Kumari Bank

अधिकांश चलचित्र नाम मात्रका सिक्वेल, ब्राण्ड भ्यालु क्यास गर्ने बाहेक अरु छैन खास

बिष्णु सुबेदी २०७७ कार्तिक १८
अधिकांश चलचित्र नाम मात्रका सिक्वेल, ब्राण्ड भ्यालु क्यास गर्ने बाहेक अरु छैन खास

सन् २००५ को चलचित्र पापी मान्छेमा खलनायकको भुमिका निभाएका सुनिल थापा जेल चलान भएसँगै चलचित्र सकिन्छ । ३ वर्ष पछि सन् २००८ को चलचित्र पापी मान्छे २ को शुरुमै ३ वर्ष पछि सुनिल थापा जेलबाट रिहा भएको देखाइन्छ । यसरी चलचित्रको पछि २ थपेर निर्माण गर्दै गर्दा कथामा निरन्तरता दिने प्रयास गरियो । दिपक श्रेष्ठ निर्देशित यही चलचित्र नेपालको पहिलो सिक्वेल चलचित्र हो ।

पापी मान्छेको कथामा निरन्तरता दिदै सिक्वेलकै रुपमा पापी मान्छे २ बने पनि त्यसपछि बनेका अधिकांश चलचित्रहरु सिक्वेल भन्दा बढी सिरिजका रुपमा आए ।

न त कथामा तालमेल न त पात्रमा । हिट चलचित्रको ब्राण्ड भ्यालु क्यास गर्ने बाहेक अरु केही हुन सकेन । हुन त पछिल्लो समय सिक्वेल वा सिरिज फेसनको रुपमा अघि आएको छ भन्दा फरक नपर्ला । हिट चलचित्रको मात्र होइन फ्लप चलचित्रको समेत सिक्वेल बन्नु वा घोषणा हुनुले यो एउटा लहड हो भन्नु अन्यथा हुँदैन । रहर र लहडले राम्रो चलचित्र बन्न सक्दैन भन्ने बुझ्न असहज पक्कै छैन ।

चलचित्रकर्मीको भनाई सुन्ने हो भने धेरै चलचित्र सिक्वेल हुन । तर, वास्तवमै कम चलचित्र मात्र सिक्वेलका रुपमा बनेका छन् । कथाकै निरन्तरताको कुरा गर्दा बाटो मुनिको फूल २ – बाटो मुनिको फूलबाट, लुट २ – लुटबाट, कबड्डी कबड्डी कबड्डी र कबड्डी कबड्डी – कबड्डीबाट, जात्रै जात्रा – जात्राबाट कथामा निरन्तर अघि बढेका चलचित्र हुन । यि चलचित्रलाई वास्तवमै सिक्वेल मान्न सकिन्छ । यसरी सिक्वेलका रुपमा बनेका चलचित्रको कुरा गर्दा पहिलो पार्टलाई जति तारिफ मिल्थ्यो दोस्रो वा तेस्रोमा सोही अनुरुप मिल्न सकेन । समिक्षकहरुले जात्राको सिक्वेल जात्रै जात्रालाई बाहेक अरु सिक्वेललाई खासै उत्कृष्ट मान्न सकेका छैनन् । ट्रेण्डसेटर चलचित्र लुटको सिक्वेल पनि नराम्रो सँग चिप्लियो ।

धेरै चलचित्रहरु सिक्वेलका नाममा सिरिज मात्र बनेका छन् । यसरी सिरिज बन्ने चलचित्रको शुरुवात कुसुमे रुमाल २ बाट भयो । सन् १९८५ को चलचित्र हो कुसुमे रुमाल । पहिलो पटक सफल व्यापारको सिल्भर जुब्ली मनाएको यो चलचित्रको सिरिज अर्थात कुसुमे रुमाल २ सन् २००९ मा प्रदर्शन भयो । सिरिज यसअर्थमा कि निरक पौडेल निर्देशित कुसुमे रुमाल २ को कथा कुसुमे रुमालको भन्दा नितान्त भिन्न थियो । मिल्थ्यो त केवल चलचित्रको नाम मात्र ।

अहिले सिरिज बन्ने क्रम निकै झागिंएको छ । हिट फिल्मको नामलाई क्यास गर्न सकिने हुँदा व्यवसायिक रुपमा अब्बल सावित हुने आशा धेरै चलचित्रकर्मीहरुको रहेको पाइन्छ । केही चलचित्रका सिरिज हिट पनि भएका छन् । देखासिकिमा नामको पछि २ वा रिटन्र्स थपे पनि केही चलचित्र चुर्लुम्मै डुबेका पनि छन् ।

सिरिज बनाएर धेरै कमाउने चवलचित्रमा नाइ न भन्नु ल का लगभग सबै सिरिज पर्छन । नाइ न भन्नु ल ५ सम्म बनिसकेको छ । यो भन्दा पनि अझ धेरै कमाउने चलचित्र छक्का पञ्जा सिरिज हो । छक्का पञ्जाको ३ सिरिज प्रदर्शन भइसकेका छन् । व्यवसायिक रुपमा पनि छक्का पञ्जा सिरिजका ३ वटै चलचित्रले उत्कृष्ट नतिजा हात पारेका छन् । त्यो बाहेक ए मेरो हजुरको पनि ३ सिरिज प्रदर्शन भइसकेको छ । चौथो भाग अहिले छायाँकनको क्रममा छ । यो चलचित्रका सिरिज पनि व्यवसायिक रुपमा अब्बल नै ठहरीए ।

समिक्षागत रुपमा ठिक ठाक भएपनि केही सिरिजले राम्रो व्यापार गरेको कुरा नकार्न सकिदैन । यद्यपी छक्का पञ्जाको हकमा भने समिक्षकहरुले पहिलो भन्दा दोस्रो र दोस्रो भन्दा तेस्रो सिरिजललाई अब्बल माने । प्रदर्शन हुन बाँकी भएपनि टिजर र गीतसंगीतका कारण प्रेमगीत ३ को चर्चा निकै छ । यो चलचित्र अब्बल बनेको आशा गर्ने ठाँउहरु देखिएका छन् । यसको पहिलो सिरिज प्रेमगीत र दोस्रो प्रेमगीत २ ले पनि राम्रै प्रतिक्रिया पाएका थिए । व्यवसायिक रुपमा भने दुवै सिरिज सन्तोषजनक मात्र थिए, जुन रुपमा अपेक्षा थियो त्यो हुन सकेन । प्रदर्शनको तयारी सकेर कोभिड १९ का कारण अन्तिम समयमा स्थगित हुन पुगेको चलचित्र म यस्तो गीत गाउँछु २ पनि चर्चा मै छ । यसको पहिलो सिरिज व्यवसायिक व्यवसायिक रुपमा सन्तोषजनक नै थियो ।

चर्चामा रहेको सिरिज चलचित्रहरुमा बिर बिक्रम २, होस्टेल रिटन्र्स, सायद २, पिंजडा व्याक अगेन कुनैले पनि सोचे जस्तो सफलता पाउन सकेनन् । यि सबै चलचित्रको सिरिज भन्दा पहिलो चलचित्र नै दर्शकहरुले मन पाराए ।

चपली हाइट सफल भएपछि यसको पनि सिरिज निर्माण भयो । तर, चपली हाइट २ असफल भयो भने ३ प्रदर्शनको लागि तयार छ । रेखा थापाको दोहोरो भुमिका रहेको चलचित्र हिम्मतको सफलता पछि निर्देशक दिपक श्रेष्ठले आफ्नो व्यानरमा हिम्मत २ बनाए । तर, यो चलचित्र असफल भयो । न त हिम्मतको कथा न त कलाकार नै दोहोरिएका थिए । यस्तै रेखाकै डेव्यु चलचित्र हिरोको पछि रिटन्र्स थपेर चलचित्र बनाइयो । रेखाले पनि अभिनय गरिन । बिडम्बना यो चलचित्र त हलमा प्रदर्शन हुनै सकेन । बल्ल तल्ल टिभी रिजिमा चित्त बुझायो । यता रेखाले ३ वर्ष अघि कसले चोर्यो मेरो मनको सिक्वेल बनाउने अनौपचारिक घोषणा गरिन । नाम कसले चोर्यो मेरो मन फेरी हुने भयो । तर, चलचित्र बनेन । अहिले छबी ओझाले कसले चोर्यो मेरो मन २ बनाउने बताएका छन् ।

कुनै समयको चर्चित चलचित्र हो दर्पण छाँया । यो चलचित्रले उक्त समय नेपाली चलचित्रको ट्रेण्ड नै चेन्ज गरेको थियो । ट्रेण्ड सेटर यो चलचित्रको सिरिज दर्पण छाँया २ पनि असफल भयो । अहिले दर्पण छायाँ पछि भनेर सिक्वेल बनाइने चर्चा चलिरहेको छ ।
चलचित्र बिन्दास खासै सफल नभएपनि यसका अन्य दुई सिरिज बने । विन्दास मात्र होइन चलचित्र धुमको पनि अन्य दुई सिरिज बनेका छन् । यस्तै जादुगर, इकु, आगो, शिकारी, क्यारिङ ग्याङ, मिसन पैसा, किस्मत जस्ता चलचित्रको पनि सिरिज बनेको छ । अर्थात नामको पछि २, व्याक अगेन वा रिटन्र्स थपेर अर्को चलचित्र बनाइएको छ । यद्यपी यि मध्ये धेरै चलचित्र आए गएको समेत दर्शकले पत्तो पाएनन् ।

सन् २०१५ को सुपरहिट चलचित्र परदेशीको पनि सिरिज निर्माण भइरहेको छ । कोभिड १९ का कारण बिचैमा रोकिएको चलचित्र परदेशी २ चलचित्र क्षेत्र खुलेपछि छायाँकनमा जाने तयारीमा छन् । यस्तै मेरो एउटा साथी छ २, अल्लारे २, पर्खिबसे २, गोपीकृष्ण २, कोहलपुर एक्सप्रेस २, बोबी २, बाग्मती २ र भैरे २ निर्माणको घोषणा गरिए पनि बन्ने सुरसार देखिदैन । मेरो एउटा साथी छ २ को निर्देशकका रुपमा अनुबन्धित भएका दिनेश राउतले चलचित्र छोडेका छन् । बरु राउतकै निर्देशन रहेको चलचित्र प्रसादको भने सिक्वेल बन्ने भएको छ, तर निर्देशक उनी हुनेछैनन । यो चलचित्रको प्रि–प्रोडक्सनको काम द्रुत गतिमा भइरहेको छ । यस्तै मिलन चाम्सले गोर्खा वारियर नामको चलचित्र सँगै यसको ४ सिरिज बनाउने जनाएका छन् । ठिलो चाँडो छक्का पञ्जा ४ र कब्डी कबड्डी ४ पनि आउने पक्का छ । यि बाहेक अन्य केही चलचित्रले सिरिज वा सिक्वेल निर्माणको घोषणा गरेका छन् । तर, यसरी निर्माण भएका चलचित्रले दर्शकमाथी न्याय गरेका छन् त ?