Mansara

‘प्रसाद’ले बेग्लै धारबाट सोचेर हेरेको छ – शुशिल पौडेल, लेखक

२०७५ मंसिर १८
‘प्रसाद’ले बेग्लै धारबाट सोचेर हेरेको छ – शुशिल पौडेल, लेखक

एकाथरी चलचित्रलाई मनोरञ्जन त अर्का थरी शिक्षा प्रदायक माध्यम पनि भन्छन् । मनोरञ्जन होस् वा शिक्षा नै किन नहोस् चलचित्रलाई समाजको दर्पण पनि भन्ने गरिन्छ ।

त्यसो भए चलचित्र भनेको समाजमा जे भइरहेको छ त्यही नै हो त ? त्यसो नहुन पनि सक्छ, तर त्यसका पात्र र परिवेश भने समय सापेक्ष रुपमा समाजकै प्रविम्वका रुपमा प्रयोग भएका हुन्छन् । सायद यसैले होला समाजले चलचित्रलाई निर्देश गर्छ कि चलचित्रले समाजलाई भन्ने बारे राम्रै बहस हुने गर्छ बेला बेला ।

मंसिर २१ गते प्रदर्शन हुने चलचित्र हो प्रसाद । प्रसाद सामाजिक विषयमा निर्माण गरिएको चलचित्र भनिएको छ । यसको मुख्य विषय निःसन्तान दम्पतिको पिडा देखिएको छ भने सहायक विषयका रुपमा अन्र्तजातिय विवाहलाई देखाउन खोजेको छ । चलचित्रको सहायक विषय पनि शशक्त छ कि उठान मात्र गरिएको हो त्यो त चलचित्र हेरेपछि थाहा होला । तर, निसन्तान दम्पति अनि अन्र्तजातिय विवाह दुवै समाजमा घटिरहने विषयहरु हुन । यि विषयलाई चलचित्रका लागि लेख्ने लेखक हुन शुशिल पौडेल । झण्डै डेढ दशक पत्रकारितामा विताएका शुशिलले बुझेकै छन् चलचित्र पनि पत्रकारिता जस्तै सामाजिक उत्तरदायित्व सहितको विषय हो भनेर । त्यसैले उनले चलचित्र लेख्दै गर्दा समाजप्रतिको जिम्मेवारी कत्तिको बहन गरेर भनेर प्रश्न गर्न तर्फ लागेनौं ।

तपाई हाम्रै समाजमा घटिरहेका, अझ कतिको परिवारले नै भोगेको पिडा, तपाई हामीले नै नजर अन्दाज गरिरहेका छौं । त्यही कुरालाई शुशिलले वास्ता गरे अनि लेखे चलचित्र प्रसाद । हालैको एक भेटमा भन्दैथिए – ‘चलचित्रको कथा समाजमा घटिरहने घट्ना हो । हामीले वेवास्ता गरेका थियौं मैले वास्ता गरेको मात्र हो । यस्ता घट्नाका लागि समाजले बनाउने पूर्व निर्धारित सोचमा म असहमत थिए, त्यसकै उपज हो चलचित्र ।’ शुशिलको यो भनाईबाट एउटा कुरा के अनुमान लगाउन सक्छौं भने समाजमा जे भइरहेको छ त्यही नै चलचित्रमा छैन, बरु समाजलाई अबका दिनमा यस्तो गर्न सक्नु पर्छ भनेर एउटा पावरफूल सन्देश पनि छोडेको छ । ट्रेलरमा नम्रता श्रेष्ठ र विपिन कार्कीको सम्वाद जस्तै यदी पुरुषमा कमजोरी छ भने उसले आफ्नी श्रीमतिलाई दोस्रो विहे गर भन्न पनि सक्नुपर्छ ।

तर, अनुमानका भरमा यही नै सही भन्न मिल्दैन । त्यसैले यो विषयमा पनि शुशिलबाट नै स्पष्ट हुनुपर्थ्यो । चलचित्र समाजमा घट्ने घट्नाक्रमबाट पूर्ण रुपमा निर्देशित छ कि यस्ता घट्नामा समाजलाई निर्देश गर्न सक्ने छ, हामीले यो कुरा पनि उनैलाई सोथ्यौं । उनले भने – ‘समाजमा जे चलिरहेको छ, चलिरहेको छ । समाजले भनेका सबै सत्य हुन्छन् भन्ने होइन । समय र सोच अनुसार परिवर्तन गर्दै जानु पर्छ । परिमार्जन, परिवर्तनको उपज, त्यही सोच अनुरुप प्रसाद जन्माएको हो । समाजमा जे घटिरहेको छ त्यो भन्दा बेग्लै धारबाट प्रसादले सोचेर हेरेको छ । कन्भिन्स हुने नहुने दर्शकको कुरा हो ।’

त्यसो त बिज्ञान र प्रबिधिको युगमा असम्भव भन्ने खासै केही छैन । त्यसमाथी सन्तान जन्माउने अन्य धेरै विकल्पहरु पनि छन् । पछिल्लो समय नेपालमा टेष्ट्युब बेबीको समेत प्रचलन छ । यसअर्थ बच्चा नहुँदैमा दम्पतिले मानसिक रुपमा समास्या झेल्नुपर्ने अवस्था पहिलेको तुलनामा अहिले निकै कम भइसकेको छ । शुशिल भन्छन् – ‘समय परिवर्तन भएको छ । तर, सोच परिवर्तन भएको छ कि छैन । त्यही सोचले चलचित्रको कथालाई अघि बढाउँछ ।’ त्यसो भए चलचित्रका पात्र पुरातन सोचकै कारण निःसन्तानको पिडामा गुज्रिका हुन त ? यसको भित्र रहस्य अहिले नै खोल्न नचाहेका शुशिल चलचित्रमा आफुले लेखेका पात्र ग्रामिण भेगका भएको र उनीहरु सोसियल थ्रेटले बाधिएको पनि हुन सक्ने जनाउँछन् ।

त्यसो त बच्चा भएन भने के कारणले भएन भन्नु भन्दा पनि महिलालाई दोष दिने चलन थियो समाजमा । उनीहरुलाई दबाएर राख्ने बरु पुरुषलाई दोस्रो बिहेको अनुमति दिने समाज धेरैले देखेका अनि भोगेका छन् । शुशिल भन्छन् त्यो समय एउटी महिलाको मनमा के कस्तो कुरा खेल्छ भन्ने चाँही धेरैले सोचेको देखिदैन । यसो हुनुको पछाडी समाजमा महिलाले बिद्रोह गर्न नसक्दा अरुले दबाउने आफु दबिने गरेको उनको बुझाई छ । त्यसैले प्रसादको मुख्य भुमिकामा महिला नै छन् । महिलाले पनि आफ्ना लागि आवाज उठाउन सक्छ, समाजमा बिद्रोह गर्न सक्छ भन्ने कुरा पनि छ चलचित्रमा ।

सुभाष थापाको निर्माण रहेको चलचित्र प्रसादमा नम्रता श्रेष्ठ, विपिन कार्की, निश्चल बस्नेत, बसुन्धरा भुषाललगायतका कलाकारको पनि अभिनय रहेको छ । चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन ।

Mahajatra