‘रियाल रिङ्गेट’को ओएसटी ‘जिन्दगीः उडी जाने हो कहाँ’ सार्वजनिक

२०८२ आषाढ १०
‘रियाल रिङ्गेट’को ओएसटी ‘जिन्दगीः उडी जाने हो कहाँ’ सार्वजनिक

चलचित्र ‘रियाल रिङ्गेट’को ओएसटी ‘जिन्दगीः उडी जाने हो कहाँ’ सार्वजनिक गरिएको छ । मङ्गलवार काठमाडौंको आइएनआई सिनेमा, नयाँ वानेश्वरमा आयोजित एक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको हो ।

गीतमा रवि मल्ल र कोसिस क्षेत्रीको शब्द, चन्दन ध्वज केसी र किरण तुलाधरको सङ्गीत र केतन क्षेत्रीको स्वर रहेको छ । गीतले वैदेशिक रोजगारीमा होमिन बाध्य नेपालीहरूको कथा समेटेको छ । 

कार्यक्रममा कवि नाथन रायनले मजदुरका रूपमा बिदेसिन बाध्य नेपालीहरूको भावना पोखिएको कथा सुनाएका थिए । कवि रायनका शब्दहरूले ‘जब त्रिभुवन विमानस्थलबाट जहाज उड्यो, जहाजसँगै सपना र जिन्दगी उड्यो’ भन्ने ट्यागलाइनमार्फत चलचित्रको मर्मलाई चित्रण गरेको देखिन्छ । 

श्रावण १६ गते प्रदर्शनमा आउने चलचित्र रेबेल फिल्मसको ब्यानरमा बनेको हो । विभोर पोखरेलको निर्देशन रहेको चलचित्रमा प्रमोद चौलागाईं, निता ढुङ्गाना, छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी लगायतका कलाकारहरूको अभिनय रहेको छ । चलचित्रमा प्रदीप भारद्वाजको लेखन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, हरि घलेको छायाङ्कन, विपिन मल्लको सम्पादन, किरण तुलाधरको ब्याकग्राउन्ड स्कोर र राजीव समरको कोरियोग्राफी रहेको छ ।

निर्माता गगनलाल प्रधानले वैदेशिक रोजगारीको विषय उठाउनै पर्ने भएकोले यसमा लगानी गरेको बताए ।