गीतकार श्रेष्ठका गीतहरु समावेश ‘शारदा’ को विशेषांक लोकार्पण
करिव साढे तीन दशकदेखि नेपाली साहित्यको क्षेत्रमा अनवरत रुपमा सक्रिय रहँदै आउनु भएकी एक साहित्यकार, गीतकार तथा सर्जक हुन् सरला श्रेष्ठ । लामो समयदेखि अमेरिकामा रहेर स्वास्थ्यकर्मीको रुपमा कार्यरत रहे पनि गीतकार श्रेष्ठले २०४५ सालभन्दा अघिदेखि साहित्य–सिर्जनाको क्षेत्रमा चलाउन थालेको कलम आज पनि निरन्तर अघि बढिरहेको छ ।
यसपटक केही महिनाका लागि स्वदेश आएको मौका पारेर साहित्यकार श्रेष्ठद्वारा केही ऐतिहासिक कार्यहरु भएको छ । समाजसेवीको रुपमा समेत सक्रिय रहँदै आएकी गीतकार श्रेष्ठद्वारा विगतदेखि हालसम्म रचना गरिएका ५६ वटा गीतहरु श्रेष्ठकै हस्तलिपीमा नेपालको ऐतिहासिक साहित्यिक मासिक पत्रिका ‘शारदा’ मा प्रकाशित गरिएका छन् ।
मंगलवार काठमाडौंमा आयोजित एक विशेष समारोहमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, गीतकार एसपी कोइराला, कवि तथा गीतकार विश्व बल्लभ, साहित्यकार तथा पत्रकार बिमल भौकाजी, गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा लगायतका व्यक्तित्वले गीतकार श्रेष्ठका हस्तलिपीमा रहेका गीतहरु समावेश ‘शारदा’ मासिक लोकार्पण गरियो ।
‘शारदा’ मासिक पत्रिकाको कात्तिक अंकलाई सरला श्रेष्ठका गीतहरुको विशेषांकको रुपमा प्रकाशित गरिएको हो । कात्तिक महिनाको ‘शारदा’ पत्रिकाको को वर्ष १०, अंक ७, पूर्णांक ११५ मा सरला श्रेष्ठका ५६ वटा गीतहरु गीतकारको हस्तलिपीमा प्रकाशित भएका छन् ।
‘समारोहमा ‘शारदा’ मासिक पत्रिकाका प्रधान सम्पादक विमल भौकाजीले नेपालमा एकल सर्जकको हस्तलिपीमा कुनै पनि पत्रिकामा विशेषांक प्रकाशन गरेको यो पहिलो पटक भएको बताए ।
समारोहलाई सम्बोधन गर्दै गीतकार सरला श्रेष्ठले ‘शारदा’ जस्तो ऐतिहासिक साहित्यिक पत्रिकामा आफ्नो हस्तलिपीमा एकल गीति विशेषांक प्रकाशित भएकोमा गौरवको क्षण महसुस गरिरहेको धारणा व्यक्त गरिन् ।
समारोहमा ‘शारदा’ मासिकमा प्रकाशित आफ्ना केही विशेष गीतहरु वाचन गर्दै गीतकार श्रेष्ठले विदेशमा रहँदा सधैं देशलाई शिरमा राखेर हिँडिरहेको बताइन् । गीतकार श्रेष्ठले आफ्नो शरीरमात्र विदेशमा रहेको, तर मन र मुटुसधैं स्वदेशमै रहेको बताइन् ।
समारोहमा ‘शारदा’ मासिक पत्रिमामा प्रकाशित एउटा यूगल गीत ‘ए मेरो मनको राजा’ को म्युजिक भिडियो समेत प्रीमियर गरिएको छ । गायक प्रमोद खरेल तथा गायिका अञ्जु पन्तको यूगल स्वरको यो गीतलाई कीर्ति न्यौपानेले संगीतबद्ध गरेका छन् । यो गीतको म्युजिक भिडियोको निर्देशन वरिष्ठ निर्देशक कृष्णदेव रुपाखेतीले गरेका हुन् । कुलेखानी क्षेत्रका रमणीय लोकेशनमा छायांकन गरिएको भिडियोमा अभिनेता पुष्प खड्का तथा अभिनेत्री गरिमा शर्माको जोडीलाई चित्रण गरिएको छ ।
यो गीतको संगीत संयोजक पुरुषोत्तम सुवेदी हुन् भने रेकर्डिष्ट राजेश श्रेष्ठ, मिक्सिङ तथा माष्टरिङ किशोर थापाले गरेका छन् । यो गीत ए वन म्यूजिसिएन स्टुडियोमा रेकर्ड गरिएको हो ।
मासिक पत्रिकाको लोकार्पण तथा म्युजिक भिडियोका प्रीमियर समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि कलाकार मदनकृष्ण श्रेष्ठले गीत रचना गर्नु आफैंमा जटिल कार्य भएको बताउँदै गीतकार सरला श्रेष्ठको लेखन शैलीको प्रशंसा गरे । श्रेष्ठले गीत सार्वजनिक भएकोमा शुभकामना दिँदै आफू पनि लेखनमा रुचि राख्ने व्यक्ति भएको बताए ।
शारदा मासिक पत्रिकाका सम्पादक बिमल भौकाजीले श्रेष्ठका गीतहरुको समिक्षा गर्दै हरेक गीतको पछाडि एउटा कथा व्यक्त गर्न सक्नु गीतकारको शब्दमाथिको विजय भएको बताए । नेपालमा महिला गीतकारहरुको संख्या कम भएको बताउँदै भौकाजीले विदेशमा बसेर नेपाली गीत–संगीतमा निरन्तरता दिन सक्नु गीतकारश्रेष्ठको ठूलो खुबी भएको स्पष्ट पारे ।
गीतकार संघ नेपालका अध्यक्ष बसन्त बित्यासी थापाले गीत–संगीतको क्षेत्रलाई लगानीको पनि सुनिश्चितता गर्ने गरी काम अगाडि बढाएको बताए । उनले भने– ‘लगानी पनि सुनिश्चित गर्नुपर्छ भनेर हामी उद्यमीहरु संस्थागत हिसाबले उद्योगको रुपमा स्थापित हुनुपर्छ भनेर गीत सङ्गीतको क्षेत्रलाई अगाडि बढाइरहेका छौं ।’
समारोहमा गीतकार संघका पूर्व अध्यक्ष चूडामणि देवकोटा, रोयल्टी संकलन समाजका महासचिव बि पाण्डे, म्युजिक भिडियो निर्देशक कृष्णदेव रुपाखेती, कवि विश्व वल्लभसहितका वक्ताले गीतकार श्रेष्ठका गीतहरुको प्रशंसा गर्दै सफलताको शुभकामना दिए ।
शारदा मासिक तथा ए मेरो मनको राजा गीतको म्युजिक भिडियोका लोकार्पण समारोह गीतकार संघ नेपालको आयोजना तथा एसएस क्रिएसनको व्यवस्थापनमा सम्पन्न भएको हो ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
