित्रको मौलिक वा ओरिजिनल साउण्ड ट्रयाक बन्दछ । जन त्यस चलचित्रलाई सफल बनाउने कार्यका लागि जानिन्छ ।
ध्वनि सम्वन्धी कार्यहरु चरणवद्ध रुपमा सम्पन्न गर्न विभिन्न व्यक्तिहरुलाई लगाइन्छ जसलाई 

१, गीत रेकर्डिष्ट (song Recordist)
२, स्थल ध्वनि रेकर्डिष्ट (spot or pilot sound recordist)
३, साउण्ड डिजाइनर तथा (sound designer)
४, ध्वनि पुन मुद्रक (RE - Recordist) भन्ने नामले जानिन्छ ।

दृष्य खिच्ने एक जना सिनेमाटोग्राफरको दाजोमा ध्वनिको कार्य गर्न ४–५ जना प्राबिधिकको विभिन्न चरणमा प्रयोग गरिन्छ । उपरोक्त प्राबिधिक कार्यहरुको संयोजन र समिक्षाको दायित्व चलचित्रको निर्देशकमा हुन्छ । त्यसैले निर्देशकमा उपरोक्त कार्यक्रहरुको चरणवद्ध रुपमा ज्ञान र गुणस्तर कन्ट्रोल गर्ने क्षमता हुनै पर्छ ।

गीत रेकर्डिङ्ग

यस कार्यका लागि स्तरिय एकाँस्टिक व्यालेन्स भएको स्टुडियोको आवश्यकता हुन्छ । निर्माता निर्देशकले स्टुडियो छान्दा त्सको बनौटको आधार, प्राबिधिक उपकरणको गुणस्तर र सबभन्दा जरुरी प्राबिधिकको ज्ञान र क्षमता(दक्षता)को आधारमा चयन गर्नु पर्दछ । गीतको गुणस्तरिय रेकर्डिङ्गका लागि गीत संगीत, गायनका साथ साथै वाह्य संयोजन एवम् गीत रेकर्डिङ्गको गुणस्तरको अति महत्व हुन्छ । त्यसैले निर्माता, निर्देशकले गीत रेकर्डिङ्गका लागि स्तरिय र सही स्टुडियोको छनौट गरैकै हुनुपर्छ । स्तरहिन स्टुडियो, अदक्ष प्राबिधिक, सिकारु ऐरेन्जर र बाध्यबादकहरुको प्रयोगले स्तरिय र ओजनदार गीतको उत्पादन हुन सक्दैन ।

स्थल ध्वनि रेकर्डिङ्ग (स्पट साउण्ड)

चलचित्रको छायाँकनमा ध्वनिको यो चरण अति महत्वपूर्ण हुन्छ । छायाँकन स्थलमा नै अलि समय र दिमाग लगाएर रेकर्ड गरिएको साउण्ड ट्रयाक चलचित्रमा प्रयोग गर्दा धेरै फाइदा जनक हुन्छ । स्पट र मौलिक प्रस्तुतिको ध्वनिका साथ साथै एटमस्फेरिक साउण्ड र कलाकारहरुद्वारा स्वतः निकालिएका प्राकृतिक साउण्ड जसलाई फोले (Foley) भनिन्छ । यो स्वत र अनुपातिक रुपमा रेकर्ड हुन जान्छ । जसले गर्दा दृष्यको साथ साथै स्तरिय ध्वनि पनि प्राप्त हुन्छ । धेरै हल्ला खल्ला भएको ठाँउमा छायाँकन गर्दा रेकर्ड गरिएको ध्वनि Noisey हुने भएकोले पछी त्यसलाई डव (Dubbing वा ADR) गरिन्छ । तर यस कार्यका लागि पनि रेकर्डिङ्ग स्पस्ट एवम् सक्दो Noise Free हुनु पर्दछ । उपरोक्त कार्यका लागि पनि दक्ष प्राबिधिक नै चाहिन्छ ।

डबिङ्ग (Dubbing) वा Additional Dialuge Replacement (ADR)

चलचित्रमा सके सम्म स्थल रेकर्डिङ्ग ध्वनिको प्रयोग नै गर्नु पर्ने हुन्छ । तर केही समस्याहरुले गर्दा स्थल ध्वनि स्तरिय छैन भने त्यसलाई राम्रो तथा प्राबिधि स्तर युक्त ध्वनि स्टुडियोमा पुनः डबिङ्ग कार्यबाट थप डायलग रिप्लेसमेण्ट गरिन्छ । यस कार्यका लागि पनि प्राबिधिक दक्षता अति आवश्यक हुन्छ । लिपसिन्क (Lipsync) ध्वनिको लेभल र पन्च अनुहारमा स्पष्ट भाव सहितको ध्वनि तथा डायलग डेलिभरीमा प्रवाह हुनु पर्ने हुन्छ । डबिङ्ग गर्ने स्टुडियोको एकाँस्टिक ट्रिटमेण्ट तथा उपकरणको स्तरले पनि ठुलो प्रभाव पार्ने भएको हुनाले निर्माता निर्देशकले यस्ता कार्यका लागि सस्तो र काम चलाउ ठाँउ र दक्षता विहिन व्यक्तिको प्रयोग गरेमा चलचित्रमा प्रयोग हुने ध्वनीका साथ साथै सम्पूर्ण चलचित्रकै गुणस्तरमा ठुलो ह्रास आउन सक्छ ।

ट्रयाक मेकिङ्ग साउण्ड डिजाइन

ध्वनि अंकनको यो चरण एकदमै क्रियटिभ र समय लाग्ने खाले हुन्छ । यस चरणमा दृष्यले स्वभाविक रुपमा मागेको र दृष्यसँग एकदम प्राकृतिक रुपले मेल खाने खालका ध्वनि इफेक्ट, पाश्र्व संगीत, पाश्र्व ध्वनि, फोले, लाइभ इफेक्ट तथा डबिङ्ग गरेको डायलग ट्रयाकहरुको निर्माण एवम् सहायताले चलचित्रमा पूर्ण जिवन्तता एवम् प्राण हाल्ने कार्य गरिन्छ । यो कार्य एकदमै क्रियटिभ र सृजनशिल कार्य हो र यसका मूलभूत व्याकरण न बुझेको अदक्ष ब्यक्तिले सफल रुपमा यो कार्य गर्नै सक्दैन । त्यसैले निर्देशकले आफूले चाहेको र प्रस्तुत गर्न खाजेको श्रब्य दृष्य प्रभावका लागि सम्पुर्ण विश्वास गर्न योग्य ब्यक्ति, स्तरिय उपकरण तथा स्तरिय रेकर्डिङ्ग गरिने ठाऊँ नै रोज्नु पर्ने हुन्छ ।

रि - रेकर्डिङ्ग वा मिक्सिङ्ग

यस चरणमा सम्पुर्ण ट्रयाकहरुको सफल निर्माण र उपयुक्त साउण्ड डिजाइन कार्य पश्चात मिश्रण गर्ने कार्य हो । यसलाई रि–रेकर्डिङ्ग भन्ने पनि चलन छ । यो प्राबिधिक रुपमा हरेक ध्वनि ट्रयाकमा व्यालेन्स, डायलग र अन्य ट्रयाकहरुमा व्यालेन्स तथा पुरानो अवस्थामा मोनो वा सिंङ्गल च्यानल र स्टेरियो वा डवल च्यानलमा तथा हालको अवस्थामा सराउण्ड वा चौतिर बाट सुनिने गरी जसलाई 5.1, 6.1, 7.1 surround को नामले पनि बुझिन्छ, मिक्सिङ्ग गरिन्छ । यसरी स्पष्ट र व्यालेन्स रुपमा मिश्रित फाइनल साउण्ड ट्रयाकलाई ओरिजिनल साउण्ड ट्रयाक भनिन्छ ।

फाइनल मिक्सिङ्ग पछी प्राप्त ओरिजिनल साउण्ड ट्रयाकलाई Optical transfer वा DVD Authoring पछी चलचित्रमा प्रयोग गरिन्छ । यस प्रकार चलचित्रमा ध्वनि हाल्ने क्रमश : यो अन्तिम अवस्था हो ।

उपरोक्त Surround sound का विषयमा एउटा अत्यन्त जरुरी कुरा के छ भने हाम्रो नेपाली चलचित्रमा केही समय अघि सम्म मोनो साउण्डको प्रयोग गरिन्थ्यो भने भिडियो (एनालग वा डिजिटल) प्रोजेक्सनका निमित्त निर्मित चलचित्रहरुमा STEREO वा ‘दुई तिर बाट’ आउने ध्वनिको प्रयोग हुन थाल्यो । पछी डिजिटल भिडियोमा एनालगको मल्टीच्यानलको ठाऊँमा डिजिटलको AC3 भन्ने Encoder प्रयोग गरेर 70mm जमाना कै पुरानो प्रबिधिको नयाँ डिजिटल अवतार मल्टी च्यानल साउण्डलाई 5.1 सराउण्डका नामले प्रयोग गर्न थालेका छौं । कतिपयले त यसैलाई स्टाण्र्ड 5.1 सराउण्ड साउण्ड भन्ठानेका छन् । जवकी साँचो रुपमा नेपालमा Dolby Lab UK वा D.T.S. प्रबिधिको Digital 5.1 surround गर्न सकिने उपकरण/प्रबिधि उपलब्ध छदै छैन । ध्वनि रेकर्ड गर्ने तथा इडिटिङ्ग गर्ने कथिपय सफ्टवेयरमा ध्वनि अंकन गरेर नक्कली(पाइरेटेड) इनकोडिङ्ग सफ्टवेयरको सहायताले AC3 मा Encode गरेको ध्वनिलाई 5.1 सराउण्ड मिक्सिङ्ग गर्ने कार्य अन्तराष्ट्रिय मापदण्ड बाहिरको कार्य हो । त्यसमा पनि अदक्ष वा अल्प ज्ञान भएको सफ्टवेयर अपरेटरहरुले आफ्नो अपरिपक्ताको भार थपी दिएका छन् । यस विषयमा केही प्राबिधिक ज्ञान भएका प्राबिधिक नेपालमा उपलब्ध छन् तर निर्माता निर्देशकहरुको गलत बुझाईले गर्दा यस्ता सस्तो स्तरहिन प्रबिधिलाई प्रोत्साहन मिलिरहेको अवस्थामा कसले आफ्नो ठुलो लगानी प्रबिधि र उपकरणमा लगाउने ? यो मनन योग्य छ ।

नेपाली चलचित्रमा प्राबिधिक गुणस्तर कायम गरिनु पर्ने अब समय आएको छ । हामीले क्वान्टिटी नाघ्न थाल्यौ तर क्वालिटी कसरी ल्याउने भन्नेमा गम्भिर भएको पाइदैन । क्वालिटी व्यवसायिकता बाट आउँछ । व्यवसायिकताको विकासका लागि नेपाली चलचित्र उद्योगका हरेक फाँटमा मापदण्ड कायम गरिनु पर्ने खाँचो देखिएको छ ।

बिज्ञानको विस्तारसँगै प्रबिधि पनि सस्तो हुन गएकोले सञ्चालन गर्न मात्र जानेर अल्प ज्ञान बोकेकाहरु सस्तो र अनुपयुक्त उपकरणको प्रयोग गर्न थालेका छन् र चलचित्रको निर्माण स्तरमा ओरालो लाग्दै गएको छ । कुनै सिप र ज्ञान न लिएरै पनि प्राबिधिकका नाममा अप्राबिधिक कार्य गर्न लागेका व्यक्तिहरु बढ्दै गएका छन् । उनीहरु सस्तो हुन्छन् तसर्थ अब्यवसायिक निर्माता निर्देशकले पनि उनीहरुलाई नै छान्दछन् । फलत: नेपाली चलचित्र झन झन खस्किदो अवस्थामा पुगेको छ । समयमा नै सचेत हुन जरुरी छ ।

साभार : एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार २०६९ को स्मारिका, सम्पादक : बिष्णु सुबेदी